Saturday, January 1, 2022

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै - पारिजात

 


१९९० फागुन ३० गते लिङ्गे, चियाकमान, दार्जीलिङमा जन्मिएकी पारिजातले नेपाली भाषा–साहित्य जगत्मा समर्पित लेखिकाका रुपमा मात्र आफूलाई चिनाएनन् यिनले प्रसिद्ध साहित्यकारका रुपमा आफ्ना सुन्दर कृतिहरुमार्फत् चिनाएर जान सफल छन् ।शिरीषको फूल (२०२२) उपन्यासमा मदन पुरस्कार पाउन सफल लेखिका पारिजात देवकोटापछिका उच्चकोटीकै महिला साहित्यकारका रुपमा प्रतिस्थापित छन् । आफ्नै छुट्टै पहिचान देखाएर साहित्यिक जगत्कै स्वाभिमानी लेखिका पारिजातका कथा–व्यथाहरु नेपाली भाषा–साहित्य जगत्का लागि उल्लेखनीय र प्रशंसनीय छन् । ‘धरती’ पत्रिकामा २०१३ सालमा नै कविता लिएर देखापरेकी यिनका जीवन–प्रसङ्गहरु, सिर्जनात्मक हरफहरु सबैका लागि अध्ययन गर्न लायकका छन् । २०१४ सालमा नै आकाङ्क्षा कवितासङ्ग्रह छपाएर देखापरेकी यिनका अन्य कवितासङ्ग्रहहरु पारिजातका कविताहरु (२०४४), बैंसालु वर्तमान (२०५०) प्रकाशित छन् ।निर्माण प्रकाशन, सिक्किमबाट यिनका समग्र कृतिहरु विधागत साहित्यिक सामग्रीहरु संकलन गरी प्रकाशित भएको देखिन्छ । कवि, उपन्यासकार, निबन्धकार, कथाकारका रुपमा प्रसिद्धि कमाउन सफल पारिजातले आफ्नो राजनीतिक दृष्टि पनि लेखनका रुपमा प्रकाशन गराएको देखिन्छ । यिनका कथा, निबन्ध, संस्मरण र कविताहरु पनि उच्चकोटीका र सौन्दर्यात्मक छन् । वि.सं. २०४६ मा बनेपाबाट जनमत मासिकका तर्फबाट यिनको सम्मान हुनाका साथै यिनको नाममा जनमत विशेष अङ्कर दिवंगतपछि पारिजात स्मृति अङ्क पनि प्रकाशित भएको देखिन्छ । जीवनका केही क्षण शिक्षणसेवामा समर्पित गरेकी यिनी पछिल्लो कालखण्डमा पूर्णकालिक साहित्यकारका रुपमा आफूलाई देखाउन सफल छन् । साहित्यिक क्षेत्रका अविस्मरणीय नाम बनाएर गएकी यिनी नेपाली भाषा–साहित्यका उदाहरणीय इतिहास बनेर गइन् । यिनको दु:खद निधन २०५० वैशाख ७ गते भएको देखिन्छ ।

तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
नारी पछि पनि लेखिका भनेर जोडदार चिनारी दिइएको तपाईंको विशिष्ट अन्तर्वार्ताको प्रश्नको जवाफ दिनको लागि अघि कभर डिजाइन अर्थात् मुखपृष्ठको चित्रकलाबारे केही भनि हालौँ । कलाकारले फुर्सदको क्षणमा मनले अरु थोक सम्झँदै मात्र हात चलाएर केरमेर गर्दा नारी लेखिएको प्रतिमूर्ति त्यस्तो बन्न पुगेछ । यो कलाकारको रेखाङ्कन नभएर कलाकारको (हात चलाइ रहने बानी) को परिणाम हो । अँ त सम्पादकज्यू अध्ययनको बढी रुचिले लेखनतर्फ अग्रसर गरायो । पहिलो कविता श्री भवानी भिक्षुद्वारा सम्पादित धरतीमा छापिएको हो । साल समय ठीक थाहा छैन – वि.सं २०१२ /१३ तिर हुन सक्छ ।

साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
भाषा शैली अलिक सुन्दर र आकर्षण बनाउने कोशिस रहन्थ्यो कक्षाको पढाईमा । कहिलेकाहिँ प्रशंसा पाउँथेँ । घरमा प्रेरक तत्व थिएन । विज्ञान, गणित र अंग्रेजी भाषाको पछि मरिमेट्ने अभिभावक पिताज्यूले साहित्य लेख्न त परै राखौ पढेको पनि पटकै रुचाउँदैन थिए । यही उत्प्रेरणा नै मेरो प्रेरणा भयो कि ? साहित्य सेवाको भावना पछिको कुरा हो । उत्तर अलि लामो हुन्छ यहाँ नलेखौँ ।

साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्ट हुन्छ नै । कति सन्तुष्ट छ त्यो चाहिँ भन्न सकिदैन । हेर्दै जाऊ, लेख्दै जाऊ, यति उति सन्तुष्टिको माणक अनुभूति भयो भने तपाईलाई बिर्सन्न ।
नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
सम्पूर्ण वाङ्मयबाट साहित्यलाई हेर्ने हो भने आजसम्म लेखिएका लेखिकाहरुको योगदान देश, काल, समय र समाज व्यवस्था अनुरुप स्वाभाविक र सन्तोषप्रद नै मान्नुपर्छ । वर्तमान अग्रसारिताप्रति म सन्तुष्ट छैन । हुनुपर्ने केही भएको छैन । स्थापित भनेर गन्नलाई औलाहरु नै बढी हुन्छन् कि ? नयाँ अनुहार, प्रतिभा र संख्या दुवैमा खास केही देखिँदैन । अग्रसारिता अवरोध किन र कसरी भइरहेछ त्यो प्रश्न समसामयिक र शोधमूलक छ । समय पछि पर्दैछ कि सोच्नु पर्ने बिषय हो ।

“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
तपाईंको प्रश्नको उत्तर तपाईंकै प्रश्नमा निहीत छ । यहाँ उत्तर लेखिरहन पर्दैन होला । एउटा प्रश्न तपाईसँग पनि ……..? सिद्धान्त र दृष्टिकोणबारे स्पष्ट धारणा प्रश्नमा हुनुपथ्र्यो । दृष्टिकोण थुप्रै हुन्छन् तर जीव जगत् सापेक्ष सत्य र तथ्यको आधारमा दुइटै सिद्धान्त देखिन्छन् । ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवाद र आर्दशवाद । पहिलो सिद्धान्त प्रगतिको पक्षधर हुन्छ र दोश्रो प्रगतिको विपक्षमा हुन्छ । कला र सौन्र्दयलाई दुवैथरी सिद्धान्तका पक्षधर साहित्यकारहरुले समान रुपमा मान्दछन् ।

हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
जवाफ छैन ।
तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
कुनै पनि साहित्यकारलाई एउटै कृतिको आधारमा कुनै कुनैलाई थुपै्र पढेर रुचाएकी छु । उदाहरण दिइरहन पर्दैन होला सायद …….. । निकै वर्ष अघि उत्साह त्रैमासिकले सूची नै चाहिन्छ भनि लेख्दा सूची धेरै लामो हुन गयो । लामो अन्तरालपछि यो सूची अझै लम्बिन्छ । कारण तेश्रो विश्वको विशेषगरी एलसाल्भाडोर, दक्षिण अफ्रिका, अर्जेन्टिना, भियतनाम अथवा अमेरिकाकै केही पनि श्वेत श्याम साहित्यकारहरु महिलाहरु पनि मनपर्ने सूचीमा परिसकेका छन् । स्वदेशमा नै पनि उदीयमान नवप्रतिभाहरु हुर्किइसकेका छन् । त्यसलाई फलानु, फलानु आदि भन्न मलाई गाह्रो परेको छ यहाँ ।

तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
धेरैजसो समय साहित्यकारहरुकै माझमा बिताइन्छ र रोचक घटनाहरु पनि भइरहन्छन् । कुनै त्यो विशिष्ट घटना छैन जसको सधैं सम्झना आउँछन्, स्वाभाविक हो ।

तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
पहिलो प्रकाशित रचना माथि उल्लेखित भइसकेको छ मनपर्ने रचना समाजमा कृतिको संप्रेषणशीलता र त्यसको बढीभन्दा बढी पाठकमा पर्न गएको जीवनमुखी प्रतिक्रियाले निर्धारण गर्दछ, मैले होइन । म त्यो प्रतिक्रियाले निर्धारण गर्छ भन्ने पक्षमा छु ।

यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
हुन त जनमतको प्रुफप्रति मलाई त्यति गुनासो छैन तैपनि राम्ररी हेरिदिनुहोला भनी आग्रह गर्दा के बिग्रेला त ……..? भन्न बाँकी यति हो ।

(जनमत, पूर्णाङ्क ८, मार्ग २०४६)


www.janamatsahitya.com बाट साभार 


No comments:

Post a Comment