=====================================================
पारिजात स्मृति सभा
२०८२
विषयसूची
साहित्यकार पारिजातको सङ्क्षिप्त परिचय
पारिजात सृजन सम्मान २०८१
पारिजात बालसाहित्य सम्मान २०८१
पारिजात सङ्घर्षशील नारी सम्मान २०८१
पारिजात कला सम्मान २०८१
पारिजात स्मृति केन्द्रको परिचय, उद्देश्य र विशेष अनुरोध
हालसम्म पारिजात सम्मान, पुरस्कार र प्रशंसापत्र प्राप्त गरेका प्रतिभाको नामावली
पारिजात स्मृति केन्द्रका पदाधिकारीहरू
पारिजात स्मृति केन्द्रका आजीवन सदस्यहरू
साहित्यकार पारिजातको सङ्क्षिप्त परिचय
वि.सं. १९९० फागुन ३० गते डा. केएस वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको घरमा एउटी बालिकाको जन्म भयो । बालिकाको नाम राखियो— विष्णुकुमारी वाइबा । तिनै विष्णुकुमारी वाइबा नेपाली साहित्यमा पारिजातका नामले प्रख्यात हुनुभयो ।
साहित्यकार पारिजातको बाल्यकाल अन्य बालबालिकासरह बित्यो । उहाँको स्वभाव भने अरूको भन्दा भिन्न थियो । उहाँ गम्भीर, निडर, चिन्तनशील र अन्तर्मुखी हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य सानैदेखि राम्रो थिएन । १३ वर्षको कलिलै उमेरदेखि समातेको हाडजोर्नी (Rheumatoid
Arthritis) को रोग उहाँको जीवनपर्यन्त रह्यो ।
साहित्यकार पारिजातलगायत उहाँको सम्पूर्ण परिवारको जीवनमा ठुलो आघात परेको घटना थियो— पारिजातका दाजु शिवको मृत्यु । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा पारिजातका प्रिय दाजु शिवको मृत्यु भएको थियो । त्यस घटनाले विचलित भएर पारिजातलगायत वाइबा परिवार बाबु डा. केएस वाइबासँग २०१० सालमा काठमाडौँ आइपुग्यो । त्यस बेला पारिजातको उमेर २० वर्षको थियो । त्यही वर्ष पद्मकन्या विद्याश्रम, डिल्लीबजारबाट उहाँले एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आइए र २०१५ सालमा बिए उत्तीर्ण गर्नुभयो । उहाँले अङ्ग्रेजी विषय लिएर एमएको अध्ययन आरम्भ त गर्नुभयो तर रोगका कारण परीक्षा दिन सक्नुभएन । त्यहीँनेरबाट उहाँको पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट स्नातकोत्तरको प्रमाणपत्र प्राप्त गर्ने सिलसिला टुटे पनि पारिजातको भावुक मन नेपाली साहित्यको अध्ययनसँग जोडिइसकेको थियो ।
पारिजात २०१३ सालमा धरती पत्रिकामा दुईओटा कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गर्नुभयो र २०१४ सालमा युवा कविद्वारा स्थापित ‘रोधीघर’ नामक साहित्यिक यात्रामा सामेल हुनुभयो । २०१४ सालमै उहाँको पहिलो पुस्तकका रूपमा आकाङ्क्षा कवितासङ्ग्रह पनि प्रकाशित भयो ।
घरको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न उहाँले २०१६ सालदेखि २०१८ सालसम्म मदन मेमोरियल स्कुल, पाटनमा शिक्षकाका रूपमा काम गर्नुभयों । त्यही बेलादेखि पारिजातलाई रोगले निकै च्यापेको थियो । हावापानी बदल्दा बिसेक होला कि भन्ने आशामा २०१८ सालमा उहाँ स्कुलको जागिर छाडेर एक महिनाका लागि पुनः दार्जिलिङ फर्किनुभयो । उहाँ आठ वर्षपछि दार्जिलिङ फर्किनुभएको थियो तर रोग झन्झन् बढ्दै गएपछि उहाँ २७ वर्षको कलिलो उमेरमा २०२१ सालदेखि मृत्युपर्यन्त ओछ्यानमै रहनुभयो ।
नेपाली साहित्यमा कविताका माध्यमबाट आफ्नोे चिनारी सुरु गरेको भए तापनि पारिजात गद्य लेखनमा निरन्तर लाग्दै आउनुभएको थियो । पाँचओटा उपन्यास ‘सङ्घर्ष’, ‘वरपीपल’, ‘मानव’, ‘अन्तर्यामी’ र ‘शारदा’ चित्तबुझ्दो नभएकाले जलाइदिएको भन्ने उहाँकै भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ । यो लेखाइको समय थियो— २०१८ सालदेखि २०२१ सालसम्म । लामाले राखिदिएको ‘छेकुडोल्मा’ र न्वारनमा राखिएको नाम ‘विष्णुकुमारी वाइबा’लाई ओझेलमा पारेर उहाँले आफूलाई नेपाली साहित्यमा पारिजातका रूपमा स्थापित गराउनुभयो । पारिजातका हालसम्म शिरीषको फूल (२०२२), महत्ताहीन (२०२५), बैँसको मान्छे (२०२९), तोरी बारी बाटा र सपना (२०३३), पर्खालभित्र र बाहिर (२०३४), अन्तर्मुखी (२०३५), उसले रोजेको बाटो (२०३५), अनिदो पहाडसँगै (२०३९), परिभाषित आँखाहरू (२०४६) र बोनी (२०४८) गरी दसओटा उपन्यास, आदिम देश (२०२५), सडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३) र बधशाला जाँदा आउँदा (२०४९) कथासङ्ग्रह, आकाङ्क्षा (२०१४), पारिजातका कविता (२०४४) र बैँसालु वर्तमान (२०५०) कवितासङ्ग्रह तथा जुठी दमिनी (२०५५) बालगीतिकाव्य प्रकाशित छन् । त्यसै गरी उहाँका आत्मसंस्मरणका रूपमा धुपी, सल्ला र लालीगुराँसको फेँदमा (२०४३), एउटा चित्रमय सुरुवात (२०४५), अध्ययन र सङ्घर्ष (२०५१) तथा भावुकताको सूर्यास्त अनास्थाको अन्धकार (२०८१) प्रकाशित छन् भने लेखनिबन्धसङ्ग्रहका रूपमा आधी आकाश (२०४८) र पारिजातका सङ्कलित रचना (२०५४) कृति पनि प्रकाशित भएका छन् । पारिजातको नाटकसङ्ग्रह पारिजातका नाटक (२०६५) पनि सार्वजनिक भएको छ । उहाँको शिरीषको फूल (२०२२) उपन्यासले २०२२ सालको मदन पुरस्कार प्राप्त गरेको हो ।
पारिजात २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरूद्ध विद्रोही सङ्गीतकार र लेखक÷कविहरूको एउटा सशक्त समूहमा पनि संलग्न हुनुभयो । युवाहरूको त्यो जागरूक समूहले आफ्नोे विद्रोहको स्वर गाउँगाउँ र सहरसहरमा गुन्जाउन थाल्यो । त्यस समूहमा रहेर पारिजात पनि विभिन्न ठाउँमा पुग्नुभयो । त्यस सक्रियताका क्रममा उहाँले आफ्नोे शरीरको अशक्तताको पनि कुनै पर्वाह गर्नुभएन । त्यस समूहको नाम थियो— राल्फा । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृतिको विकास र प्रगतिशील लेखनका क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनपुग्यो । त्यसै बिच पारिजातको स्वास्थ्य अझै खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो, त्यसमाथि क्षयरोग पनि थपियो । पछि अल्सर र दम पनि थपियो । विभिन्न रोगबाट मुक्ति पाउन उहाँ २०२६ साल, २०२९ साल, २०३० साल र २०३१ सालमा गरी पटक–पटक गरी उपचार गर्न भारत जानुभएको थियो । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उहाँले आफ्नोे मनलाई सम्हाल्नुभयो र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिनुभयो । त्यही अठोटसँगै उहाँले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौम) को सदस्यता लिनुभयो । उहाँ महिलामुक्तिको काममा पनि सक्रिय हुन थाल्नुभयो । अखिल नेपाल महिला सङ्घको अध्यक्ष बन्दै उहाँ भूमिगत काममा समेत संलग्न रहनुभयो ।
पारिजात २०३५÷२०३६ सालको आन्दोलनमा निकै नै सक्रिय रहनुभएको थियो । २०३६ सालमा वामपन्थी लेखक–कलाकारहरूको साझा मोर्चाका रूपमा ‘प्रगतिशील लेखक कलाकार सङ्घ’ को स्थापना गर्नका लागि पनि उहाँको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
गीत–सङ्गीतमा पनि साहित्यकार पारिजातको औधी रुचि थियो । वेदना सांस्कृतिक समूह, इन्द्रेणी सांस्कृतिक समाज (इसास)सँगै पटक–पटक नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न सहरमा भएका सांस्कृतिक कार्यक्रमहरूमा उहाँ सहभागी हुनुभएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाज (इसास) को मानार्थ अध्यक्ष हुनुहुन्थ्यो ।
पारिजात २०४६ सालको जनआन्दोलनमा पनि अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न उहाँ क्रियाशील रहनुभयो । २०४६ चैत ३ गते लेखक, कवि तथा कलाकारले कालोपट्टी बाँधी विरोध प्रदर्शन गरेका थिए । त्यो ऐतिहासिक काममा पारिजात अघिल्लो पङ्क्तिमा बसेर सहभागी हुनुभएको थियो । पारिजात प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानलाई प्रजातान्त्रीकरण गर्नुपर्ने मागसहित सङ्घर्षमा ओर्लिएको ‘प्राज्ञिक सङ्घर्ष समिति’को संयोजक हुनुहुन्थ्यो । उहाँ प्राज्ञको सही पहिचान, मापदण्ड र परिचालनका निम्ति पर्याप्त प्रयासरत रहनुभयो ।
पारिजातले नयाँ पुस्ताका लेखकलाई अत्यन्तै प्रोत्साहन दिनुहुन्थ्यो । पारिजातको निवास म्हेपी नयाँ–पुराना सबै साहित्यकारको जमघटको थलो थियो । उहाँको कोठाको सानो टेबलमा नयाँ साहित्यिक प्रकाशनहरू बिक्रीका लागि राखिएका हुन्थे । लेखकका निम्ति नयाँ पुस्तक बिक्री गर्ने राम्रो स्थान थियो त्यो ।
उहाँले मासिक रूपमा काठमाडौँमा नियमित सञ्चालन हुने ‘प्रतिभा प्रवाह’ र ‘साहित्य सन्ध्या’का साहित्यिक कार्यक्रममा सहभागिता जनाउनुभयो । ती कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइन्थ्यो । त्यस क्रममा उहाँले नयाँ पुस्ताका सिर्जना सुन्नुहुन्थ्यो र उचित सल्लाह दिनुहुन्थ्यो ।
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ–संस्थामा समेत संलग्न हुनुहुन्थ्यो । उहाँ नेपाल मानवअधिकार सङ्गठनका उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चका संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष तथा त्रिवि सभाकी सदस्य हुनुहुन्थ्यो । आउटराइट इन्टरनेसनल (Outright
International), फेमिनिस्ट एसोसिएसन (Feminist
Association), सोसाइटी फर ओमेन जिओग्राफर (Society
for Women Geographer), एम्नेस्टी इन्टरनेसनल (Amnesty
International) आदि अन्तरराष्ट्रिय सङ्घ–संस्थासँग पनि पारिजात सम्बन्धित हुनुहुन्थ्यो ।
पारिजातले मदन पुरस्कार, गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाउनुभएको थियो । उहाँलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’द्वारा अभिनन्दन गरिएको थियो । पारिजातद्वारा लिखित पुस्तक शिरीषको फूलको अङ्ग्रेजी अनुवाद ब्लु माइमोसा -Blue Mimosa) लाई अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटीको पाठ्यक्रममा राखिएको थियो ।
उहाँलाई मन पर्ने रङ्ग हरियो हो भने मन पर्ने ऋतु वर्षा हो । त्यस्तै, मन पर्ने फूल गुराँस हो । छोइला, मोमो, सुख्खा रोटी, काभ्रो, चिन्डो, टमाटर र कोइरालो उहाँले खान मन पराउने चिजहरू हुन् ।
दिनहरू बित्दै जाँदा साहित्यकार पारिजात झन्झन् शिथिल बन्दै जानुभयो । दीर्घरोगकै कारण वीर अस्पतालको विशेष उपचार कक्षमा उपचार गराउँदा गराउँदै २०५० साल वैशाख ५ गते बिहान ४ बजे उहाँको निधन भएको थियो ।
पारिजात सृजन सम्मान २०८१
पारिजात सृजन सम्मान २०८१ बाट सम्मानित साहित्यकार बिना थिङ
पारिजात सिर्जन सम्मान–२०८१ प्रदान गरिएकी बिना थिङको जन्म २०३७ सालमा आमा सरोदा तामाङ र बुबा टिएस तामाङकी छोरीका रूपमा लामखुरे हेटौँडामा भएको होे । स्नातकोत्तरसम्मको अध्ययन गरेकी थिङ शिक्षण पेसामा संलग्न रहेर समसामयिक मुद्दाहरूमा केन्द्रित विचारविमर्शमा सरिक हुँदै साहित्यिक लेखनलाई पनि सोहीअनुरूपको जनपक्षीय वैचारिक सम्बल प्रदान गर्दै आएकी प्रतिभा हुन् ।
बिना थिङ २०६८ सालदेखि कविता र कथा विधामा कलम चलाइरहेकी छिन् अनि कान्तिपुर, अन्नपूर्ण, नागरिक दैनिक, नयाँ पत्रिका आदि राष्ट्रिय दैनिक पत्रिकाहरूमा वैचारिक लेख पनि लेख्दै आएकी छन् । नेपालीसँगै तामाङ भाषामा पनि कलम चलाइरहेकी थिङका छुकी (२०६९) र याम्बुनेर (२०७७) कथासङ्ग्रह तथा रातो घर (२०७२) कवितासङ्ग्रह प्रकाशित छन् । सीमान्तीकृत समुदायका जनजीविकाका सवाल उठाउनमा र महिलामाथिको उत्पीडनविरुद्धको प्रतिरोधी चेतना विस्तारमा बलशाली देखिएका उनका रचनामा एकाधिकार पुँजीवादको मतियार बनेको राज्यव्यवस्थाले रैथाने ज्ञान, सिप र पुख्र्यौली भूमिबाट बेदखल गरेका आदिवासी समुदायका कहरहरूलाई मुखर बनाइएको छ । सबै किसिमका विभेदको अन्त्यका लागि उत्पीडित समुदायले गर्ने प्रतिरोधमा जोड दिँदै अग्रगामी र रूपान्तरणकारी चिन्तनको अभिव्यक्ति दिनु नै उनको लेखनका महत्त्वपूर्ण पक्ष हुन् ।
‘बहुभाषिक कविता प्रतियोगिता’ (२०७१) तथा ‘बाह्रखरी डिसहोम कथाप्रतियोगिता’ (२०७६) मा प्रथम स्थान हासिल गरेर पुरस्कृत भइसकेकी बिना थिङलाई ‘पारिजात सृजन सम्मान २०८१’ बाट सम्मानित भएकोमा हार्दिक बधाई छ ।
पारिजात बालसाहित्य सम्मान २०८१
पारिजात बालसाहित्य सम्मान २०८१ बाट सम्मानित बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ
पारिजात बालसाहित्य सम्मान–२०८१ प्रदान गरिएका तेजप्रकाश श्रेष्ठको जन्म २००३ सालमा बैतडीमा भएको हो । स्नातकोत्तरसम्मको अध्ययन गरेका श्रेष्ठ निजामती सेवामा संलग्न रहेर बालसाहित्य लेखन, अनुसन्धान र सम्पादनका साथै संस्थागत माध्यमबाट समेत बालसाहित्यका क्षेत्रमा क्रियाशील रहेका छन् । जुनेली साँझ (२०३८) शीर्षकको बालकथासङ्ग्रहबाट आरम्भ भएको उनको बालसाहित्यिक लेखनको यात्रामा हालसम्म कथासङ्ग्रह, चित्रकथा, एकाङ्की, कविता, निबन्ध, उपन्यास, बालसामान्य ज्ञान र बाल विश्वकोश विधाका पाँच दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने दुई दर्जनभन्दा बढी बालसाहित्यका कृतिको सम्पादन पनि उनले गरेका छन् ।
लेखनमा नेपाली, अङ्गेजी र नेपाल भाषामा कलम चलाएका तेजप्रकाश श्रेष्ठले नेपाली बालसाहित्यमा इतिहास, मिथक, विज्ञान र यथार्थपरक घटनाको सहज र सुरुचिपूर्ण प्रस्तुति दिएका छन् । यथार्थपरक र बालोपयोगी लेखनलाई स्थापित गर्नमा महत्त्वपूर्ण योगदान गरेका उनी बालसाहित्यका एक दर्जन जति गोष्ठीमा सहभागी पनि भइसकेका छन् । उनले नेपाल बालसाहित्य समाज, बालसंसार, नियात्रा समाज, लोकवार्ता तथा संस्कृति समाज आदि साहित्यिक संस्थाहरूमा रहेर बालसाहित्यसँगै समग्र नेपाली साहित्यको उत्थानका निम्ति समेत काम गरेका छन् । ‘साझा बालसाहित्य पुरस्कार’ (२०६१), ‘रमेश विकल बालसाहित्य पुरस्कार’ (२०७२), ‘कविताराम बालसाहित्य सम्मान’ (२०७२), ‘देवकुमारी थापा बनिता बालसाहित्य पुरस्कार’ (२०७२), ‘नूरगङ्गा बालसाहित्य प्रतिभा पुरस्कार’ (२०७३) जस्ता पुरस्कारबाट सम्मानित भइसकेका तेजप्रकाश श्रेष्ठलाई पारिजात बालसाहित्य सम्मान २०८१ बाट सम्मानित भएकोमा हार्दिक बधाई छ ।
पारिजात सङ्धर्षशील नारी सम्मान २०८१
पारिजात सङ्घर्षशील नारी सम्मान २०८१ बाट सम्मानित राजनीतिक योद्धा डा.विन्दा पाण्डे
सन् १९६६ मा नुवाकोट जिल्लामा जन्मिएकी विन्दा पाण्डेले सन् १९८० देखि अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन् । ‘नेकपा (एमाले) भित्रको महिला सशक्तीकरण’ विषयमा विद्यावारिधि गरेकी उनले सन् १९९१ मा अखिल नेपाल महिला सङ्घमा आबद्ध भएदेखि अहिलेसम्म पनि महिलामुक्तिको अभियानलाई अगाडि बढाइरहेकी छन् । यही सिलसिलामा उनले सन् १०९४—१९९७ सम्म एसियाली महिला समितिको कार्यक्रम संयोजक रहेर काम गरेकी हुन् । सन् १९९३—२०२१ सम्म जिफन्टमा रहेर मजदुरहरूको अधिकारका लागि पनि उनी क्रियाशील रहिन् । सन् २००२ मा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य रहिसकेकी पाण्डेसँग महिला सांसद र महिला नेतृत्वसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, अभियान एवम् कार्यक्रमहरूको लामो अनुभवुसमेत छ । हाल नेकपा (एमाले) को स्थायी समिति सदस्य रहेर उनले पार्टीको अर्थ तथा योजना विभाग सम्हालेकी छन् ।
समानता र सामाजिक न्याय स्थापनाका लागि निरन्तर क्रियाशील विन्दा पाण्डेले लेखनका माध्ययमबाट पनि समाज रुपान्तरणको अभियानलाई अगाडि बढाइरहेकी छन् । सीमान्तीकृत समुदायको उत्थानका लागि उनले गरेको ऊर्जाशील अनुभव र अनुसन्धानमा केन्द्रित समानताका पाइलाहरू, उमन इन नेपाली पलिटिक्स, धर्तीमाथिको दाबी, संसदीय राजनीतिमा लैङ्गिक सहभागिता तथा आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे शीर्षकका पाँचओटा कृतिहरू प्रकाशित छन् । उत्पीडित वर्ग र समुदायको अधिकारका पक्षबाट गरेको राजनीतिक सङ्घर्षको परिणामस्वरुप उनले पहिलो संविधानसभाको सदस्यमा निर्वाचित भई मौलिक अधिकार र निर्देशनात्मक सिद्धान्त समितिको अध्यक्ष (२००८—२०१२) रहेर काम गरेकी छन् । त्यसैे गरी उनी प्रतिनिधि सभाको सदस्य (२०१७—२०२०) तथा गणतान्त्रिक व्यवस्थामा लैङ्गिक समानता र समावेशीकरणकी अभियन्ता र स्रोत व्यक्तिसमेत हुन् । कम्युनिस्ट पार्टी तथा संसदमा रहेर महिलाको अंश र वंशको अधिकारका लागि निरन्तर सङ्घर्ष गरिरहेकी उनी अन्तरपार्टी लोकतन्त्र एवम् पार्टीको आर्थिक शुद्धीकरणका लागि आवाज बुलन्द गर्ने अभियन्ता पनि हुन् । उनले थालेको यस्तो सङ्घर्षमा ऐक्यबद्धतासहित डा.विन्दा पाण्डेलाई ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ २०८० बाट सम्मानित भएकोमा हार्दिक बधाई छ ।
पारिजात कला सम्मान २०८१
पारिजात कला सम्मान २०८१ बाट सम्मानित मूर्तिकार उत्तम डङ्गोल
पारिजात कला सम्मान २०८१ बाट सम्मानित मूर्तिकार उत्तम डङ्गोलको जन्म २०३१ सालमा मिखाबहाल ललितपुरमा भएको हो । २०४० सालमा धातु मूर्तिकला निर्माण गरेर कलाक्षेत्रमा प्रवेश गरेका डङ्गोलको सक्रियता थान्का, परम्परागत पौभा र नेवाः लोककला आदि चित्रकलाका विधामा पनि रहेको छ । मूर्तिकला र इतिहास तथा संस्कृति र पुरातत्त्व विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले नेवाः लोककलाको समेत अध्ययन अनुसन्धान पनि गरेका छन् । ‘नेपाल कलाकार समाज’ तथा ‘एल आर्ट एन्ड क्राफ्ट’ जस्ता कलाकारका सङ्गठनसँग आबद्ध रहेर काम गरेका डङ्गोल पुरातात्त्विक उत्खनन कार्यमा पनि संलग्न रहिसकेका छन् । २०६० सालमा मूर्तिकला र २०६२ सालमा चित्रकला विधाका दुईओटा एकल प्रदर्शनी गरिसकेका उनले हालसम्म एक दर्जनभन्दा बढी मूर्तिरचना गरेका छन् ।
कलाका उत्तम डङ्गोलले निर्माण गरेका कलाहरूमध्ये बालमन्दिर परिसरको ‘भीमशमशेरको पूर्णकदको प्रतिमा’, त्रिवि केन्द्रीय कार्यालयको ‘स्वर्णजयन्ती प्रतिमा’, नेपाल स्काउटको ‘तेस्रो राष्ट्रिय जेम्बोरी’ आदि प्रसिद्ध छन् । राजनीतिक सङ्गठनसँगै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र प्रगतिशील प्राध्यापक सङ्गठनमा आबद्ध रहेर जनपक्षीय चिन्तनको प्रसारका लागि उनले कलालाई आधार बनाउँदै आएका छन् । ‘ललितकलामा लोकतान्त्रिक आन्दोलन’, ‘पाटनढोका वरिपरिको सांस्कृतिक तथा पुरातात्त्विक अध्ययन’ विषयमा उनका अनुसन्धानात्मक लेखहरू पनि प्रकाशित छन् । ललितकला क्याम्पसबाट ‘प्रथम ललितकला पुरस्कार’ (२०६७) तथा नेपाल सरकारबाट ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ (२०६९) प्राप्त गरिसकेका मूर्तिकार उत्तम डङ्गोललाई ‘पारिजात कला सम्मान २०८१’ बाट सम्मानित भएकोमा हार्दिक बधाई छ ।
पारिजात स्मृति केन्द्रको परिचय, उद्देश्य र विशेष अनुरोध
परिचय
सुप्रसिद्ध साहित्यकार तथा महिला जागरणकी नेता पारिजातको निधनपछि उनको वैचारिक तथा कलात्मक योगदानको सम्मान, संरक्षण र प्रसार गर्ने दायित्व पारिजातका शुभेच्छुकहरूमा आइपुग्यो । यही दायित्व पूरा गर्नका लागि इन्द्रेणी सांस्कृतिक समाजको तत्परतामा २०५० साल वैशाख २६ गते पारिजात स्मृति केन्द्रको स्थापना भएको हो ।
उद्देश्य
* पारिजातका प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृति संरक्षण गरी यस संस्थाद्वारा निर्धारित प्राथमिकताअनुसार तिनलाई क्रमशः प्रकाशित गर्ने÷गराउने ।
* लोककल्याणका दृष्टिबाट प्राथमिकता निर्धारण गरी पारिजातका कृति स्वदेशी तथा विदेशी भाषामा अनुवाद गर्ने÷गराउने ।
* पारिजातद्वारा प्रयुक्त वस्तु र उहाँको कक्षको यथोचित संरक्षण गर्ने ।
* पारिजातको योगदानको यथोचित मूल्याङ्कन गर्न पारिजात स्मृतिग्रन्थ, अन्य सान्दर्भिक पुस्तक तथा पुस्तिका प्रकाशित गर्ने÷गराउने ।
* पारिजातको स्मृतिमा प्रत्येक वर्ष उहाँको जन्म–जयन्ती मनाउने र परिचर्चा, गोष्ठी आदिको आयोजना गर्ने ।
* पारिजातको नाममा पुरस्कार स्थापना गरी सञ्चालन गर्ने ।
* परस्पर आदान–प्रदान तथा सरसहयोगका निमित्त स्वदेश र विदेशका साहित्यिक, सांस्कृतिक सङ्घ–संस्थासँग सम्बन्ध र सम्पर्क स्थापित गर्ने ।
* माथि उल्लिखित उद्देश्य प्राप्तिका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्रोत र साधन सङ्कलन गरी तिनको उचित व्यवस्थापन तथा सञ्चालन गर्ने ।
विशेष अनुरोध
* कुनै पनि प्रकारको सहयोगबाट यस केन्द्रका उद्देश्यहरू पूरा गर्ने काममा आवश्यक मद्दत पु¥याउनु हुन समस्त शुभेच्छुकमा विनम्र अनुरोध छ ।
* पारिजातसम्बन्धी कुनै पनि प्रकारका सामग्रीको प्रकाशित प्रति यस केन्द्रलाई उपलब्ध गराइदिनुहुन अनुरोध छ । पारिजातका कुनै पनि रचना प्रकाशन गर्दा यस केन्द्रबाट अनिवार्य रूपमा स्वीकृति लिनुहुन अनुरोध गरिन्छ ।
* पारिजातका कृतिबाट चलचित्र निर्माण गर्न चाहनेले यस केन्द्रमा सम्पर्क राखी तोकिएको प्राथमिकताक्रमअनुसार मात्र गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।
हालसम्म पारिजात सम्मान, पुरस्कार, प्रशंसापत्र प्राप्त गर्नुहुने प्रतिभाहरूको नामावली
पारिजात सृजन सम्मान प्राप्त गर्ने साहित्यकारहरू
२०५१ कुन्ता शर्मा
२०५२ इस्माली
२०५३ पूर्णविराम
२०५४ सुरेशकिरण मानन्धर
२०५५ घनश्याम ढकाल
२०५६ मित्रलाल पंज्ञानी
२०५७ डा.ताराकान्त पाण्डेय
२०५८ रोशन जनकपुरी (अरविन्दकुमार लाल)
२०५९ कृष्ण सेन ‘इच्छुक’
२०६० वासुदेव अधिकारी
२०६१ सुधा त्रिपाठी
२०६२ हरिगोविन्द लुइँटेल
२०६३ डा.जगदीशचन्द्र भण्डारी
२०६४ बुँद राना
२०६५ निनु चापागाई
२०६६ रमेशरञ्जन झा
२०६७ निभा शाह
२०६८ विमल निभा
२०६९ चैतन्य (मोहन वैद्य ‘किरण’)
२०७० प्रदीप नेपाल
२०७१ पुरुषोत्तम सुवेदी
२०७२ मोहन दुवाल
२०७३ हेमनाथ पौडेल
२०७४ डी.आर. पोखरेल
२०७५ आनन्ददेव भट्ट
२०७७ सीता शर्मा
२०७८ विनोदविक्रम के.सी
२०७९ शार्दूल भट्टराई
२०८० शोभा दुलाल
२०८१ बिना थिङ
पारिजात बाल–साहित्य सम्मान प्राप्त गर्ने साहित्यकारहरू
२०७० शान्तदास मानन्धर
२०७१ शारदारमण नेपाल
२०७२ विनयकुमार कसजू
२०७३ विजय चालिसे
२०७४ प्रभात सापकोटा
२०७५ खगेन्द्र सङ्ग्रौला
२०७७ प्रा.डा.चूडामणि बन्धु
२०७८ प्रा. भिक्टर प्रधान
२०७९ गङ्गा कसजू
२०८० प्रा.डा.ध्रुव घिमिरे
२०८२ तेजप्रकाश श्रेष्ठ
पारिजात सङ्घर्षशील नारी सम्मान प्राप्त गर्नेे नारीहरू
२०५१ राममाया नेपाली
२०५२ सुशीलादेवी चालिसे
२०५३ मोतीदेवी श्रेष्ठ
२०५४ नानीमैयाँ नकर्मी
२०५५ राजेश्वरी सिंह
२०५६ साधना प्रधान
२०५७ चम्पा राना
२०५८ मरनीदेवी साह
२०५९ शान्ता श्रेष्ठ
२०६० छायाँदेवी पराजुली
२०६१ बमकुमारी बुढामगर
२०६२ शान्ता मानवी
२०६३ सन्तोषी विक (सन्ध्या)
२०६४ रामकुमारी झाँक्री
२०६५ कमला नहर्की
२०६६ डा.रेणु राजभण्डारी
२०६७ शान्ता चौधरी
२०६८ विष्णुदेवी श्रेष्ठ (मुक्ता)
२०६९ साहना प्रधान
२०७० शान्तिकुमारी राई
२०७१ मिठाईदेवी विश्वकर्मा
२०७२ मसिनीमाया स्याङ्वा
२०७३ शशी श्रेष्ठ
२०७४ अष्टलक्ष्मी शाक्य
२०७५ सरिता महर्जन
२०७७ सीता पोखरेल
२०७८ उमा गुरुङ राई
२०७९ गोमा देवकोटा
२०८० निर्मलादेवी साह
२०८१ डा. विन्दा पाण्डे
पारिजात कला सम्मान प्राप्त गर्ने कलाकारहरू
२०५८ मोहन खड्का
२०५९ कुलमानसिंह भण्डारी
२०६० हरि दर्शनधारी
२०६१ रामेश
२०६२ जेबी टुहुरे
२०६३ खुशीराम पाख्रिन
२०६४ किरण मानन्धर
२०६५ रामकृष्ण भण्डारी
२०६६ मानन्धर ल्याम्ह पुचः डाफा गुठी
२०६७ वदन शर्मा
२०६८ इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर
२०६९ नारदमणि हार्तम्छाली ‘कलाङ’
२०७० राजन काफ्ले
२०७१ जीवन शर्मा
२०७२ रविन सायमि
२०७३ श्याम तमोट
२०७४ शान्तकुमार राई
२०७५ रामकृष्ण दुवाल
२०७७ माधव प्रधान
२०७८ देवेन्द्र थुम्केली
२०७९ गुजे मालाकार
२०८० उदय श्रेष्ठ
२०८१ उत्तम डङ्गोल
पारिजात बाल–साहित्य पाण्डुलिपि सम्मान प्राप्त गर्ने स्रष्टाहरू
२०५७ रवीन नेपाली
२०५९ शाश्वत पराजुली
२०६० दोर्जे छिरिङ लेप्चा
२०६२ लक्ष्मी उपे्रती
२०६३ सुकुम शर्मा
२०६५ अनन्तप्रसाद वाग्ले
२०६६ सौरभकिरण श्रेष्ठ
२०६७ अमर न्यौपाने
२०६८ माधव सयपत्री
२०६९ विजयराज आचार्य
पारिजात बालसाहित्य पाण्डुलिपि प्रशंसापत्र प्राप्त साहित्यकारहरू
अनुराधा
सङ्गीत श्रोता
सविना सिन्धु
केदार श्रेष्ठ
पारिजात स्मृति केन्द्रका पदाधिकारीहरू
संस्थापक अध्यक्ष/संरक्षक : सुकन्या वाइबा
अध्यक्ष ः इन्दिरा दली
उपाध्यक्ष : सीता शर्मा
महासचिव : दिलसुन्दर श्रेष्ठ
कोषाध्यक्ष : डा.बिन्दु शर्मा
सदस्य : डा.महेश मास्के
सदस्य : मातृका पोखरेल
सदस्य : राजेन्द्र महर्जन ‘पुता’
सदस्य : डा.केशव सिलवाल
सदस्य : डा.अमृता शर्मा
पारिजात स्मृति केन्द्रका आजीवन सदस्यहरू
१. रायन
२. डा.महेश मास्के
२. राजेन्द्रप्रसाद अधिकारी
३. दिलसुन्दर श्रेष्ठ
४. इन्दिरा दली
५. स्नेह सायमी
६. लक्ष्मी माली
७. मातृका पोखरेल
८. देविका तिमिल्सिना
९. वासुदेव अधिकारी
१०. वसन्त रिजाल
११. डा.बिन्दु शर्मा
१२. डा.अमृता शर्मा
१३. डा.केशव सिलवाल
१४. धनकुमारी सुनार
१५. डा.गीता त्रिपाठी
१६. डा.अरुणा उप्रेती
१७. सीता शर्मा
१८. देवेन्द्र थुम्केली
१९. राजेन्द्र महर्जन ‘पुता’
२०. शैलेश प्रधान
२१. मीनबहादुर श्रेष्ठ
२२. वदन शर्मा
२३. इन्द्रराज लामा
२४. कुमारी लामा
सम्पर्क
पारिजात स्मृति केन्द्र
पारिजात मार्ग, म्हेपी, काठमाडौँ
फोन : ४३५८१८४
No comments:
Post a Comment