पारिजात स्मृति केन्द्रको २८ औं साधारणसभा २०७८ साल पुस १० गते पारिजात स्मृति भवन म्हेपीमा सम्पन्न भएको छ । स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीको अध्यक्षतामा सम्पन्न साधारणसभाले महासचिव मातृका पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।
साधारणसभामा स्मृति केन्द्रका संरक्षक एवम् संस्थापक अध्यक्ष सुकन्या वाइबा, पूर्व अध्यक्ष रायन, पूर्व अध्यक्ष डा. महेश मास्के, उपाध्यक्ष इन्दिरा दली, सदस्य मीन द्वन्दी, सदस्य सीता शर्मा, सदस्य वीरप्रसाद भन्सारीले कार्यक्रममा मन्तव्य एवम् सुझाव प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको संचालन कार्यसमिति सदस्य डा. विन्दु शर्माले गर्नुभएको थियो ।
000
पारिजात स्मृति केन्द्रको २८ औं साधारणसभामा
प्रस्तुत प्रतिवेदन
सुप्रसिद्ध साहित्यकार पारिजातद्वारा समाजवादी यथार्थवादको आलोकमा सिर्जना गरिएका जीवनमुखी साहित्यलाई पछिल्लो पुस्तासँग निरन्तर जोड्न र साहित्यको माध्यमबाट जनतालाई सांस्कृतिक रुपमा जागृत बनाउने उद्देश्यले स्थापित पारिजात स्मृति केन्द्रको २८औं साधारणसभामा उपस्थित केन्द्रका संरक्षक सुकन्या वाइबालगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुप्रति आभार प्रकट गर्दछु ।
पारिजात स्मृति केन्द्रको स्थापना भएको मिति २०५० साल वैशाख २६ गतेदेखि यहाँसम्म आइपुग्दा हामीले २८ वर्ष पूरा गरेका छौं । प्रारम्भमा यो संस्था इन्द्रेणी सांस्कृतिक समाजको तत्परतामा स्थापना भएको थियो । स्वाभाविक रुपमा नेपालको प्रगतिवादी साहित्य र महिला जागरणकी सुविख्यात व्यक्तित्व पारिजातको निधनपछि उहाँको वैचारिक तथा कलात्मक योगदानको सम्मान र संरक्षण गर्ने जिम्मेवारी उहाँका शुभेच्छुकहरु हामीमा आइपुग्यो । त्यही जिम्मेवारीलाई बहन गर्ने सिलसिलामा आदरणीय सुकन्या वाइबाको अध्यक्षतामा नेपालको प्रगतिवादी साहित्य एवं सामाजिक रुपान्तरणका विशिष्ट अभियन्ताहरु रायन, रमेश विकल, गोविन्द भट्ट, खगेन्द्र संग्रौला, निनु चापागाईं, शक्ति लम्साल, पद्मरत्न तुलाधर, डा. महेश मास्के, रामहरि पौडेल र डा. राजेन्द्रप्रसाद अधिकारी संस्थापक रही यो संस्थाको स्थापना भएको थियो । संस्थापकहरुमध्ये रमेश विकल, गोविन्द भट्ट, शक्ति लम्साल र पद्मरत्न तुलाधर अहिले हाम्रा बीचमा हुनुहुन्न । उहाँहरुले नेपाली समाजको प्रगतिशील रुपान्तरणका लागि पु¥याउनुभएको योगदानलाई संस्मरण गर्दै साहित्यकार पारिजात दिवंगत संस्थापकहरु र यस वर्ष दिवंगत हुनुभएका पारिजात सम्मानबाट सम्मानित स्रष्टाहरु आनन्देव भट्ट र जे.बी. टुहुरे एवं साहित्यिक, सामाजिक अभियन्ताहरुप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।
स्मृति केन्द्रका कार्यको संक्षिप्त चर्चा
पारिजात स्मृति केन्द्रको स्थापना हुँदादेखि नै पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गर्ने, पारिजातका कृति स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने गराउने, पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने, पारिजातका मूल्याङ्कन हुने कृतिहरुप्रकाशन गर्ने, पारिजातको जन्मजयन्ती मनाउने, परिचर्चा र गोष्ठीको आयोजना गर्ने, पारिजातको नाममा पुरस्कार स्थापना गर्ने, स्वदेश विदेशमा रहेका विभिन्न साहित्यिक संघसंस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने हाम्रा जिम्मेवारी थिए । हाम्रा दायित्वका यीमध्ये धेरै कामहरु अझै बाँकी रहेकै छन् ।
पुरस्कार र सम्मानको क्षेत्रमा
पारिजात स्मृति केन्द्रको स्थापना भएकै अर्को वर्षदेखि पारिजात संघर्षशील नारी सम्मान र पारिजात सिर्जना सम्मान प्रदान गर्न थालिएको थियो । आरम्भमा पारिजात स्मृति केन्द्र र इन्हुरेड इन्टरन्यासनलको सहयोगमा पारिजात संघर्षशील नारी पुरस्कारको व्यवस्था गरिएको थियो । २०५९ सालदेखि त्यो पुरस्कारको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पारिजात स्मृति केन्द्रले लिएको छ । केन्द्रले २०५८ सालदेखि बाल साहित्य पुरस्कार र पारिजात कला पुरस्कार थप गरेर चारवटा पुरस्कार प्रदान गर्दै आएको छ । पारिजात सिर्जना सम्मानको जिम्मेवारी कृष्णादेवी मास्के गुठीले लिँदै आएको छ । हाल त्यो गुठीको अध्यक्ष डा. महेश मास्के हुनुहुन्छ । कृष्णादेवी मास्के गुठीले एक अक्षयकोष स्थापना गरेको छ । पारिजात कला सम्मानको स्थापना साहित्यकार स्नेह सायमी र लक्ष्मी मालीले गर्नुभएको हो । २०५८ सालमै स्थापित पारिजात वालसाहित्य पाण्डुलिपि पुरस्कारको स्थापना सर्वप्रथम पारिजातकी मित्र बारबरा निम्री अजिजले गर्नुभएको थियो । नेपाल बालसाहित्यको विकासमा सहयोग पु¥याउँदै असल र राम्रो बालसाहित्यकारहरु उत्प्रेरणा र प्रोत्साहन दिने उद्देश्यका साथ यो पुरस्कारको स्थापना गरिएको थियो । प्रारम्भमा इन्दिरा दलीको संयोजकत्वमा कनकमणि दीक्षित, खगेन्द्र संग्रौला र भिक्टर प्रधान सदस्य रहेको पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान व्यवस्थापन समिति मार्फत् यो सम्मान उत्कृष्ट पाण्डुलिपिलाई प्रदान गरिन्थ्यो । वि.सं. २०७० सालदेखि पुरस्कार व्यवस्थापन समितिले आफूले सम्हाल्दै आएको जिम्मेवारी पारिजात स्मृति केन्द्रलाई सुम्पिएपछि स्मृति केन्द्रले बालसाहित्यमा योगदान दिनुहुने विशिष्ट स्रष्टाहरुलाई यो सम्मानबाट सम्मानित गर्ने गरिएको छ । बालसाहित्य पाण्डुलिपि सम्मान हालसम्म दश जना स्रष्टाले प्राप्त गर्नुभएको छ भने बालसाहित्यमा विशिष्ट स्रष्टाहरुले प्राप्त गर्ने पारिजात बालसाहित्य सम्मान सात जनाले प्राप्त गर्नुभएको छ ।
यसैगरी हालसम्म पारिजात सिर्जन सम्मान २६ जना स्रष्टाहरुले, पारिजात संघर्षशील नारी सम्मान २६ जनाले र पारिजात कला सम्मान १९ जनाले प्राप्त गरिसक्नुभएको छ ।
प्रकाशनको क्षेत्रमा
तत्कालीन कार्यसमितिका सदस्यहरु निनु चापागाईं र खगेन्द्र संग्रौंलाको सम्पादकत्वमा पारिजात स्मृति ग्रन्थ पहिले नै प्रकाशन भइसकेको छ । उक्त ग्रन्थ हाल अप्राप्य भइसकेको र धेरैतिरबाट माग भइरहेको कारण पारिजात स्मृति केन्द्रले पुनःप्रकाशन गर्ने योजना बनाएको छ । पारिजात स्मृतिकेन्द्रले प्रत्येक वार्षिक कार्यक्रममा परिचय पुस्तिका प्रकाशन गर्दै आएको छ ।
पारिजातका समग्र कृतिहरुको प्रकाशन गरेर निर्माण प्रकाशन सिक्किमले पारिजात स्मृति केन्द्रका लागि मात्र नभएर नेपाली साहित्यका लागि स्तुत्य कार्य ग¥यो । निर्माण प्रकाशनले प्रकाशन गर्ने पारिजातका संकलित रचनाहरु अहिले बजारमा अप्राप्य भइसकेको अवस्था छ । स्मृति केन्द्रको निर्णयबमोजिम फिनिक्स बुक्ससँग सम्झौता गरेर संकलित रचनाहरुको प्रकाशन भइरहेको छ । यसबाट पारिजात स्मृति केन्द्रलाई आर्थिक सहयोग पनि प्राप्त भइरहेको छ ।
गोष्ठी एवं परिचर्चा कार्यक्रम
पारिजात स्मृति केन्द्रको आयोजनामा विगतका समयमा उपत्यकाभित्र र बाहिर समेत पारिजातका रचनामाथि केन्द्रित रहेर गोष्ठी एवम् परिचर्चा कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । यी गोष्ठीमध्ये महिला कविता वाचन गोष्ठीहरु, पारिजात परिसम्वाद, पारिजात सिर्जन यात्रा, पोखरा र दिक्तेलमा आयोजित विचार गोष्ठीहरु उल्लेख्य छन् ।
चलचित्र निर्माण
पारिजातका कृति र सिर्जनामाथि चलचित्र निर्माण भएका छन् । त्यसमध्ये ‘शिरिषको फूल’ उपन्यासमाथि बनेको चलचित्र र ‘शाल्गीको बलात्कृत आँसु’ माथि बनेको डकुमेन्ट्री हो । उहाँका कृति र रचनामाथि चलचित्र र डकुमेन्ट्री बनाउने प्रस्ताव र छलफल निर्माता निर्देशकहरुले स्मृति केन्द्रसँग गरे पनि काम अघि बढेको जानकारी प्राप्त भएको छैन ।
पारिजात स्मृति केन्द्रको वर्तमान संरचना
२०७७ साल चैत ३ गते स्मृति केन्द्रको २६ औं र २७ औं संयुक्त साधारणसभाले कवि स्नेह सायमिको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन ग¥यो । यही साधारणसभाले २०५१ साल मंसिर ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी कार्यान्वयन गरिएको विधानलाई पहिलो पटक संशोधन गर्ने निर्णय ग¥यो । सोही निर्णय बमोजिम २०७८ साल असार २५ गते जि.प्र.का. काठमाडौंबाट संशोधित विधान स्वीकृति प्राप्त भयो । सोही साधारणसभाले स्मृति केन्द्रको सांगठनिक संरचनामा केही फेरबदल गरी कार्यसमितिको संख्या ११ बाट घटाइ ९ मा कायम ग¥यो र उपाध्यक्षको व्यवस्था ग¥यो । सदस्य–सचिवको प्रावधान हटाइ महासचिवको व्यवस्था ग¥यो । सोही साधारणसभाले १८ जना साधारण सदस्य थप गर्ने निर्णय गरेको थियो । हाल स्मृतिकेन्द्रको साधारण सदस्यको कूल संख्या २५ पुगेको छ । गत साधारणसभाको निर्णयबमोजिमको संस्थामा साधारणसभाको बैठक आज हामी बसिरहेका छौं ।
केन्द्रका आगामी कार्यक्रम
गत साधारणसभापछि गठित कार्यसमितिले साहित्यकार पारिजातको व्यक्तित्व, विचार र कृतिलाई जीवन्त राख्ने दूरदृष्टि सहित वि.सं. २०७८÷०७९ का लागि एक कार्ययोजना पारित गरी काम अघि बढाएको छ । उक्त कार्ययोजनामा निम्न विषयहरु समेटिएका छन् कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कार्यविभाजन गरिसकेको छ । कार्ययोजनामा निम्न विषयहरु छन्–
भवन निर्माण सम्बन्धी
पारिजात स्मृति केन्द्रको भवन २०७८ सम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
सम्पर्क विस्तार गर्ने
२०७८ चैत्रभित्र तीन वटा प्रदेशमा र २०७९ चैत्रभित्र चारवटा प्रदेशमा सम्पर्क समिति बनाइसक्ने योजना राखिएको छ । त्यसैगरी दार्जिलिङ र विदेशका गरी तीन सहरमा ‘पारिजातका साथीहरु’ ९ँचष्भलमक या एबचष्वबत० सञ्जाल विस्तार गर्ने लक्ष्य लिइएको छ ।
पारिजातको प्रतिमा निर्माण गर्नेबारे
वि.सं. २०७९ सम्म मुलुकका तीन स्थानमा पारिजातको प्रतिमा निर्माण गर्ने योजना अघि सारिएको छ ।
विचारगोष्ठी एवं परिचर्चा कार्यक्रम
प्रगतिवादी साहित्य, संगीत एवं संस्कृतिका विविध पक्षमाथि केन्द्रित रही वर्षको दुईवटा ‘पारिजात परिसंवाद’ कार्यक्रम सञ्चालन गर्ने । त्यसै गरी काठमाडौं बाहिरका साहित्यिक संस्थाहरुसँगको सहकार्यमा पारिजातका योगदान, प्रगतिशील साहित्यमा पारिजातको औपन्यासिकता र चरित्र निर्माण, पारिजातको साहित्यमा महिला विद्रोह र प्रगतिशील कथा गोष्ठीको आयोजना गर्ने । प्रत्येक महिना संगीत र साहित्य सहितको पारिजात सिर्जना यात्रा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
प्रकाशनबारे
प्रत्येक वर्ष करिब डेढसय पेजसम्मको एउटा जर्नल प्रकाशन गर्ने योजनामा राखिएको छ । प्रकाशकहरुको सहकार्यमा ‘वेदना’ साहित्यिक पत्रिका पुनः प्रकाशन गर्ने र वेभसाइटलाई अध्यावधिक गर्ने योजना छ । पारिजातका अप्रकाशित रचनाहरु प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।
पुस्तकालय एवं संग्रहालय निर्माण गर्ने
पारिजात स्मृति केन्द्रमा एक पुस्तकालयको स्थापना गरिनेछ । पारिजातले प्रयोग गर्नुभएका सामग्रीहरुलाई सुरक्षित गर्दै संग्रहालय निर्माण गर्ने कार्य अघि बढाइएको छ ।
पारिजातको जन्ममिति परिवर्तन बारे
विगतमा साहित्यकार पारिजातको जन्ममिति पारिजात स्मृति केन्द्रले वि.सं. १९९४ साल वैशाख उल्लेख गर्दै आएको थियो । पारिजातको जीवनी र कृतित्वमाथि केन्द्रित रहेर विद्यावारिधि गर्न जानुभएका तीनजना अनुसन्धानकर्ता प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्रा.डा. बद्रिविशाल पोखरेल र डा. हरिहर भण्डारीले पारिजातले अध्ययन गर्नुभएको विद्यालयमा पुगेर विद्यालयको अभिलेख हेरी पारिजातका पिता डा. के. एस. वाइबाले भर्ना गर्दा लेखाइदिनुभएको जन्ममिति वि.सं. १९९० साल फागुन ३० गते रहेको प्रमाणित प्रति ल्याइसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्ना पाठ्यपुस्तकहरुमा पारिजातको जन्ममिति सोहीअनुसार उल्लेख गरिसकेको छ । पारिजात स्मृति केन्द्रकी संरक्षक एवम् संस्थापक अध्यक्ष सुकन्या वाइबाले पनि विद्यालयको रेकर्डअनुसार सच्याउन अनुरोध गरिसक्नुभएकाले स्मृति केन्द्रको वि.सं. २०७८ साल असोज २ गते बसेको कार्यसमितिको बैठकले पारिजातको जन्ममिति वि.सं. १९९० साल फागुन ३० गते उल्लेख गर्ने निर्णय गरिएको जानकारी गराउँदछु ।
केन्द्रको २६ औं २७ औं साधारणसभा पछाडी हाम्रो कार्यसमितिले करिब दश महिना गुजारेको छ । यस बीचमा हामीले नियमित कार्यक्रमअन्तर्गत गरिने वार्षिक कार्यक्रम कोभिड महामारीका कारण वैशाख महिनामा गर्न सम्भव भएन र उक्त कार्यक्रम २०७८ साउन २९ गते सम्पन्न ग¥यौं । यस बीचमा हामीले ६ वटा बैठकहरु सम्पन्न गरेका छौं । आगामी समयमा गरिनुपर्ने कार्यहरुका बारेमा यहाँहरुको सल्लाह, सुझावको अपेक्षा गर्दछु ।
धन्यवाद ।
मिति २०७८/०९/१०
मातृका पोखरेल
महासचिव
पारिजात स्मृति केन्द्र
No comments:
Post a Comment