तर पछि नेपाल आएपछि, पहिलो कवितासङ्ग्रह प्रकाशित भइसकेपछि पनि लिखित र प्रकाशित उपन्यास ‘शिरिषको फूल’ नै उनको कीर्तिमानी उपन्यास सावित भयो ।
पारिजातको जन्म १३ मार्च १९३४ (तदनुसार ३० फागुन १९९०)का दिन लिङ्गिया चिया बगान दार्जिलिङमा भएको थियो । उनको नाम लामाहरुले छेकुडोल्मा राखिदिएका थिए । उनको घरको बोलाउने नाम र स्कूलमा दर्ता भएको नाम विष्णुकुमारी वाइबा थियो । उनी नेपाल आएपछि नै साहित्यमा गम्भीरतापूर्वक समर्पित भएकी थिइन्, आफ्नो नाम पारिजातको रुपमा आफैंले परिवर्तित गर्दै।
मैले साहित्यमा पदार्पण गर्दाको तीसको दशकको समयमा पारिजात चर्चाको पात्र मात्र थिइनन्, एक प्रकारले किंवदन्ती बनिसकेकी थिइन् । मिथक बनिसकेकी थिइन् । त्यो बनाउने कृति थियो, ‘शिरिषको फूल’ । तर बजारमा त्यो उपलब्ध थिएन । साहित्यका पुराना र चर्चित लेखकका कृतिहरु खोजीखोजी पढ्ने क्रममा पारिजातका कृतिहरु पढ्न थालेको थिएँ । त्यतिबेला ‘शिरिषको फूल’ बजारमा पाइन्थेन । पुस्तकालयहरुमा पनि सहज रुपले उपलब्ध थिएन । त्रिविले पाठ्यक्रममा राखेको थियो, तर विद्यार्थीहरुले ‘साइक्लोस्टाइल’ गरेका प्रतिबाट काम चलाउनुपर्ने बेला थियो । फोटोकपी मेसिन आइसकेको थिएन ।
पारिजातले राजनीतिक बाटो समातेकी थिइन् र मदन पुरस्कारप्राप्त आफ्नै कृति ‘शिरिषको फूल’ लाई मज्जाले भर्त्सना गर्दै रमाइरहेको बेला थियो त्यो । तर एक्कासि भनेजस्तो साझा प्रकाशनवाट ‘शिरिषको फूल’ को नयाँ संस्करण आएपछि हतारिंदै किनेर पूरै नपढी नसुतेको त्यो दिन, साँझ र रातको मलाई सधैं सम्झना हुन्छ ।
०००
चर्चा र पाठककी चाहनाकी लेखिकासँग मेरो भेट यौटा कारणवस भयो । म त्रिभुवन विश्वविद्यालयमा आन्तरिक लेखा परीक्षक थिएँ । अनि विश्वविद्यालयको स्वीकृति लिएर प्राइभेट अडिटरको लाइसेन्स लिएको थिएँ र त्यसबाट हुने अतिरिक्त आम्दानीले मेरो काठमाडौं बसाइलाई अलि सहज बनाएको थियो । त्यतिबेला जिल्ला शिक्षा कार्यालयबाट निवेदनको आधारमा पाइने स्कूलको लेखा परीक्षणको काम एउटा वार्षिक आकर्षण हुन्थ्यो । तर मात्र निवेदनको आधारमा पाइने स्कूल प्राथमिक वा साना निम्न माध्यमिक विद्यालय हुन्थे । र एक वर्ष मैले पाएँ,’ अमृत प्राथमिक विद्यालय’ को लेखापरीक्षण गर्ने काम । मलाई त्यसपछि नै थाहा भयो, त्यो विद्यालय त पारिजातकी बहिनी सुकन्याको हो ।
पारिजातलाई पनि भेट्न पाइने हुनाले म दङ्ग परेको थिएँ । तर पारिजातलाई भेट्न जाँदा चुरोट कोसेली लिएर जानुपर्छ भन्ने काठमाडौंमा बाक्लै सुनिन्थ्यो । फेरि म त कामकै सिलसिलामा जान लागेको थिएँ । केही वर्षदेखि विद्यालयको लेखापरीक्षण नभएकोले पारिश्रमिक राम्रै हुने आशा पनि जोडिएको थियो । अनि म जिल्ला शिक्षा कार्यालयले लेखापरीक्षणका लागि नियुक्त गरेको चिट्ठी र दुईवट्टा खुकुरी चुरोटको बट्टा बोकेर सोध्दैखोज्दै म्हैपी पुगें ।
म अब पारिजातसमक्ष प्रस्तुत थिएँ । अमृत विद्यालय सुकन्या वाइबाको नाममा भए पनि सबैजसो निर्णय र खटनपटन पारिजातको नै चल्नेरहेछ भन्ने मैले त्यसै भेटमा पत्तो पाएँ । मैले लगेको चुरोटका बट्टाहरु उनले सहज रुपले स्वीकारिन् । मेरो त्यतिबेला प्रकाशित ‘उत्खनन्’ उपन्यास उपहार दिएँ, त्यसलाई पनि स्वीकारिन् । अनि मलाई पनि उनको ‘शिरिषको फूल’को अङ्ग्रेजी अनुवाद ‘ब्लू मिमोसा’ मेरो नाम लेखेर हस्ताक्षरसहित दिइन् ।
स्कुलको लेखापरीक्षणको विषयमा उनले भनिन्, ‘भाइ, स्कुलको आम्दानी राम्रो नभएर मैले त लेखापरीक्षणमा आउनेलाई वर्षैपिच्छे फर्काउँदै पठाउने गरेको छु ।’ उनको यस कुराले झस्कें म ।
‘तर भाइ नै आएपछि फर्काउन पनि गाह्रो हुने भो मलाई ! तर आम्दानी नभएर पारिश्रमिक दिन पो गाह्रो छ त !’ उनले थप भनिन् ।
मैले भनें, ‘यसरी वर्षैपिच्छे लेखापरीक्षण नगर्दा त भार बढ्दै जान्छ । यसबाट उन्मुक्ति त मिल्दैन ।’
मैले यति भनेपछि उनी गम्भीर भइन् । त्यति नै बेला ढोकामा उभिएर हाम्रो कुरा सुनिरहेकी सुकन्या पारिजात नजिक आएर बसिन् र पारिजाततर्फ हेर्न लागिन् ।
मैले भनें, सरकारी रेट त घटाउन मिल्दैन तर त्यसको उपाय गरौंला,’ मैले तत्कालै मेरो मनमा उदाएको विचार प्रस्तुत गरें, ‘म जति पारिश्रमिक हुन्छ त्यसको आधा मात्र लिन्छु । तर मलाई पूरै पारिश्रमिकको चेक लेखेर दिनुहोला । म आधा रकमको चेक डोनेसन गरुँला । नियम पनि पालना हुने, तपाईंहरुलाई पनि राहत हुने ।’
मेरो प्रस्तावले पारिजात र सुकन्या दुवैको अनुहारमा खुसी छायो ।
‘त्यो आधा रकम पनि म तपाईंको पुस्तक प्रकाशनमा लगाउन चाहन्छु ।’ मैले पारिजातलाई थप भनें । त्यतिबेला पारिजातको बोनीलाई सम्वोधन गरिएको श्रृङ्खला–कथा प्रकाशित भइरहेका थिए । म तिनलाई पढिरहेको थिएँ र आफ्नो स्वभावअनुसार सङ्कलन पनि गरिरहेको थिएँ । पारिजातले मेरो प्रस्तावलाई हाँसेर स्वीकृति दिइन् ।
स्कुलको लेखापरीक्षण सकियो । मैले पूरा पारिश्रमिकको चेक पाएँ अनि त्यसको आधा रकमको चेक डोनेसनका रुपमा दिएर आफ्नो वचन पूरा गरें । त्यसपछि म त्रिभुवन विश्वविद्यालयको आफ्नो जागिरको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने नियमित काममा जानुपर्यो । काठमाडौं फर्केको अलि समयपछि म पारिजात निवास पुगें र ‘बोनी’ प्रकाशनको कुरा अघि बढाउँ भनें ।
पारिजातले भनिन्, ‘तपाईं पनि आउनु भएन, मलाई पैसाको खाँचो भयो । मैले त्यसको अग्रिम पैसा खाई पनि सकें ।’
अनि त्यो प्रकाशनको कुरा अन्त्य भयो । हुन त मैले पारिजातका विभिन्न किताबमा सङ्ग्रहित कथाहरुवाट छानेर एक सङ्ग्रह प्रकाशित गरौं भनेर ‘बोनी’ प्रकाशनको विकल्पको रुपमा प्रस्ताव गरेको थिएँ । उनले स्वीकार पनि गरेकी थिइन् । तर ‘बोनी’ प्रकाशनका लागि मेरो जुन उत्साह थियो त्यो उत्साह रहेन र कथा सङ्कलन प्रकाशनको कुरा अघि बढेन, त्यो त्यत्तिकै भयो ।
म मिर्मिरे पत्रिकासँग नजिक थिएँ । सम्पादक थिइन् चन्द्रा ठकुरी । म मिर्मिरेमा नियमित अनुवाद रचना दिन्थें । पुस्तक परिचय लेख्थें । अन्तरवार्ता पनि लिन्थें । सामान्यतया अन्तरवार्ता लिनेलाई मात्र पारिश्रमिक दिने गरिन्थ्यो । मैले सम्पादिका चन्द्रालाई अन्तरवार्ता दिनेलाई पनि पारिश्रमिक दिनुपर्छ भनरे राजी गराएँ । त्यसपछि पारिजातसँग मिर्मिरेका लागि अन्तरवार्ता लिनका लागि फोन गरें । उनले स्वीकृति र समय दिइन् । उनले दिएको समय र दिनमा उनको निवास गएर अन्तरवार्ता लिएँ । मेरा प्रश्नको उत्तर उनले दिंदै गइन् । उनले दिएका उत्तरलाई मैले टिप्दै गएँ । अन्तरवार्ता प्रकाशित भएपछि मिर्मिरेको अन्तरवार्ता प्रकाशित प्रति र सो वापतको पारिश्रमिकसहित पारिजात निवास पुगें । मलाई धुकचुक थियो, कतै उनले दिएको उत्तर मैले अन्यथा रुपमा प्रकाशित त भएन ? किनभने शक्ति लम्सालले भानु पत्रिकालाई लिएको अन्तरवार्ता प्रकाशित भएपछिको काण्ड मलाई थाहा थियो ।
देवीप्रसाद सुवेदीले लिएको अन्तरवार्ता पनि उनले दिएको जवाफ तोडमोड भएर प्रकाशित भएको उनको कथन पनि पढेको थिएँ । त्यसैले मलाई संशय भएको थियो ।
मैले पत्रिका र पारिश्रमिकको खाम पारिजातलाई हस्तान्तरण गरें । पारिजातले मेरो उपस्थितिमै उनीसँग मैले लिएको अन्तर्वार्ता मिर्मिरे पत्रिकाको पानामा पढिन् र मुसुक्क हाँस्दै भनिन्- ‘तपाईंले कस्तो राम्रोसँग कुनै कुरा नछुटाइ, कुनै कुरा अन्यथा नहुने गरी छाप्नुभएछ । नत्र त एउटा जवाफ दियो, छाप्ने बेलामा अर्कै छापिदिन्छन् ।’
उनी सन्तुष्ट भएको देखेर म निकै प्रसन्न भएँ ।
०००
पारिजातकै विशेष सक्रियतामा ‘नेपाल-भारत सांस्कृतिक केन्द्र’मा नेपालमा पहिलो महिला पुस्तक प्रदर्शनी भएको थियो । म सो प्रदर्शनी अवलोकनका लागि जाँदा पारिजात त्यहाँ सक्रिय थिइन् ।
‘शिरिषको फूल’ले मदन पुरस्कार पाउँदाताका पारिजातको निकटता शंकर लामिछानेसँग थियो । त्यसअघि रोदीकालमा पारिजातको अन्तरंग भूपि शेरचनसँग थियो । राल्फाकालमा मञ्जुलसँगको अन्तरङ्गताले मञ्जुलले ‘छेकुडोल्मा’ उपन्यास नै लेखेका थिए । राल्फाकालमा पारिजातको निर्बन्ध निकटता विमल राल्फासँग थियो । यो सम्वन्धको वारेमा निकै चर्चा परिचर्चा, विवाद भयो । तर उनले खुल्ला रुपमा स्वीकारेको प्रथम प्रेमी धनुवीरसँगको सम्पर्क भने आजीवन नै रह्यो । मर्यादित रुपमा रह्यो ।
उनका आत्मकथात्मक रचनाहरु ‘धूपि सल्ला र लालीगुराँसको फेदमा’, ‘एउटा चित्रमय शुरुवात’ तथा ‘अध्ययन र संघर्ष’ लाई पनि पाठकहरुले निकै रुचाए । उनको आत्मकथाको अन्तिम भाग भने उनले आफ्नो देहान्तपछि मात्र प्रकाशित गर्न इच्छा व्यक्त गरिएको भनिएपनि त्यो कृति हालसम्म प्रकाशन गरिएको छैन ।
पारिजातले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको विद्वत्ववृत्तिअन्तर्गत दुई थान उपन्यास लेखिन् र बुझाइन् । ती दुवै उपन्यास प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । ती थिए- ‘तोरीबारी बाटा र सपनाहरू’ तथा ‘अन्तर्मुखी’ ।
उनले कथाको रुपमा श्रृङ्खलावद्ध रुपमा लेखेका तथा कथाकै रुपमा प्रकाशित भएका भएपनि एकमुष्ट प्रकाशन गर्दा ‘उपन्यास’ का रुपमा प्रकाशित गरिएको थियो । पारिजातले जीवनमा एउटै मात्र जागिर खाइन्, मदन मेमोरिएल स्कुलमा शिक्षिकाको रुपमा । तर आफ्नो स्वास्थ्यका कारण उनले त्यो जागिरबाट राजीनामा गरिन् र त्यसपछि उनले कहिल्यै कतै पनि जागिर खाइनन् ।
पारिजात स्तम्भ लेखनमा पनि निकै सक्रिय भइन् । पारिश्रमिक पाउने, नपाउने दुवै प्रकारका लेखनमा उनले अविराम कलम चलाइन् । साहित्यिक पत्रिकामा ‘रुपरेखा’मा उनले लामो समय स्तम्भ लेखन गरेकी थिइन् । त्यस्तै विभिन्न साप्ताहिक पत्रपत्रिकामा पनि उनको स्तम्भ लेखन सक्रिय थियो ।
उनी राल्फाकालमा सक्रिय भइन् । तर पछि प्रगतिशील लेखक संघ, साहित्य सन्ध्या, प्रतिभा प्रवाह लगायतमा सक्रिय सहभागी भइन् । प्रगतिशील लेखक संघमा हुँदा मोदनाथ प्रश्रितसँगको ‘साइलक काण्ड’ निकै विवादास्पद र पेचिलो भएको थियो । २०४६ सालको आन्दोलनमा उनी राजनैतिक रुपले निकै सक्रिय भइ्न् । २०४६ सालको आन्दोलनपछिको एकेडेमीको गठनमा विमति राख्दै गरिएको ‘प्राज्ञिक संघर्ष समिति’ को उनले नेतृत्व नै गरेकी थिइन् ।
उनले मदन पुरस्कार पाउनुअघि ‘युगज्ञान पुरस्कार’ पाएकी थिइन् । पछि उनले ‘गंकी वसुन्धरा पुरस्कार’ पाएकी थिइन् । उनलाई ‘सर्वश्रेष्ठ पाण्डुलिपि’ दिइने निर्णय उनको देहान्तको एकदिन अघि भएको थियो, तर त्यसको निर्णय उनले थाहा पाइनन् । सो पुरस्कारपछि उनकी बहिनी सुकन्यालाई हस्तान्तरण गरिएको थियो । उनको देहान्तको समाचार र पुरस्कारको निर्णयको समाचार एकैदिन प्रसारण, प्रकाशन भएको थियो ।
२०४६ सालको आन्दोलन सफल भएको उपलब्धि उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्य मनोनित भएकी थिइन् ।
भारतको दार्जिलिङमा जन्मिएकी उनले नेपाल बस्न थालेपछि नेपाली नागरिकता लिन पहल गरेपनि पाउन सकेकी थिइनन् । आजीवन नेपाली नागरिकता नलिएकी उनलाई विना नागरिकता नै देहान्त हुनु एक दिनअघि थप उपचारका लागि विदेश लैजाने प्रयोजनका लागि नेपाली पासपोर्ट प्रदान गरिएको थियो प्रधानमन्त्रीको निर्देशनमा ।
२०५० साल वैशाख ५ गते बिहान निधन भएकी पारिजातलाई अन्तिम दर्शनका लागि टुँडिखेलको खुल्लामञ्चमा राखिएको थियो । उनको शव सुरुमा महिलाहरुले नै उठाएका थिए र टुँडिखेलदेखि राष्ट्रिय नाचघर छेउसम्म महिलाहरुले नै पुर्याएका थिए । त्यसपछि मात्र पुरुषहरुले काँध दिएका थिए ।
पारिजातको योगदानका लागि पछि नेपाल सरकारले उनको मुहारचित्र अङ्कित हुलाक टिकट प्रकाशन गरेर सम्मान गर्यो । सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङको पहलमा उनले स्थापना गरेको निर्माण प्रकाशनबाट उनका समग्र रचनाहरु ६ भागमा ‘संकलित रचनाहरु’ का रुपमा प्रकाशित भयो ।
www.onlinekhabar.com बाट साभार्
No comments:
Post a Comment