Friday, April 19, 2024

पारिजातको सम्झना - दिल साहनी

पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटलमा देखेको हूँ। भेटेको हूँ ।त्यतिबेला उनले मलाई काठमाण्डुमा देखे जस्तो लाग्यो भनिन् । मैले जबाबमा भनेको थिएँ - म काठमाण्डु कहिले गएको छैन । त्यतिबेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् । दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायकको जग्दम्भा हलमा भेटेको हूँ । त्यतिबेला कमरेड मोहन बिक्रम सिंहले भाषण गरिरहेका थिए । त्यतिबेला पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । मार्क भने गरेकी रहिछन् - एम बीको भाषण गंभीरतापूर्वक सुनिरहेको व्यक्तिको रुपमा । सो कुरा उनकै मुखबाट सुनेको थिएँ । तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ । उनी दिल्लीतिरबाट बनारस आउँदा विशेष गरी मोदनाथ प्रश्रितको अगुवाईमा बनारसमा पारिजातको उपस्थितिमा साहित्य चर्चा कार्यक्रम राखिएको थियो । त्यसमा प्रदीप गिरी पनि उपस्थित थिए र बोलेका पनि थिए । चौथोपल्ट मैले पारिजातलाई भैरहवामा भेटेको थिएँ । सिद्धार्थ साहित्य परिषद्को आयोजनामा रत्न राज्य लक्ष्मी हाई स्कूलमा उनको सम्मानमा साहित्यक भेटघाट कार्यक्रम राखिएक थियो ।त्यसमा मैले -देश कसको हातमा छ - भन्ने कविता सुनाएको थिएँ । पारिजातलई मेरो त्यो कविता निकै मन परेछ ।उनले मसित त्यो कविता मागेर आफ्नो सम्पादनमा प्रकाशित उत्साहमा प्रकाशित गरेकी थिइन् । तर त्यही कविताको कारण प्रत्रिका पंचायती प्रशासनले जब्त गर्यो ।पछि चार लाइनमा कालो पोतेर बितरण गर्न दियो । त्यस पछि त मेरो पारिजातसित उनकै निवासमा धेरैपल्ट भेट भएको थियो । म काठमाण्डौं जाँदा भरसक समयले साथ दिएसम्म पारिजातलाई भेट्दथें । एकपल्ट मैले पारिजातलाई उनको निवासमा भेट्दा उनले भनेकी थिइन् - म कसैसित भेटघाट गर्न चाहान्नथें । मलाई नभेट्नु भनेर राजधानीका सबै साथीहरूलाई खबर गरेकी थिएँ । तपाईं आउनु भएछ । मैले उनलाई तुरुन्त भने थाहा नपाएर म आएछु । म जान्छु त ।त्यसको प्रतिक्रियामा उनले भनिन् - अब आइत हाल्नु भयो । बस्नुस् । त्यस पछि हामीबीच बिबिध विषयमा कुराकानी भए । उनी त्यतिबेला परिभाषित आँखा उपन्यास लेख्दैथिइन् । उनले मलाई भनिन् उपन्यास लेख्दा उनी सम्पूर्ण रुपमा एकान्त तथा सुनसान चाहान्छिन् । उनले लेख्दा उनलाई कुनै चरा चुरुङ्गी पशु पक्षी आदिको आवाज सुन्न नपरोस् । कुनै कुराले उनको ध्यान भंग नगरोस् । पारिजात प्रज्ञा प्रतिष्ठानसित असन्तुष्ठ थिइन् । उनले मलाई भनेकी थिइन् - तपाईंले प्रज्ञा प्रतिष्ठानमा कुन‌ै रचना नपठाउनु होला । प्रज्ञा प्रतिष्ठानमा मैले बैरागी काइला र मोहन कोइरालालई भेट्दा उनीहरूले मलाई रचना पठाउनुहोला भनेका थिए । म समेत रचना पठाउने मनस्थितिमा थिइन् ।

000

www.facebook.com

( दिल साहनीको फेसबुकबाट)

No comments:

Post a Comment