पारिजात स्मृति केन्द्रले मित्रराष्ट्र भारत, सिक्किमका पूर्वमुख्यमन्त्री तथा स्रष्टा पवन चाम्लिङ किरणलाई ‘पारिजात विशिष्ट सम्मान’ द्वारा सम्मान गरेको छ । सिर्जनामार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै पारिजातको सिर्जनालाई समेत स्थापित गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै पारिजात स्मृति केन्द्रले चाम्लिङलाई सम्मान गरेको हो ।
राजधानी काठमाण्डुमा यही २०७९ भाद्र २५ गते आयोजित समारोहमा कवि कुन्ता शर्मा र केन्द्रका संरक्षक सुकन्या वाइबाले चाम्लिङलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरे । सम्मान ग्रहण गर्दै चाम्लिङले नेपाली आधुनिक साहित्यमा पारिजातको ओजपूर्ण योगदानको चर्चा गरे । ‘नेपाली साहित्यमा पारिजात अमर र विराट प्रतिभा हुनुहुन्छ, आधुनिक नेपाली साहित्य जसको चर्चाबिना अधुरो रहन्छ,’ उनले भने । करिब तीन दशकअघि पारिजातसँगको एकै पटक भएको भेटको स्मरण गर्दै राजनीतिक एवं सैद्धान्तिक विचारधारामा समेत अडिग पारिजातले जीवनमरणको संघर्षशील र विषम परिस्थितिमा समेत सधैं सत्यको बाटो नभुलेको स्मरण गरे । पारिजात सिद्धान्तलाई पुस्तकमा मात्र सीमित नराखी यसमा खोज, अनुसन्धान र शोध हुनुपर्ने धारणा उनले राखे ।
चाम्लिङले सिक्किममा २५ वर्ष (सन् १९९४–२०१९) मुख्यमन्त्रीका रूपमा आफ्नो लगातार ५ कार्यकाल पूरा गरे । राजनीतिसँगै उनले आफूलाई कवि, गीतकार, सम्पादक, प्रकाशकका रूपमा समेत आफूलाई चिनाएका छन् ।
No comments:
Post a Comment