Thursday, August 25, 2022

पारिजात स्मृति केन्द्रको २९ औं साधारणसभा सम्पन्न

पारिजात स्मृति केन्द्रको २९ औं साधारणसभा यही २०७९ भाद्र ११ गते शनिबार पारिजात स्मृति भवन, म्हेपी, नयाँबजारमा सम्पन्न भएको छ । स्मृति केन्द्रका कार्यवाहक अध्यक्ष इन्दिरा दलीको अध्यक्षतामा भएको साधारणसभाले महासचिव मातृका पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । साधारणसभाले वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको संयोजकत्वमा शार्दुल भट्टराई र वीरप्रसाद भन्सारी सदस्य रहनुभएको एक निर्वाचन मण्डल गठन गर्‍यो ।  साधारणसभाले अध्यक्ष - डा. राजेन्द्रप्रसाद अधिकारी,   उपाध्यक्ष - इन्दिरा दली , महासचिव - दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्ष - देविका तिमल्सिना र सदस्यहरूमा डा. महेश मास्के, डा. विन्दु शर्मा,  मातृका  पोखरेल , सीता शर्मा र रानिशोभा महर्जन रहनुभएको एक कार्यसमितिको चयन गरेको थियो  । पहिलो सत्रमा पारिजात स्मृति केन्द्रसमेत  प्रकाशक रहने गरी प्रकाशन भएको 'वेदना' साहित्यिक त्रैमासिकको नयाँ अङ्क विमोचन गरिएको थियो । स्मृति केन्द्रका संरक्षक सुकन्या वाइवाको सभापतित्वमा भएको उक्त समारोमा 'वेदना' पत्रिकाको ऐतिहासिक सन्दर्भका बारेमा साहित्यकार शार्दुल भट्टराईले प्रकाश पार्नुभएको थियो ।    

सौर्य  २०७९ भदौ १२ गते  

                                                

पारिजात केन्द्रको अध्यक्षमा डा. अधिकारी



काठमाडौं । पारिजात स्मृति केन्द्रको २९औं साधारणसभाले डा. राजेन्द्रप्रसाद अधिकारीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । म्हेपी, नयाँबजारस्थित पारिजात स्मृति भवनमा शनिबार भएको साधारणसभाले उपाध्यक्ष इन्दिरा दली, महासचिव दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्ष देविका तिमल्सिना र सदस्यहरुमा डा. महेश मास्के, मातृका पोखरेल, सीता शर्मा, डा. विन्दु शर्मा र रानिशोभा महर्जनलाई निर्वाचित गरेको छ ।

निर्वाचनअघि स्मृति केन्द्रका कार्यवाहक अध्यक्ष इन्दिरा दलीको अध्यक्षतामा भएको साधारणसभाले महासचिव मातृका पोखरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

साधारणसभाले वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको संयोजकत्वमा शार्दुल भट्टराई र वीरप्रसाद भन्सारी सदस्य रहेको एक निर्वाचन मण्डल गठन गरेको थियो । पहिलो सत्रमा पारिजात स्मृति केन्द्रसमेत प्रकाशक रहने गरी प्रकाशन भएको ‘वेदना’ साहित्यिक त्रैमासिकको नयाँ अंक विमोचन गरिएको थियो । केन्द्रका संरक्षक सुकन्या वाइवाको सभापतित्वमा भएको उक्त समारोहमा उक्त पत्रिकाको ऐतिहासिक सन्दर्भका बारेमा साहित्यकार शार्दुल भट्टराईले प्रकाश पारेका थिए ।

सौर्य अनलाइन २०७९ भदौ १२ गते  























 



पारिजात स्मृति केन्द्रको २९ औं   साधारणसभामा प्रस्तुत प्रतिवेदन


सुप्रसिद्ध साहित्यकार पारिजातका परिवर्तनमुखी सिर्जना र जीवनकर्मलाई जनताको बिचमा पुर्याउँदै  चेतनासम्पन्न  बनाउने अभियानस्वरुप स्थापना गरिएको पारिजात स्मृति केन्द्रले आजसम्म आईपुग्दा २९ वर्ष पार गरेको छ । हामी आज यही  समाज रुपान्तरणको गौरवपूर्ण अभियानमा समर्पित संस्थाको २९ ‌औ साधारणसभामा उपस्थित भएका छौं  । यस अवसरमा म स्मृति केन्द्रका सरक्षक सुकन्या  वाईवा लगायत अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।

   गएको वर्ष २०७८ पुस १० गते हामीले स्मृति केन्द्रको २८ औं साधारणसभा सम्पन्न गरेका थियौं  । म यहाँहरु समक्ष त्यसयता गरिएका केही कार्यहरु र आगामी योजनाहरुका वारेमा संक्षिप्त चर्चा गर्ने  छु ।


वेदनाको पुन : प्रकाशन

नेपालको प्रगतिवादी साहित्यको इतिहासमा महत्वपूर्ण भूमिका रहेको 'वेदना' साहित्यिक त्रैमासिक पुन: प्रकाशन गर्ने निर्णयवमोजिम प्रकाशन आरम्भ भएको छ ।

पारिजात सम्मान एवम् पुरस्कारवारे

पारिजात स्मृति केन्द्रको स्थापना भएकै अर्को वर्ष देखि सुरु गरिएको पारिजात संघर्षशील नारी सम्मानबाट हालसम्म २७ जना र  पारिजात सिर्जन सम्मानबाट   हालसम्म २७ जनाले सम्मान प्राप्त गरिसक्नु भएको छ । २०५८ सालदेखि पारिजात  पाण्डुलिपी पुरस्कारको रुपमा स्थापित यो पुरस्कार २०७० सालदेखि वाल साहित्यमा कृयाशील विशिष्ट  स्रस्टालाई प्रदान गरिन्छ । हालसम्म यो पुरस्कार आठ जनालाई प्रदान गरिसकिएको छ । २०५८ सालमा   स्थापित पारिजात कला सम्मान हालसम्म २० जना कलाकारले प्राप्त गर्नुभएको छ । गत वर्ष देखि सबै सम्मान/पुरस्कारको  राशी रू. १५000/-  गरिएको छ ।

गोष्ठी एवम् परिचर्चा कार्यक्रम

पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक संघको संयुक्त आयोजनामा मकवानपुरको हेटौडामा यही  २०७८ फागुन २४ गते 'प्रगतिशील  साहित्यको वर्तमान अबस्था' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । पारिजात स्मृति केन्द्र र मोफसलमा रहेका साहित्यिक संघसंस्थाहरुसंग सहकार्य गर्ने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको थियो।

भवन निर्माण र विस्तार

पारिजात स्मृति भवनको तेस्रो तला  थप गरी भर्याङ छोप्ने कार्य भईसकेको  छ । सभाहललाई तेस्रो तलामा स्थानान्तर गरी  दोस्रो तलालाई पारिजात संग्रहालयका  रुपमा संचालन गर्ने योजना अनुरुप कार्य भईरहेको छ । भुई तलामा चार वटा सटर निर्माण भईसकेका छन् र एउटा निर्माणाधिन अवस्थामा रहेको छ। सटरहरु भाडामा लगाएपछि स्मृति केन्द्रका नियमित कार्य गर्न आर्थिक रुपमा  धेरै सहज हुने हामीले विश्वास गरेका छौं ।

आगामी  कार्ययोजनावारे छोटो चर्चा

पारिजात स्मृति केन्द्रले गत कार्यकालमा सम्पन्न गर्ने गरी केहि कार्ययोजना तय गरेको थियो । ती मध्ये केही  कामहरु सुरु हुनै सकेका  छैनन् र केही कामहरु आंशिकमात्र भएका छन् ।

पारिजात जर्नल प्रकाशन गर्नेबारे

पारिजातको साहित्यमा केन्द्रित भएर वार्षिक रुपमा प्राज्ञिक स्तरको एउटा जर्नल प्रकाशन गर्ने निर्णय गरी काम अघि वढाईएको छ।

पारिजात संग्राहलय र पुस्तकालय निर्माण गर्ने वारे

स्मृति भवनको बिचको तलामा पारिजात संग्राहलय बनाउने कार्य आरम्भ भईसकेको छ । सभाहललाई तेस्रो तलामा स्थानान्तरण  गरेपछि संग्राहलय वनाउने कार्य व्यवस्थित रुपमा अघि वढ्ने छ ।

पारिजात परिसम्वाद र सिर्जना यात्रा

पारिजात परिसम्वाद र सिर्जना यात्राका  केही  शृंखला  सम्पन्न भईसकेपछि कोभिडको माहामारी सुरु भयो । त्यसपछि वन्द भएका यी  नियमित साहित्यिक /वैचारिक/सांगितिक शृङ्खलाहरु अघि वढाउने योजना वनिसकेको छ ।

सम्पर्क विस्तार गर्ने

दुई वर्ष अघि योजना बनाईएको पारिजातको  सिर्जना र जीवनकर्मसँग  नजिक रहेका  नेपाल बाहिर विभिन्न देशमा वसिरहेका नेपाली हरुका बिचमा संवाद र छलफल गर्ने उदेश्यले गठन गर्ने योजना वनाइएको Friends of  Parijat  कार्यक्रम पनि अघि बढ्ने  क्रममैं  छ । आगामी दिनमा यसलाई महत्व दिएर अघि वढाउन जरुरी छ।

स्मृति ग्रन्थको पुनर्प्रकाशन   गर्नेवारे

पारिजात स्मृति ग्रन्थ हाल अप्राप्य रहेको र धेरैतिरको पाठकहरुको मागवमोजिम  पुनर्प्रकाशन  गर्न प्रकाशन संस्था फिनिक्स बुक्ससंगको सम्झौता  पश्चात प्रकाशनको तयारी कार्य अघि बढिरहेको छ ।

पारिजातको  अप्रकाशित आत्मसंस्मरण प्रकाशन गरिने 

साहित्यकार पारिजातको अप्रकाशित वहुचर्चित आत्मसंस्मरण  केन्द्रका संरक्षक सुकन्या  वाईवासँग  रहेको अवस्थामा थियो । त्यसलाई प्रकाशन गर्न उपयुक्त ठानेर केन्द्रले उक्त पाण्डुलिपि सुकन्या  वाईवासँग ५० प्रतिशत लेखकस्व दिने सम्झौतासहित प्रकाशनको सर्वाधिकार पारिजात स्मृति केन्द्रले लिएको छ। उक्त आत्मसंस्मरण प्रकाशनको कार्य अघि वढेको छ । केही समय भित्रै उक्त पुस्तक प्रकाशित  हुनेछ ।

साधारणसभाका आदरणिय सदस्यज्यूहरू ,

पारिजात स्मृति केन्द्रको २८  औं साधारणसभा पछाडी  कार्यसमितिको सातवटा बैठक सम्पन्न भएका  छन् । आगामी  दिनमा गरिनुपर्ने कार्यहरुका वारेमा यहाँहरुको सल्लाह सुझावको हार्दिक  अपेक्षा गर्दछु।


                                        मातृका पोखरेल

                                          महासचिव

मिति : २०७९ भाद्र ११ गते 

 

No comments:

Post a Comment