Monday, October 11, 2021

पारिजात पुस्तिका - २०७१

पारिजात स्मृति पुस्तिका - २०७१ 

संयोजन
 
स्नेह सायमी
तिलक चाम्लिङ
 

पारिजात सृजन सम्मान– २०७०
पारिजात संघर्षशील नारी सम्मान– २०७०
पारिजात कला सम्मान– २०७०
पारिजात बालसाहित्य सम्मान– २०७०

२०७१ वैशाख २७, शनिवार

पारिजात स्मृति केन्द्र्रका उद्देश्य :
 
१.  पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताक्रमअनुसार तिनलाई क्रमशः प्रकाशित गराउने । \
२. लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी स्व. पारिजातका कृति विभिन्न स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने ।
३.  पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने ।
४.  पारिजातको योगदानको यथोचित मूल्यांकन गर्न पारिजात स्मृति ग्रन्थ तथा अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिका प्रकाशित गराउने ।
५.  पारिजातको स्मृतिमा प्रत्येक वर्ष उहाँको जन्मजयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदि आयोजना गर्ने ।
६.  पारिजातको नाममा पुरस्कार तथा कृति स्थापना र सञ्चालन गर्ने ।
७.  परस्पर आदान–प्रदान तथा सरसहयोगका निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक संस्थासँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने । 
८.  माथि उल्लिखित उद्देश्य प्राप्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्रोत र साधन संकलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।
 
पारिजात स्मृति केन्द्रको विशेष अनुरोध 

१.   कुनै पनि प्रकारको सहयोग गरेर यस केन्द्रका उद्देश्य पूरा गर्न आवश्यक मद्दत पु¥याउनुहुन समस्त शुभेच्छुकमा विनम्र अनुरोध गरिन्छ । 
२.  पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । पारिजातका कुनै पनि रचना प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्य रूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ ।
३.   पारिजातका कृतिबाट चलचित्र निर्माण गर्न चाहनेले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रम अनुसारमात्र गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।
 
 
पारिजातको संक्षिप्त परिचय

१९९४ वैशाखको एक दिन डा. केएस वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एक बालिकाले जन्म लिइन् । ती बालिकाको नाम विष्णुकुमारी वाइबा राखियो । उनको बाल्यकाल अन्य बालबालिकासरह बिते पनि स्वभावमा भने अभन्दा केही फरक देखाप¥यो । उनी अलिक गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी थिइन् । उनको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि हाडजोर्नी ९चजभगmबतयष्म बचतजचष्तष्क० को रोगले समात्यो । यो रोग नै उनको जीवनपर्यन्त रह्यो ।
पारिजातलगायत उहाँको सम्पूर्ण परिवारको जीवनमा ठूलो आघात परेको घटना थियो । उहाँको आफ्नै दाजु शिवको दर्दनाक मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० मा उनको मृत्यु भएको थियो । यो घटनाले विचलित भएर पारिजातलगायत वाइबा परिवार बाबु डा. केएस वाइबासँग २०१० मा काठमाडौँ आइपुगे । त्यसबेला पारिजातको उमेर १७ वर्षको थियो । त्यही वर्ष पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट उहाँले एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या क्याम्पसबाट २०१३ मा आईए र २०१५ मा बीए उत्तीर्ण गर्नुभयो । एमएमा अंग्रेजी विषय लिएर अध्ययन आरम्भ त भयो तर रोगका कारण परीक्षा दिन सक्नुभएन । यहीँबाट उहाँको पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गर्ने अध्ययनको सिलसिला टुटे पनि पारिजातको भावुक मनले नेपाली साहित्यको अध्ययन सिलसिला जोडिसकेको थियो ।
२०१३ मा ‘धरती’ पत्रिकामा दुई कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका पारिजातले २०१४ मा युवा कविद्वारा स्थापित ‘रोधीघर’ नामक साहित्यिक यात्रामा समावेश हुनुभयो । २०१४ मै पहिलो पुस्तकका रूपमा ‘आकाङ्क्षा’ कवितासंग्रह प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न २०१६ देखि २०१८सम्म मदन मेमोरियल स्कुल, पाटनमा शिक्षिकाका रूपमा काम गर्नुभयों । त्यहीबेलादेखि नै पारिजातलाई रोगले निकै च्यापिसकेको थियो । हावापानी बदल्दा केही बिसेक होला भन्ने आशामा २०१८ मा स्कुलको जागिर छाडेर सात वर्षपछि पारिजात पुनः एक महिनाका लागि दार्जिलिङ फर्किनुभयो तर रोग झन्झन् बढ्दै गएपछि २०२१ देखि ओछ्यान पर्नुभयो । ओछ्यान पर्दा उहाँको उमेर २७ वर्षको मात्र थियो । त्यो बेलादेखि पारिजात जीवनभरि ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्याकाशमा २०१३ देखि कविताको माध्यमबाट आफ्नो चिनारी सुरु गरेको भए तापनि पारिजात गद्यलेखन प्रयासमा पनि निरन्तर हुनुहुन्थ्यो । यो कुरा उहाँका पाँच उपन्यास ‘संघर्ष’, ‘वरपीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्तबुझ्दो नभएकाले जलाइदिएको कुराले स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ देखि २०२१ सम्म । उहाँको एक उपन्यासले भने तत्कालीन नेपाली साहित्याकाशमा ठूलो हलचल ल्याइदियो । ‘शिरीषको फूल’ ले २०२२ को मदन पुरस्कार प्राप्त ग¥यो । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’ लाई ओझेलमा पारेर नेपाली साहित्यमा ‘पारिजात’ स्थापित हुन थाल्यो ।
२०२३ मा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध राल्फाका नामले स्थापित विद्रोही संगीतकार र लेखक कविहरूको सशक्त समूहमा पनि पारिजात संलग्न हुनुभयो । युवाको त्यो जागरुक समूहले आफ्नो विद्रोहको स्वर गाउँ–सहर जहाँ–जहाँ उराल्दै हिँडे त्यहाँ–त्यहाँ पारिजात पनि आफ्नोे अशक्त शरीर लिएर पुग्नुभयो । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोशेढुङ्गा साबित हुनपुग्यो ।
पारिजातको स्वास्थ्य अझै खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर र दम पनि थपियो । यी रोगबाट मुक्ति पाउन उहाँ २०२६, २०२९, २०३० र २०३१ मा पटक–पटक भारतमा उपचार गर्न जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नुभयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिएर २०३४ मा नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन (चौम) को सदस्यता लिनुभयो । उहाँ शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको काममा सक्रिय हुनुका साथै अखिल नेपाल महिला संघको अध्यक्ष बन्दै भूमिगत काममा सक्रिय रहनुभयो । पारिजात २०३५÷२०३६ को आन्दोलनमा ज्यादै सक्रिय रहनुभएको थियो । २०३६ मा प्रगतिशील लेखक कलाकार संघ स्थापनाका लागि पनि उहाँको सक्रिय भूमिका रह्यो ।
गीत–संगीतमा पारिजातको औधि रुचि थियो । वेदना सांस्कृतिक समूह, इन्द्रेणी सांस्कृतिक समाज (इसास) सँगै पटक–पटक नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न सहरमा भएका सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास) को मानार्थ अध्यक्षसमेत हुनुहुन्थ्यो ।
पारिजात २०४६ को जनआन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । ज्यानको कुनै पर्वाह नगरी विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहनुभयो । २०४६ चैत ३ गते लेखक, कवि तथा कलाकारले कालो पट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए । यो ऐतिहासिक काममा पारिजात अघिल्लो पंक्तिमा बसेर सहभागी हुनुभएको थियो । प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई प्रजातन्त्रीकरण गर्नुपर्छ भन्ने माग राखी संघर्षमा ओर्लेको ‘प्राज्ञिक संघर्ष समिति’ को संयोजक हुनुहुन्थ्यो– पारिजात । उहाँ प्राज्ञको सही पहिचान, मापदण्ड र परिचालनका निम्ति पर्याप्त प्रयासरत रहनुभयो ।
पारिजातले नयाँ पुस्ताका लेखकलाई अत्यन्तै प्रोत्साहन दिनुहुन्थ्यो । पारिजातनिवास म्हेपी नयाँ पुराना सबै साहित्यकारको जमघट हुने ठाउँ थियो । उहाँको कोठाको सानो टेबलमा नयाँ साहित्यिक प्रकाशनहरू बिक्रीका लागि राखिएको हुन्थ्यो र लेखकका निम्ति नयाँ पुस्तक बिक्री गर्ने राम्रो स्थान थियो ।
उहाँले मासिक रूपमा काठमाडौंमा नियमित सञ्चालन हुने प्रतिभा प्रवाह र साहित्य सन्ध्याका साहित्यिक कार्यक्रममा सहभागिता जनाउनुभयो । यी कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइन्थ्यो । उहाँले नयाँ पुस्ताका सिर्जना सुन्नुहुन्थ्यो र उचित सल्लाह दिनुहुन्थ्यो ।
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा पनि संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार संगठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोग संस्थापक अध्यक्ष तथा त्रिवि सभा सदस्य हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय संघ–संस्था सँग सम्बन्धित हुनुहुन्थ्यो ।
पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको छ । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ संघ’ द्वारा अभिनन्दन गरिएको छ । पारिजातद्वारा लिखित पुस्तक ‘शिरीषको फूल’ को अंग्रेजी अनुवाद दगिभ mष्mयकब लाई अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो । उहाँलाई मनपर्ने रंग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खाना छोइला, मःमः, सुख्खा रोटी, काभ्रो, चिन्डो, टमाटर र कोइरालो थियो ।
पारिजातको निधन २०५० वैशाख ५ गते बिहान ४ बजे लामो समयदेखिको पुरानो व्यथाले वीर अस्पतालको विशेष उपचार कक्षमा भयो ।
 
 

पारिजात बालसाहित्य सम्मान–२०७० द्वारा सम्मानित
शान्तदास मानन्धरको परिचय


 
 
देख्दैमा भरोसालाग्दो उज्यालो अनुहारका यी बूढा बालसाहित्य यात्राका तपस्वी नै हुन् । खासै सजिसजाउ केही नभएको सामान्य कोठामा बसेर निरन्तर कुनै न कुनै नयाँ विषयमा चिन्तन मनन गरिरहेका भेटिन्छन् यिनी । केही न केही लेखिरहेकै हुन्छन् । केही न केही पढिरहेकै हुन्छन् । यिनले कथा सुनाउन थाले भने बालकहरू ट्वाल्ल परेर सुन्छन् । कलापूर्ण प्रस्तुतिद्वारा कथाको भाव बालकमा जगाउन सक्नु यिनको अर्को एउटा विशेषता हो । नपत्याइँदो किसिमले लेखकलाई बाल साहित्यको क्षेत्रमा हेल्ने काम गरेका छन् यिनले । युद्धप्रसाद मिश्रलाई बाल साहित्यको क्षेत्रमा तान्ने यिनै हुन् भन्ने भनाइ छ । लुसुनका कृतिबाट अत्यधिक प्रभावित छन् यिनी । यी कतिपय त आफैँले अनुवाद गरेका कृति हुन् । निरन्तर परिश्रम गरेर जीविकोपार्जन गरेका मान्छे हुन्– शान्तदास । अहिले पनि उनी एकछिन खाली बस्दैनन् । यिनी चुप्प लागेर एकछिन पनि बस्दैनन् । अर्कोको पाएँ भन्दैमा क्वाप्प खाने बानी छैन यिनमा । आफू बिरामी भएको बेला सहयोग लिउँ भन्दा पनि मसित अलिकति मात्रै पनि सम्पत्ति हुन्जेल कसैको सहयोग लिन्न भन्छन् । पुरस्कारमा त्यति धेरै विश्वास नगर्ने मान्छे हुन्– शान्तदास । बाल साहित्य लेख भन्ने सन्देश दिइरहन्छन् यिनी प्रायः ।
कुनै पनि बालकलाई तँ, तिमी भनेर सम्बोधन गर्ने बानी छैन उहाँको । तपाईं भन्नुहुन्छ सबैलाई । मातृभाषा नेपाली नभए पनि नेपालीमा उहाँको राम्रो दख्खल छ । उहाँ एउटा सुन्दर समाज निर्माणमा तन्मय भएर लागिरहेका स्रष्टा हुनुहुन्छ । स्वप्नद्रष्टा हुनुहुन्छ उहाँ । उहाँले देखेको सपना उहाँको मात्रै नभएर हामी सबैको हो ।
उहाँ स्थिरासन जमाएर बसेको देख्दा निकै लोभ लाग्छ मलाई । म बिल्कुलै सक्तिनँ त्यसरी बस्न । अचाक्ली चन्चल छु । एकछिन कोठाभित्र थुनिएपछि कहाँ जाऊँ कहाँ झैँ हुन्छ । आफूले निरन्तर काम गर्ने र आफ्नो कामबाट आफैँ प्रेरित भएर झन् काम गर्ने मान्छे हुनुहुन्छ उहाँ ।
बालकलाई कसरी आँटिलो, सफा, विवेकी र न्यायको पक्षधर बनाउन सकिएला भन्ने ध्याउन्नमै उहाँले आफ्नो सिंगै जीवन बिताउनुभयो भने पनि हुन्छ । उहाँ भन्नुहुन्छ, ‘सुन्दर समाज निर्माण गर्न सर्वप्रथम बालकको मनोरचना सुन्दर ढंगले गरिनुपर्छ । बालक भनेका भविष्य हुन् । दूरदर्शी राजनीतिक दलले बालसाहित्यको नीति बनाउनुपर्छ । जसले बालकलाई बालोचित साहित्यिक वैचारिक खुराक दिने सम्बन्धमा सोच्न सकिरहेका छैनन् तिनले क्रान्ति सम्पन्न गर्न र यो देश हाँक्न सक्तैनन् ।’ नेपालका बालसाहित्यसेवीमध्ये शान्तदास शिखर पुरुष हुनुहुन्छ ।
१९९१ जेठमा काठमाडौँको झोँछेमा जन्मनुभएका शान्तदासले २०७१ जेठमा ठ्याक्कै ८० वर्ष पूरा गर्नुहुन्छ तर उमेरले बूढो भए पनि सदैव जाँगरिला, हँसिला र फुर्तिला यी बूढाको स्वभाव जवानको जस्तो देखिन्छ । बडा फुर्तीसित फुर्फुर, फुर्फुर गरेर हिँडेको देख्दा कहिलेकाहीँ त बालकजस्तो लाग्ने ! बढी संगत बालकसित गरेको भएर हो कि ।
जीवनको यो यात्रामा उहाँले अनेक भूमिकामा रहेर काम गर्नुभयो । विद्यालय शिक्षक, प्रधानाध्यापक, सञ्चालक समिति अध्यक्ष तथा शैक्षिक लेखकका रूपमा शिक्षा क्षेत्रमा भूमिका खेल्नुभयो । वडाध्यक्षमा निर्वाचित भएर राजनीतिक, सामाजिक काम गर्नुभयो । नेपाल चीन मैत्रीसंघकोे सचिव तथा पुस्तकालय अध्यक्ष हुनुभयो । ‘नवआलोक’ पत्रिका चलाएर प्रगतिशील साहित्यलाई सेवा पु¥याउनुभयो । वामपन्थी राजनीतिक नेता, कार्यकर्ताका रूपमा वैचारिक सांगठनिक काम पनि गर्नुभयो । शान्तदासले जति पनि काम गर्नुभयो नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई बल पुग्नेगरी गर्नुुभयो ।
भूमिका अनेक भए पनि मूलतः उहाँ बालसहित्यकार हुनुहुन्छ । बालसाहित्यमा उहाँको योगदान सर्जक, अनुवादक, संकलक, प्रकाशक, सम्पादक, सिर्जना उत्प्रेरक र कथा वाचकका रूपमा रहेको पाइन्छ । उहाँले कथा, निबन्ध, गीत र कवितासमेत गरी बालसाहित्यका करिब डेढ दर्जन कृति रचना गर्नुभएको छ । एक दर्जन जति कृति उहाँमार्फत अन्य भाषाबाट नेपाली बालसाहित्यमा भित्रिएका छन् । कथा, उपन्यास, निबन्ध, खण्डकाव्य र बालविज्ञानसमेत गरी डेढ दर्जन कृति उहाँबाट सम्पादित तथा प्रकाशित छन् । वास्तवमा शान्तदास बालसाहित्यकारमात्रै हुनुहुन्न, बालसाहित्यिक लेखन तथा विस्तारका अभियन्ता नै हुनुहुन्छ ।

प्रस्तुति : मित्रलाल पंज्ञानी
 

पारिजात सिर्जनशील सम्मान–२०७० द्वारा सम्मानित
साहित्यकार प्रदीप नेपालको परिचय




 

प्रगतिशील साहित्यकार प्रदीप नेपालको जन्म विक्रम संवत् २०१० पुस २८ गते पिता टीकाबल्लभ नेपाल र माता जानुका नेपालको सातौँ सन्तानका रूपमा कोसी अञ्चल भोजपुर जिल्लाको गोगने गाविसमा भएको हो । साहित्य र राजनीति दुवैमा सक्रिय प्रदीप नेपालका तीन दर्जनभन्दा बढी पुस्तकलगायत विभिन्न पत्रपत्रिकामा विविध लेख, रचना निरन्तर प्रकाशित भइरहेको छ । ‘विश्वासिला घेराभित्र’ नामको कथाबाट साहित्य लेखन सुरु गरेका प्रदीप नेपालको प्रथम प्रकाशित रचना भने ‘सुन्दर हिमाल’ (२०१८) कविता रहेको छ ।
उहाँको न्वारनको नाम द्रोणराज नेपाल हो । स्कुलमा भर्ना हुँदा प्रदीपकिशोर नेपाल हुँदै आफँैले प्रदीप नेपाल बनाउनुभयो । त्यस्तै राल्फालीताकाको सिरोज सोनोभ जस्तै मुरारी केसी, उपेन्द्र, ममता सुब्बा, पर्वत सुब्बा, ईश्वर बराइली, ध्रुव सापकोटा, विजय जोशी, रमाकान्तजस्ता थुप्रै उपनामले लेखे पनि सञ्जय थापा उहाँको सबैभन्दा चर्चित उपनाम हो ।
२०१७ मा आफ्नो सात वर्षको उमेरमा स्थानीय सरस्वती मिडिल स्कुलबाट औपचारिक शिक्षा प्रारम्भ गरेका नेपालले २०२५ मा भोजपुरको विद्योदय माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । २०२६ मा त्रि–चन्द्र क्याम्पस काठमाडौँबाट उच्च शिक्षा प्रारम्भ गरेका नेपालले बीएसम्मको औपचारिक अध्ययन गरेका छन् ।
पिताको जागिर र सामान्य खेतीकिसानीबाट उनको परिवार चलेको थियो । उनको पारिवारिक आर्थिक पृष्ठभूमि निम्नमध्यमवर्गीय स्तरको थियो । अध्ययनका लागि प्रेरणाकी स्रोत बनेकी उनकी आमाको २०२४ मा निधन भयो । यो घटनाले उनको पढाइमा केही बाधा आइलाग्यो । उनका बाबुको पनि २०४२ मा निधन भयो । उनी भूमिगत भएकाले आफ्नो बाबुलाई भेट्न पाएनन् ।
काठमाडौँ आएपछि आफ्ना दाइ मञ्जुलका माध्यमबाट पारिजात, रामेश, श्यामप्रसाद, तुलसी दिवस, गोविन्द भट्टजस्ता स्थापित साहित्यकारसँग भेट गर्ने मौका पाए । नेपालले गोविन्द भट्टसँगको सानिध्यबाट दर्शनशास्त्र, भूगोल, सोभियत संघ र चीनका माक्र्सवादी साहित्यको अध्ययन गर्न थाले । यसले उनको रुचि राजनीतितर्पm मोडियो । २०२६ मा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियन सदस्य बनेपछि उनको औपचारिक राजनीतिक जीवन सुरु भयो । २०२७ मा माक्र्सवादी अध्ययन केन्द्र काठमाडौँका संस्थापक सदस्य बनेका नेपालले राजनीतिक र साहित्यिक दुवैलाई अगाडि बढाए ।
२०२६ मा विद्यार्थी आन्दोलनक्रममा प्रदीप नेपाल पहिलोपटक हिरासतमा परेका थिए । यसपछि पटक–पटक गिरफ्तारी पर्ने र छुट्नेक्रममा २०३२ फागुनमा राजतन्त्र र पञ्चायती व्यवस्थाको विरोधमा पर्चा छापिएको अभियोगमा प्रशासनद्वारा उनको व्यापक खोजी गरियो । लुकीछिपी धरान पुगेका नेपाल धरानबाट विराटनगर जानेक्रममा छाताचोकस्थित मनोहर कुटीबाट गिरफ्तार परेका थिए । यसपटक भने राजकाज अपराध ऐनअन्तर्गत १० वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । जेलभित्रै पनि उनले केही रचना सिर्जना गरी रिहा हुने साथीमार्पmत बाहिर पठाउने गर्थे । विनाकसुर लगाइएको जेलको कठोर यातना सहन नसकी २०३३ चैत १२ गते अन्य साथीका साथ नेपाल नख्खु जेल तोडेर भाग्न सफल भएका थिए । यसपछि उनले पूर्णतः भूमिगत राजनीतिक जीवन बिताउन थालेका थिए ।
भूमिगत राजनीतिक जीवनकै क्रममा नेपाल पार्टीकै कार्यकर्ता इलामकी देवान परिवारकी झुमा देवानसँग २०३९ मा पार्टीविधानअनुसार नै विवाहबन्धनमा बाँधिन पुगेका थिए । भूमिगत राजनीतिक जीवनकै बेला उनको कलम साहित्य सिर्जनातर्पm अत्यधिक चलेको थियो । यसै अवस्थाका उपन्यासले नै उनलाई एक प्रगतिवादी उपन्यासकारका रूपमा स्थापित गराएको पाइन्छ । २०४६ पछिको खुला राजनीतिक परिवेशमा पनि उनले साहित्य र राजनीतिलाई सँगसँगै लगेको पाइन्छ । पटक–पटक राष्ट्रिय सभा सदस्य भई स्वास्थ्य तथा जलस्रोत, सूचना तथा सञ्चार शिक्षा तथा खेलकुदजस्ता मन्त्रालयमा मन्त्रीसमेत बनिसकेका नेपाल हाल नेकपा एमाले पोलिटव्युरो सदस्य रहेका छन् ।


अभिनन्दन, सम्मान, पुरस्कार

साहित्य सन्ध्या पुरस्कार
२०५९ छलफल साप्ताहिकको सम्मान
२०६१ जनसांस्कृतिक मञ्च मोरङद्वारा अभिनन्दित
२०६४ गोपालप्रसाद रिमाल सम्मान
२०६४ दोभान त्रैमासिकद्वारा साहित्य सम्मान
२०६५ युनेस्को संस्थाहरूको महासंघ नेपालद्वारा सम्मान÷अभिनन्दित
२०६६ रत्नराज्य उच्च माविद्वारा सम्मान÷अभिनन्दित
२०६७ उत्तम शान्ति पुरस्कार
२०६७ अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनद्वारा सम्मान÷अभिनन्दित
२०६८ नई ईश्वरबल्लभ पुरस्कार

प्रदीप नेपालका प्रकाशित पुस्तक

उपन्यास

खुइते कडेरिया लघुउपन्यास (२०४०)
पार्टीको आमा (२०४२)
पूर्वतिर (२०४४)
नओइलाउने फूल (२०४५)
बुङ्लाका साँझहरू (२०४६)
देउमाईको किनार (२०४७)
मुक्ति (२०४७)
आकाशगंगाको तीरैतीर (२०५७)
एक्काइसौँ शताब्दीकी सुम्निमा (२०५८)
एक्काइसौँ शताब्दीकी सुम्निमा (अंग्रेजी भर्सन) (२०६४)
नन्दिता (२०५९)
दुर्गा हजुरमाको भूत (बाल उपन्यास) (२०६१)
स्वप्निल सहर (२०६३)
अनौठो प्रेमकथा (२०६३)
यात्रा (२०६७)
बर्बरिक (२०७०)
चरैवेती चरैवेती (२०७०)

कथाहरू

सूर्यमान (बाल्यकाल, किशोर सूर्जेमान, सूर्यमानको जेल यात्रा) (२०४०)
कथाभित्रका नारी अनुहार (२०४७)
परोपकार यात्रा (२०५०)
बेचिएका चेलीहरू (२०५५)
धरहराको सहर (२०६२)
बाघमारेको लालसलाम (२०६४)
फेवाको सुस्केरा (२०६६)
जननी जन्मभूमिश्व (२०६७)
एक हजार वर्ष र अरू कथाहरू (२०६८)
 
नियात्रा/संस्मरण

इलामको तारा (२०४३)
मुक्त आकाशको खोजी भाग १, २, ३ (२०४८)
अमेरिकी बास मातृभूमिको सम्झना (२०६१)
प्रदीप नेपालका दुई संस्मरणहरू (२०६२)
पाइला छोडेर अस्ताएको घाम (२०६६)
इलामको तारा
परदेशमा देश
बन्दीगृहका सिर्जना (२०६७)
 
विविध

रजतजयन्ती शब्दचित्र (२०४२)
मई दिवस कसरी मनाइँदै छ (२०४७)
मौलिक संघीय संरचना (टिप्पणीसंग्रह) (२०६६)
स्वतन्त्रताका सम्बन्धमा (समसामयिक लेख सँगालो) (२०६६)
ट्रेड युनियन शिक्षा

पुनः प्रकाशन विविध

पूर्वतिर
देउमाईको किनार
प्रदीप नेपालका चार उपन्यास (मुक्ति, खुइते कडेरिया, पार्टीको आमा, बुङ्लाका साँझहरू)
मुक्त आकाशको खोजी (भाग ३ र ४)
नन्दिता
आकाशगंगाको तीरैतीर
 
 प्रस्तुति/ समीर नेपाल
 
 

पारिजात कला सम्मान– २०७० बाट सम्मानित कलाकार
राजन काफ्लेको परिचय

 



आमा पूर्णकुमारी र पिता चन्द्रराजका चौथो सन्तान राजन काफ्लेको जन्म विक्रम संवत् २०२५ जेठ १७ गते भएको हो । उनी दुई वर्षको हुँदा उनको परिवार काभ्रेबाट रौटहतको औलोमा बसाइँ सरेको थियो । काफ्लेले परिवारलाई खेतीपातीमा सघाउँदै जनज्योति मावि चन्द्रनिगाहपुरबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । २०३६ को जनआन्दोलनताका उनको घरमा नीलो झन्डा गाडिएको थियो । यसको प्रभावले आजसम्म उनी परिवर्तनको आन्दोलनमा छन् । आन्दोलनमा सक्दो सघाएका राजन काफ्लेको जीवनमा नयाँ मोड भने २०४१ मा आयो । स्कुलमा सम्पन्न विद्यालयस्तरीय प्रथम चित्रकला प्रतियोगितामा दोस्रो भएपछि उनी कलाकारितामा निकै प्रोत्साहित भए । उच्चशिक्षाका लागि जब ललितकला क्याम्पस, काठमाडौँमा भर्ना भए उनको संगत वरिष्ठ कलाकारसँग भयो । यो संगतले उनको कलाकारिता तिखार्न मद्दत ग¥यो ।
नेपाली वाम आन्दोलनको प्रभावमा रहेका यी कलाकारले २०४६ को आन्दोलन, त्यसपछिका विभिन्नखाले आन्दोलनमा कलाकारितालाई समेत आन्दोलन र परिवर्तनको मुद्दा बनाएर निरन्तर रूपमा लागिरहे । राजनले डेड दशकभन्दा धेरै समय व्यावसायिक कला सिर्जनामा बिताएका छन् । त्यसबीचमा विभिन्न संघ–संस्था, स्रष्टाका गतिविधिलाई कला रचना गरेर साधना गरे । उनले कलाकारिताको ज्ञान पनि धेरै दिए र कलाकारलाई आन्दोलनमा गोलबद्ध गरे ।
‘कला मनोरञ्जन र सौन्दर्यमात्र नभएर उज्यालो’ हो भन्दै यसलाई अन्धकारविरुद्ध सशक्त रूपमा लैजानुपर्छ भन्ने उनको मान्यता छ । विभिन्न बहस तथा छलफलमा आफ्ना यी विचार उनले राखिरहन्छन् । युवा कलाकार समूह, (याग) को नेतृत्व तहमा रहेर काम गरेका राजनले २०६२÷०६३ को आन्दोलनमा लेखक, कलाकारसँग सक्रिय रहेर कलाकार को नेतृत्व नै गरे ।
राजनले पारिजातको कृति ‘जुठी दमिनी’ मा सुन्दर चित्र रचना गरेका थिए । यो चित्रको निकैले प्रशंसा गरे । विभिन्न चर्चित व्यक्तिको पाँच सयभन्दा बढी मुहारचित्र कोरिसकेका यी कलाकार सात वर्षदेखि निरन्तर कलासाधना र साहित्य अध्ययनमा छन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित दोस्रो राष्ट्रिय कला प्रदर्शनीमा ‘राष्ट्रिय ललितकला पुरस्कार’ प्राप्त गरेका कलाकार राजन काफ्लेले बंगलादेशमा आयोजित ‘१५आँै एसियन आर्ट वाइनाल ढाकामा स्पेसल मनसन एवार्ड’ पनि प्राप्त गर्न सफल भएका छन् । २०७० को राष्ट्रिय कला प्रदर्शनीमा राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गर्न सफल यिनको मूर्ति ‘के गर्छौ’ ले बहुराष्ट्रिय कम्पनीलाई हाँक दिएको छ । मूर्तिकलामा पनि रुचि राख्ने राजन कलाको माध्यमलाई भन्दा विषयवस्तुलाई महत्व दिने धारणा राख्छन् । साहित्य, संगीत, कला, साधना, अध्यात्म, खेलकुद, मनोरञ्जनलाई मानिसको सफ्टवेयर मान्ने राजन यीविना मानव सभ्यता फगत एउटा वस्तुमात्र मान्छन् ।
 
प्रस्तुति:- स्नेह सायमी 
 
 

पारिजात संघर्षशील नारी सम्मान–२०६९ बाट सम्मानित
शान्तिकुमारी राईको संक्षिप्त चिनारी
 
 
शान्तिकुमारी राईको जन्म विक्रम संवत् २०१३ फागुन ३ गते बलम्ता उदयपुरमा आमा मंगलसरी र आपा शमशेरलाल राईका कान्छी सन्तानका रूपमा भयो ।
राई चम्पावती हाइस्कुल बुइपामा अध्ययनरत रहँदा राल्फाली विद्रोही समूहका गीत–संगीतबाट प्रभावित हुनुभएको थियो । यो समूह तत्कालीन व्यवस्थाविरोधी गीत–संगीतको अभियानमा थियो । यो विचारले प्रभावित भएर उहाँ पारिजातको संगतसमा आइपुग्नुभयो । ३० को दशकमा शान्तिकुमारी राई अखिल नेपाल महिला संगठन सचिवका रूपमा निर्वाचित भइसक्नुभएको थियो । भारतको अयोध्यामा सम्पन्न यो सम्मेलनको अध्यक्ष पारिजात हुनुहुन्थ्यो । जीविकोपार्जनका लागि सरकारी र त्रिभुवन विश्वविद्यालय सेवामा रही काम गर्नुभएका शान्तिको अर्को नाम शान्ता राई हो ।
शान्ताले काठमाडौँ आएपछि भूमिगत कम्युनिस्ट पार्टी चौथो महाधिवेशन (चौम) अन्तर्गतको अखिल छैटौंमा आबद्ध भएर लामो समय काम गर्नुभयो । आन्दोलनको सिलसिलामा साहित्यकार पारिजातको नजिक भएकी शान्तिले महिलाको पक्षमा पनि धेरै काम गर्न बाँकी रहेको सुनाइन् । त्यसपछि अखिल नेपाल महिला संघको संगठन विस्तारक्रममा देशका विभिन्न ठाउँमा पुगिन् ।
छरितो, चलाख, अध्ययनशील र संघर्षशील शान्ताले पारिजातको मन जित्न सफल भएकी थिइन् । उनको चलाखीपनाले गर्दा पञ्चायती जासुसको फन्दाबाट निकैपटक उम्किन सफल भइन् ।
शान्तालाई पारिजातले भूमिगत कामको महत्वपूर्ण जिम्मा दिने गर्नुहुन्थ्यो । संगठनको कामसँगै उनले पारिजातबाट साहित्य सिर्जना गर्न पनि सिकिन् । खस नेपाली भाषामा लेखिएको ‘दस कविता’ (२०३४) उनको पहिलो कृति हो । संघर्षशील जीवन
(२०४१), आमाको सम्झना (२०५४), चेतना (२०६४), मनको बह (२०६४) उनका कवितासंग्रह प्रकाशित छन् ।
बीएल र एमएसम्मको औपचारिक अध्ययन गरेका अधिवक्ता शान्ति राई अहिले सामाजिक काममा पनि त्यत्तिकै सक्रिय छन् । मुक्ता श्रेष्ठ, गोमा देवकोटा, शशी श्रेष्ठ, सावित्रा भुसाल, पम्फा भुसालसँगै निरन्तर आन्दोलनमा सक्रिय शान्ति राई, नेपाली चाम्लिङ भाषाको लेखन तथा प्रशिक्षणमा सक्रिय छिन् । कक्षा पाँचसम्म चाम्लिङ भाषाका प्रकाशित पाठ्यपुस्तकको लेखिका (सामूहिक) राईले भाषासम्बन्धी थु्रपै्र काम गरेकी छन् । उनका नेपाली चाम्लिङ भाषामा हैकामा (२०६१), सेम्टु
(२०६४), टुङ्माखिम (२०६५), मामाबोखामा (२०६९) प्रकाशित छन् । ‘चाम्लिङला–नेपाली (प्रयोगात्मक) शब्दकोश (२०६६) का लेखक राईको चाम्लिङ भाषामा नानापोकुने (२०६२) र मा–शिबी (२०६५) गीतिएल्बमसमेत प्रकाशित छ । यसमा एल्बममा उनको आफ्नै स्वर छ । राईले चाम्लिङ भाषामा प्रकाशन हुने मिचुङ, उदयपुरे चाम्लिङ आवाज, तुवाचुङजस्ता थुप्रै पत्रपत्रिका सम्पादन गरिसकेकी छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सल्लाहकार रहेकी शान्ता राई पाम (बन्दी सहायता नियोग) का आजीवन सदस्य, नेपालको अन्तरिम संविधान–२०६३ का मस्यौदाकार, नेपाल कानुन आयोग पूर्वसदस्य तथा लाहुर्निप अध्यक्षसमेत भइसकेकी छन् ।

प्रस्तुति /तिलक चाम्लिङ
 
 
पारिजात सृजन सम्मान प्राप्त गर्ने स्रष्टाहरू

२०५१ कुन्ता शर्मा
२०५२ इस्माली
२०५३ पूर्णविराम
२०५४ सुरेशकिरण मानन्धर
२०५५ घनश्याम ढकाल
२०५६ मित्रलाल पंज्ञानी
२०५७ डा. ताराकान्त पाण्डेय
२०५८ रोशन जनकपुरी (अरविन्दकुमार लाल)
२०५९ कृष्णसेन ‘इच्छुक’
२०६० वासुदेव अधिकारी
२०६१ सुधा त्रिपाठी
२०६२ हरिगोविन्द लुइँटेल
२०६३ डा. जगदीशचन्द्र भण्डारी
२०६४ बूँद राना
२०६५ निनु चापागाई
२०६६ रमेशरञ्जन झा
२०६७ निभा शाह
२०६८ विमल निभा
२०६९ चैतन्य (मोहन वैद्य ‘किरण’)
 
पारिजात संघर्षशील नारी सम्मान पाउने नारीहरू

२०५१ राममाया नेपाली
२०५२ सुशीलादेवी चालिसे
२०५३ मोतिदेवी श्रेष्ठ
२०५४ नानीमैयाँ नकर्मी
२०५५ राजेश्वरी सिंह
२०५६ साधना प्रधान
२०५७ चम्पा राना
२०५८ मरनीदेवी शाह
२०५९ शान्ता श्रेष्ठ
२०६० छायाँदेवी पराजुली
२०६१ बमकुमारी बुढामगर
२०६२ शान्ता मानवी
२०६३ सन्तोषी विक (सन्ध्या)
२०६४ रामकुमारी झाँक्री
२०६५ कमला नहर्की
२०६६ डा. रेणु राजभण्डारी
२०६७ शान्ता चौधरी
२०६८ विष्णुदेवी श्रेष्ठ (मुक्ता)
२०६९ साहना प्रधान
 
पारिजात कला सम्मान प्राप्त गर्ने कलाकार

२०५८  स्व. मोहन खड्का
२०५९  स्व. कुलमानसिंह भण्डारी
२०६०  हरि दर्शनधारी
२०६१  रामेश
२०६२  जेबी टुहुरे
२०६३  खुसीराम पाख्रिन
२०६४  किरण मानन्धर
२०६५  रामकृष्ण भण्डारी
२०६६  मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७  वदन शर्मा
२०६८  इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर
२०६९  नारदमणि हार्तम्छाली ‘कलाङ’
 
पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्ने स्रष्टा

२०५७  रवीन नेपाली
२०५९  शाश्वत पराजुली
२०६०  दोर्जे छिरिङ लेप्चा
२०६२  लक्ष्मी उपे्रती
२०६३  सुकुम शर्मा
२०६५  अनन्तप्रसाद वाग्ले
२०६६  सौरभकिरण श्रेष्ठ
२०६७  अमर न्यौपाने
२०६८  माधव सयपत्री
२०६९  विजयराज आचार्य
पारिजात बालसाहित्य पाण्डुलिपि प्रशंसापत्र
संगीत श्रोता, सविना सिन्धु, केदार श्रेष्ठ
 
 
 
पारिजात स्मृति केन्द्रका पदाधिकारी

अध्यक्ष – लक्ष्मी माली
सचिव – मातृका पोखरेल
कोषाध्यक्ष –दिल वरदान
सदस्य – डा. महेश मास्के
सदस्य – सुकन्या वाइवा
सदस्य–  पद्मरत्न तुलाधर
सदस्य – रायन
सदस्य – स्नेह सायमी
सदस्य – इन्दिरा दली
सदस्य – शार्दूल भट्टराई
सदस्य – वदन शर्मा


पारिजात स्मृति केन्द्र
पारिजात मार्ग, म्हेपी, काठमाडौँ
इमेल – parijatsmritikendra@gmail.com
फोन : ४३५८१८४




No comments:

Post a Comment