काठमाडौँ, २०८३ असोज २३
पारिजात स्मृति केन्द्रको आयोजनामा ‘क्यानभासमा पारिजात’ शीर्षकको चित्रकला प्रदर्शनी सुरु भएको छ । पारिजात स्मृति केन्द्रको कार्यालयमा सुरु भएको उक्त प्रर्दशनीमा नेपाली साहित्यकी विशिष्ट स्रष्टा पारिजातका कृतिहरूमाथि आधारित रहेर पन्ध्र जना कलाकारले सिर्जना गरेका सोर ओटा चित्रकला राखिएका छन् । पारिजातको कृतित्व, वैचारिक चेतना र साहित्यिक योगदानलाई चित्रकलाका माध्यमबाट अभिव्यक्त गर्ने उद्देश्यले आयोजित प्रदर्शनी सात दिनसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, बासु क्षितिज, पल्साङ्मो लामालगायत कलाकारका सिर्जनाहरू समेटिएका छन्। कलाकारहरूले पारिजातका कविता, कथा, उपन्यास र संस्मरण कृतिमा आधारित रहेर पारिजातका अनुभूतिलाई दृश्यकलाका माध्यमबाट अभिव्यक्त गरेका छन् । प्रदर्शनीमा बासु क्षितिजले पारिजातको कविता‘मृत्यु’, नारदमणि हार्तम्छालीले ‘नैकापे सर्किनी’ कथा, देवेन्द्र थुम्केलीले ‘भावुकताको सूर्यास्त, अनास्थाको अन्धकार’ संस्मरण, सौरगङ्गा दर्शनधारीले ' बलात्कृत आँसु' कथा लगायत विभिन्न विधामा आधारित सिर्जनामा गरिएका चित्रकला समेटिएका छन् । यी चित्रकलामा पारिजातका साहित्यिक कृतिमा अभिव्यक्त जीवनबोध, मानवीय संवेदना, सामाजिक यथार्थ र रूपान्तरणको दृष्टिकोणलाई चित्रकलासँग जोडेर प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
इन्दिरा दलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्दै पारिजातको साहित्यिक योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले कुनै साहित्यकारका रचनामाथि केन्द्रित रहेर गरिएको यो नेपालको पहिलो चित्रकला प्रदशनी भएको जानकारी दिँदै यसको ऐतिहासिक महत्त्व रहेको र यस प्रर्दशनीले पारिजातको साहित्यिक व्यक्तित्व, विचार र अनुभूतिलाई दृश्यात्मक रूपमा दर्शकसमक्ष पुर्याउन सफल भएको बताउनुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यचिव देवेन्द्र ‘थुम्केली’ले चित्रकलाको इतिहासका साथै पन्ध्र जना कलाकार र उनीहरूका सिर्जनात्मक योगदानबारे चर्चा गर्नुभएको थियो । प्रदर्शनीमा सहभागी कलाकार सौरगङ्गा दर्शनधारीले आफ्नो सिर्जनात्मक अनुभव प्रस्तुत गर्दै पारिजातको साहित्यिक चेतनालाई चित्रमा उतार्ने प्रक्रियाबारे चर्चा गर्नुभयो । उहाँले पारिजातको कथा ‘साल्गीको बलात्कृत आँसु’सँग सम्बन्धित सिर्जनात्मक अनुभूति र त्यसलाई कलात्मक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयासबारे आफ्नो अनुभव सुनाउनुभयो ।
पारिजात स्मृति केन्द्रका तर्फबाट डा. महेश मास्केले पारिजातको कृतित्व, केन्द्रका गतिविधि तथा प्रदर्शनी आयोजनाको उद्देश्यबारे चर्चा गर्नुभयो । उहाँले पारिजातका साहित्यिक सिर्जना, उहाँको चेतना र सामाजिक रूपान्तरणप्रतिको दृष्टिकोणलाई विभिन्न कलामाध्यमबाट नयाँ पुस्तासम्म पु¥याउनु यस कार्यक्रमको महत्त्वपूर्ण उद्देश्य रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा स्मृति केन्द्रका संरक्षक सुकन्या वाइवाले पारिजातको साहित्यिक योगदानको संरक्षण र प्रवद्र्धनमा यस्ता यस कार्यक्रमको ऐतिहासिक महत्त्व औँल्याउनुभयो । उहाँले पारिजातको व्यक्तित्व र विचारलाई वर्तमानमा अझ जीवन्त तुल्याउन यस कार्यक्रमको ऐतिहासिक महत्त्व रहेको जनाउनु भयो ।
पारिजातको साहित्यिक व्यक्तित्व, वैचारिक चेतना र सिर्जनात्मक योगदानको स्मरणसँगै साहित्य तथा ललितकलाबिच संवाद स्थापित गर्न प्रदर्शनी महत्त्वपूर्ण रहेको छ ।
000
समाचार स्रोत : अमृता रेग्मी
















































































