पारिजात स्मृति केन्द्रले यही २०८१ साल वैशाख ५ गते पारिजात स्मृति भवन म्हेपि, बालाजुमा ३२ औं पारिजात स्मृति दिवसका अवसरमा विभिन्न बिधाका चारजना स्रष्टा एवम् अधिकारकर्मीहरुलाई सम्मान गऱ्यो । सम्मानित हुने स्रष्टा एवम् अधिकारकर्मीहरूमा पारिजात सृजन सम्मान - २०८१ बाट साहित्यकार बिना थिङ, पारिजात बालसाहित्य सम्मान - २०८१ बाट बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ, पारिजात सङ्घर्षशील नारी सम्मान - २०८१ बाट महिला आन्दोलनकी अग्रणी योद्धा डा.विन्दा पाण्डे, पारिजात कला सम्मान - २०८१ बाट मूर्तिकार उत्तम डङ्गोल हुनुहुन्थ्यो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो । पूर्व मन्त्री हिसिला यमीले साहित्यकार पारिजातको व्यक्तित्वका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो । पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेलले सम्मानित स्रष्टाहरूको बारेमा परिचयात्मक मन्तव्य राख्नु भएपछि कार्यक्रमका प्रमुख अतिथि विमल निभा, स्मृति केन्द्रकी संस्थापक अध्यक्ष सुकन्या वाइबा र पूर्व अध्यक्ष डा. महेश मास्केले सम्मानित स्रष्टाहरुलाई खादा, प्रमाणपत्र एवम् नगद सहित् सम्मान गर्नु भएको थियो । कार्यक्रममा जनगायक वीरप्रसाद भन्सारीसहितका इन्द्रेणी सांस्कृतिक समाजका कलाकारहरूले खगेन्द्र संग्रौलाको रचना र रायनको संगीत रहेको 'अपराजिता पारिजात' गीत प्रस्तुत गर्नुभएको थियो । सम्मानित चारै जना स्रष्टाहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गर्नुभएको थियो ।
No comments:
Post a Comment