वैशाख ६, २०७४- गायक रायनलाई मंगलबार यहाँ पारिजात स्मृति पुरस्कार प्रदान गरिएको छ । साहित्यकार पारिजातको स्मृतिमा साहित्य संगम र आदर्श टोल विकास संस्थाले एक समारोहबीच उनलाई पुरस्कार प्रदान गरेको हो । सम्मानपत्रसहित गायक रायनलाई १० हजार रुपैयाँको पुरस्कार प्रदान गरियो ।
साहित्यकार पारिजातको प्रतिमा फूलमाला चढाएर शुभारम्भको गरिएको कार्यक्रमका प्रमुख अतिथि एव नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले गायक रायनलाई दोसल्ला पहिर्याउनुका साथै पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा रायनले गीत सुनाउनुका साथै पारिजातको व्यक्तित्व–कृतित्वबारे बोलेका थिए ।
पारिजात स्मृति सम्मान
पारिजात स्मृति केन्द्रले विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मानको घोषणा गरेको छ । जसअनुसार २०७४ सालको ‘पारिजात सृजना सम्मान’ साहित्यकार हेमनाथ पौडेललाई प्रदान गरिने भएको छ । त्यसैगरी ‘पारिजात बालसाहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई, ‘पारिजात कला सम्मान’ वरिष्ठ कलाकार तथा साहित्यकार श्याम तमोटलाई र ‘पारिजात नारी संघर्षशील सम्मान’ राजनीतिज्ञ तथा अधिकारकर्मी शशी श्रेष्ठलाई दिने निर्णय गरेको छ । उक्त सम्मान वैशाख अन्तिम साता पारिजात स्मृति दिवसका रूपमा प्रदान गरिने केन्द्रका सदस्यसचिव स्नेह सायमिले विज्ञप्तिमा जनाएका छन् ।
नेपाल–भारत काव्य उत्सव
साहित्यकार पारिजातको जन्मघर दार्जिलिङको लिंगिया घुमेर नेपाली साहित्यकारहरूको एक टोलीले बिजनबारीमा ‘नेपाल–भारत काव्य उत्सव’ गरेको छ ।
कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै कविहरू मनप्रसाद सुब्बा, कृष्ण प्रसाईं, मातृका पोखरेल, प्रवीण राई जुमेली, सुधा एम राई, टीका आत्रेय, अविर खालिङ, लीला अनमोल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दीपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश पौडयालले कविता सुनाए । गायक खेम सुब्बाले गीत गाए भने रुसालीले नृत्य प्रस्तुत गरे ।
प्राज्ञ पोखरेलले नेपाल र भारतका नेपालीभाषी सर्जकबीचको सम्बन्ध निकै पुरानो र बलियो भएको भन्दै यसलाई थप सुदृढ बनाउन यस्ता अन्तरदेशीय उत्सवहरू बेलाबखत गरिनुपर्ने सुझाए ।
युवा समालोचक तथा जरा फाउन्डेसनका महासचिव पौडयालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य रहेको उल्लेख गर्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतका पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चिया कविता तथा हस्तक्षेप कविता आन्दोलन यस भेगको मौलिक योगदान भएको दाबी गरे ।
http://kantipur.ekantipur.com बाट साभार
No comments:
Post a Comment