Thursday, August 26, 2021

‘पारिजात नभएको भए म सुकन्या हुन्नथेँ’ - - विश्वास खड्काथोकी

 दार्जीलिङमा धोका, काठमाडौंमा अभावको जिन्दगी !



सुकन्या वाइवा ८३ वर्षकी भइन् । अहिले पनि उनलाई बेडमा सुतिरहेको कसैले सुकन भन्दै बोलाओस् जस्तो लाग्छ । तर, ३० वर्षदेखि उनलाई ‘सुकन’ भन्दै माया गर्न कोही आएन । किनकि पारिजात भौतिकरुपमा यो धर्तीबाट बिलाएको ठीक २५ वर्ष भयो ।

सुकन्या अहिले पनि आफ्नी दिदी पारिजातको अदृश्य निर्देशन खोजिरहन्छिन् । तर, अब सुकन्यासँग पारिजातसँगको स्मृति मात्र बाँकी छ । त्यसैले त दिदीले मृत्युशैयाबाट अन्तिम पटक सम्झाएको सम्झिरहन्छिन् । ए, पारिजातको सुकन्या कहाँ बहिनीमात्र ? सुकन्या पारिजातकी साथी, साथीभन्दा पनि माथि । अझ यसो भनौँ न, जीवनसाथी । सुकन्या नै त पारिजातको पलपलकी सारथी थिइन् ।

तीनवटा मात्रै औंला चल्ने पारिजातले नेपाली साहित्यको गजलाई कसरी उचो बनाइन् ? त्यो सुकन्याजति अरु कसलाई थाहा होला र ?

४ बैशाख, ०५० । पारिजात आइसियुको बेडमा थिइन् । सुकन्या गोडातर्फ झोक्राएकी । पारिजात चर्को गरी बोल्न सक्दैनथिन् । इसाराले सुकन्यालाई अनुहार नजिक बोलाइन् । र, कानमा मुख जोडाएर सासस्वरले भनिन्, ‘तो कमजोर छस् सुकन । जस्तै दुःख आए पनि हिम्मत नहार्नू ।’

अर्को दिन पारिजातको सास हार्‍यो ।

ती दिनहरु सम्झँदा सुकन्याका सम्झनाका झोक्काहरु आँशु बनेर खस्न थाले । अनलाइनखबरका फोटो पत्रकार चन्द्रबहादुर आलेले क्यामेरा तेर्साउन थालेपछि । सुकन्याले हत्त न पत्त आँशु पुछिन् र इन्कार गरिन्, ‘काँ फोटो खिच्न थालेको ? रोएको फोटो खिच्नुहुँदैन । दिदीले भन्नुभएको ।’

नेपाली नागरिकता लिने पारिजातको ठूलो धोको थियो । आजित भएपछि उनले भनेकी थिइन्- ‘लिँदैन जा ! यहीँ काम गर्छु, यहीँ मर्छु । कसले नेपाली भन्दैन ?’

यो दृश्य चन्द्रका आँखाको नानीमा कैद भयो ।

सुकन्याले पारिजातको ती अन्तिम शब्दहरुलाई उर्जामा त बदलेकी होइनन् ! यो उमेरमा पनि उस्तै उर्जाशील । जीवनको क्याल्कुलेटर थिच्ने हो भने सुकन्याको अनुहारमा जति मुजा पर्नुपर्ने हो, त्योभन्दा निकै कम रेशाहरु छन् । हातमा समाएको चस्माले आँखा थोरै कमजोर भएको बताउँछ । उनलाई सेतो कपाल मन पर्दैन क्यार । कालो मेहेन्दी हालेकी छिन् । निधारको रातो टीकाले विद्रोह बोल्छ ।

सुकन्याले १८ वर्ष पहिले नै पति निर्मल लामा गुमाइसकिन् । निर्मल लामा उनै हुन्, जसले राज्यसत्ताविरुद्ध विद्रोह गरे । सुरुङ खनेर जेलबाटै टाप कसे । नेपालका चर्चित वामपन्थी नेता थिए सुकन्याका पति निर्मल लामा ।

जिज्ञाशा: तपाई त कस्तो ५० को दशकको जस्तो ?

सोफामा बसेकी सुकन्याले मख्ख पर्दै कालो पछ्यौरा मिलाइन् । अनि दार्जीलिङे लवजमा बोलिन्, ‘त्योचाहिँ उहिलेको खाने कुरा त । हाम्रो पालामा तपाईहरुको जस्तो थिएन त जंक फुड । भोक लाग्यो भने कि भातै पका, कि रोटी पोल, कि चाइने मकै भुट । चिउरा पनि पसल टाढो ।’

सुकन्याको बोली पनि उस्तै तगडा छ । उनको मस्तिष्कमा पारिजातसँगका पलहरु पनि मक्किसकेका छैनन् । उनले बुझेको पारिजातको जीवन हो, ‘शुरुवात अति निराशापूर्ण । र, अन्तिम अति आशावादी ।’

पारिजातलाई जीवनले दिएको पीडा पढ्ने हो भने कहिँ पनि आशावादी हुने ठाउँ देखिँदैन । तर, जीवनले दिएको जतिसुकै पीडालाई पनि विचारको उफानले फिक्का पारिदिँदो रहेछ ।

त्यो दार्जीलिङ

‘उसले त दार्जीलिङदेखि नै चुरोट खान्थ्यो, ११ वर्षको उमेरदेखि नै । साह्रै बदमास’, सुकन्याले पारिजातको निजी जीवन उघार्न थालिन् । पारिजात निकै बद्मास । तर, अति स्वाभिमानी । खैर, स्वाभिमान अति र न्यून हुँदैन होला ।

सुकन्या भने सानैदेखि बलिई । तर, काँतर ।

पारिजातले सिरिसको फूलमा स्वाभिमानको निम्ति मर्न तयार हुने पात्र, सकम्बरी खडा गरेकी छिन् । सुकन्या सहजै भन्छिन्, ‘सिरिसको फूलमा दिदी पनि छ । केही छ ।’ सिरिसको फूलमा पारिजात आधा छिन् कि पुरै ? हामीसँग पारिजात छैनन् ।

पारिजातको परिवार जंगलबीचको कर्मकोठीमा बस्थ्यो । जहाँ लहरै नम्मर लेखिएका घरहरु थिए । अनि नम्बर अनुसारकै ट्वाइलेट । तर, आफ्नो नम्बरको ट्वाइलेट पूग्नुपूर्व सुकन्यालाई एक नम्बरको ट्वाइलेटवाला महेन्द्रले बाटो छेक्न आइपुग्थ्यो । त्यो महेन्द्र जत्ति मात्तिएको वालक त्यो बस्तीमा अर्को को थियो होला र ? उसकै डरले सुकन्या ट्वाइलेट पनि लुकेर जान्थिन्, डराई डराई ।

पारिजात त्यस्तै आठ वर्षकी थिइन् । बिहानै ट्वाइलेट हिँडेकी पारिजात रुँदै घर फर्किईन् । कारण, पारिजातले महेन्द्रकी आमाको चुटाइ भेटिछिन् ।

ट्वाइलेट जाने क्रममा महेन्द्रको लठ्ठीको कुटाइमा पहिला पारिजात परिछिन् । अब पारिजातले छाड्थिन् होला त ? त्यही लठ्ठी खोसेर घरभित्रै पुगेर कुटिछिन् । फेरि पालो आयो पारिजातको । पारिजातको कुरा सुनेपछि बाबाले भनेछन्, ‘ठिकै त पर्‍यो ।’

पारिजातले जीवनमा आमाको अनुहार भने चिन्न पाइनन् । डा. केएस वाइवा ३१ वर्षमै विधुर बन्ने अभागी पुरुष थिए ।

तर, बाबाले कहिल्यै आमाको अभाव खड्किन दिएनन् – पारिजात र सुकन्यालाई । दुःख गरेर भए पनि मीठै खुवाए । सन्तानलाई नै माया गरेर बसिरहे ।

कसैसँग नडग्ने पारिजातसँग डर पनि थिएन । रातको बेला पनि एक्लै घरबाहिर निस्कन्थिन् । दाइ शिवकुमारसमेत पारिजात नभई राति निस्कन डराउँथे । अब दाइबारे बोल्छिन् सुकन्या, ‘दाइ यति सोझो कि एउटा गालामा हाने अर्को थाप्ने ।’

तर, ती दाइलाई पनि पौडी खेल्दा खोलाले निल्यो । जसरी सुन्दर फूललाई मानिसले पहिल्यै टिप्छन्, त्यसरी नै कालले उनलाई टिप्यो । जतिबेला सुकन्या कक्षा ८ मा पढ्थिन्, पारिजात ९ मा ।

एक्लो छोरा गुमाउँदा डा. केएसमा अतुलनीय आघात पर्‍यो । सुकन्या भन्छिन्, ‘यति आघात पर्‍यो कि बाबुले आँखाबाट एक थोपा पनि आँशु झार्नुभएन । त्यसपछि काठमाडौं लाग्नुभयो ।’ भन्छन् नि ! निशब्दमा सबैभन्दा ठूलो शक्ति हुन्छ । त्यसै गरी गहिरो आघातले पनि आँशुलाई बर्जित गर्दोरहेछ ।

दाइको पीडामा निराश भएकी सुकन्यालाई एक दिन पारिजातले सम्झाएकी थिइन् । पारिजातले सोधिन्, ‘दाइको अझै माया लाग्छ ?’

सुकन्याले टाउको हल्लाइन् । पारिजातले थपिन्, ‘हेर सुकन । तैंले पिर नगर । त्यस्तो सोझो मान्छे बाँचेर पनि के गथ्र्यो होला ? लडेर खान सक्थ्यो ?’ सुकन्या जिल्ल परेकी थिइन् ।

पारिजातले भने जिन्दगीभर लड्नुपर्‍यो । रोग र सिर्जनासँग । कस्तो विरोधाभाष, लडाई नै आफैसँग । आफ्नै जिन्दगीसँग । त्यो पनि १३ वर्षकै उमेरदेखि ।

काठमाडौं उडान र चुरोटको लत

पारिजात एसएलसीमा फेल भइन् । उनै फेलर पारिजातलाई च्याप्प समाएर बाबाले काठमाडौं ल्याइपुर्‍याए । यतै पास गरिन् एसएलसी ।

ठूलीआमासँग दार्जीलिङ नै बसेकी सुकन्या एक वर्षपछि काठमाडौं छिरिन् । एसएलसी पास गरेर । दिदीलाई पुतलीसडकमा भेटिन् । जहाँ काकाका छोरा पि्रयकुमारका घर थियो ।

खान लाउन दुःख थिएन । पारिजातका बाबाले मेडिकलमा काम गर्थे । पि्रयकुमारका दुई-तीनवटा जागिर थिए ।

तर, त्यतिबेलाको काठमाडौं अनौठो लाग्यो सुकन्यालाई । ‘उताको जस्तो थिएन काठमाडौं’, काठमाडौंको त्यो दृश्य उनको स्मरणमा नाच्छ, ‘यहाँको माहौल नै बेग्लै । केटीले घैला बोकेको देख्दा पनि झ्यालबाट हेर्ने । केटी मान्छे एक्लै हिँडेको देखे पनि छक्कै पर्ने, पछिल्तिर मान्छे लाएर हिँड्नुपर्ने ।’
पछिल्लो पिँढीले त्यो काठमाडौंलाई फगत गफ मान्न सक्छ ।

तर, समाजका त्यस्ता बन्देजले पारिजातलाई छेक्नेवाला थिएन । उनलाई त औधी घुम्न मन पर्ने । कलेजका साथीहरुसँग मस्ती गर्नुपर्ने । कविता लेख्नुपर्ने अनि सुनाउनुपर्ने । पुस्तकालयमा गइराख्नुपर्ने ।

पि्रयकुमारसँगै हो, पारिजातको बर्माको लडाइँवालासँग भेट भएको । जुन क्यारेक्टर सिरिसको फूलमा उल्लेख छ । उपन्यासमा वर्माका लडाइँवाला सकम्बरीका दाजुसँग भेट्न आउँछन्, चुरोट उडाइरहेकी आधुनिक सकम्बरीले बालै दिन्न ।

पारिजातले पनि त सकम्बरीले जस्तै त चुरोट तान्थिन् । त्यहीबेला पारिजातको चुरोट तान्ने बानी उनको बाबाले थाहा पाए । तर, बाबालाई यो कुरा थाहा थिएन कि सानैमा स्कुल जाँदा खाजा खान दिएको पैसा लुकाई लुकई पारिजातले चुरोट तानेको, कटुवा खाएको । सुकन्या सम्झन्छिन्, ‘त्यसपछि बरु बाबाले चुरोट छाड्नुभयो । अहँ, दिदीले कहिल्यै छाडिन ।’

अभावको शुरुवात

प्रियकुमारको बिहे भयो । त्यसपछि पारिजातको परिवार प्रियकुमारहरुका लागि बोझ बन्न थाल्यो । प्रिय कुमार तिनै हुन्, जसले पारिजातको परिवारलाई काठमाडौंसम्म डोर्‍याए । तर, प्रायः सम्बन्धहरु कच्चा हुन्छन्, सानो ठक्करले पनि भत्काइहाल्ने ।

हो, पारिजातहरुलाई बोझिलो अनुभूति भयो । अनि नयाँ ठेगाना बन्यो, नयाँ बानेश्वर । र, त्यसपछि शुरु भयो अभाव ।

अभावलाई दुर गर्न सुकन्या जागिरको खोजीमा लागिन् । बल्लतल्ल कलेज अफ एजुकेशनमा प्रिन्सिपलको सेक्रेटरी जागिर पइन् । तलव थियो – रु. १०० । डेरा भाडा – रु. १८ ।

सकुन्या आइए भर्ना पनि भएकी थिइन् । तर, उनलाई नाईट सिफ्टमा पढ्ने बाध्यता थियो । सुकन्याले विहानको भात पकाउँथिन्, परिजातले बेलुकीको ।

छन त पारिजात पनि जागिरकै खोजीमा थिइन् । तर, पाएकी थिइनिन् । केही समयपछि फेरि ठेगाना बदलियो । सिंहदरवार नजिकै पुगे । अखिर डेरा न हो !

विगतको कुरा गर्दा गर्दै सुकन्याले भित्तातर्फ हेरिन् ।

भित्तामा बारबारा निम्री र पारिजातको जोइन्ट फोटो टाँसिएको थियो । फोटोबाट आँखा नहटाई अभावको कथा सुनाउँछिन्, ‘महिनाको अन्त्य अन्त्यमा निकै गाह्रो पर्थ्यो । दिदीको औषधी पनि किन्नुपर्ने । धन्न १० रुपैयाँको सामान पनि झोलाभरि पाइन्थ्यो ।’

त्यहीबेला सुकन्यालाई प्याराटाईफाइट भएको थियो । उठ्नै नसक्ने गरी अँठ्यायो । घरमा एक रुपैयाँ थिएन । न बजारबाट किनेर ल्याएको अन्न नै बाँकी थियो ।

पारिजातले रेडियो नेपालमा आफ्नो कथा वाचन भएको सम्झिइन् । फाटाफट गएर त्यसको पारिश्रमिक १२ रुपैयाँ लिइन् । अनि औषधीमूलो गरेर सुतिरहेकी बहिनीलाई उठाइन् । जुन कथा सुकन्या आफैंले रेडियो नेपालसम्म पुगेर बुझाएकी थिइन् ।

अभावले पारिजातलाई पनि पिरलेको थियो । उनले पनि प्रौढ कक्षा सञ्चालन गर्न थालिन् । केही समयपछि मदन मेमोरियलकी शिक्षिका बनिन् ।

पारिजातको पहिलो प्रेम

यहीबीचमा पारिजातलाई बिहेको प्रस्ताव आयो । दार्जीलिङको असाध्यै राम्रो केटो रे । केही कुरामा खोट नभएको । तर, त्यतिबेला पारिजातले सम्भिmइन् आफ्नो पहिलो प्रेम । यो सम्झना भन्ने कुरा पनि कस्तो-कस्तो ठाउँमा आइपुग्छ ।

पारिजातका पालामा पनि दार्जीलिङमा प्रेम फेशनजस्तो थियो । लभलाई दोस्ती भन्थे । १२/१४ वर्षदेखि नै प्रायःको दोस्ती हुने । केटाहरु खल्तीमा रेडिमेड चिठी बोकेर हिँड्थे र मनपरेकी केटीलाई बेनामी चिठी बाँड्थे ।

८३ वर्षीया सुकन्या एकाएक रोमान्टिक बन्छिन्, ‘दिदीलाई त्यस्ता चिठीहरु त खातका खात आउँथे । हामी कुनामा बसेर पढ्थ्यौँ र मरीमरी हाँस्थ्यौँ ।’

पारिजातका चिठीहरु त धेरै आए । त्यसको एउटै कारण पारिजात रुपवती थिइन् । तर, एकजना केटा थियो, जसले पारिजातलाई औधि मन पराउँथ्यो । मरिहत्ते गर्थ्यो । अन्ततः अरु साथीहरुले जस्तै पारिजातले पिरती गाँसिन् त्यही केटासँग । जसलाई सुकन्या अहिले ‘प्लाटोनिक’ लभको संज्ञा दिन्छिन् ।

यसरी पिरती गाँसेका जोडीहरु जंगलमाथिको डाँडा पुग्थे । जसलाई अहिले डेटिङ भनिन्छ । जंगलबीच त्यो डाँडामा हावाघर थियो । काठले बारेको । केटा पर बस्थे र केटी वर । केही बोल्ने थिएनन् । केहीछिन् बस्थे र उठेर हिँड्थे । दार्जीलिङमा प्लाटोनिक लभका यतिसम्म क्रेजी थिए कि नायक अशोक कुमारका नाउँमा जिन्दगीभर सिउँदो खाली राख्नेहरु पनि थिए ।

तर, त्यो पिरतीलाई पारिजातले त्यति लामो तन्काइनन् । जब बिहेको कुरा उठ्यो, उनलेे चुरालाई डोरी सम्झिइन् ।

त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । केटोसँग दुलही भएर कोही केटी आइसकेकी थिई । त्यसपछि, पारिजातले बिहे नै गरिनन् । बरु, कविता लेखिन् । जुन बल्ल छापियो:

दुई किनारा नभए
नदीको अस्तित्व हुँदैन
हामी पानी-पानीले छोएका छौँ
छालहरुले भेटेका छौँ
नियति जे होस् तिम्रो र मेरो
हामी पुल बनेर एक अर्काको
अंगालामा बाँधिएका छौँ

यतिसम्म कि त्यो धोकालाई पारिजातले आफंैमाथि श्रापित गरेकी छिन्, ‘त्यो धोकाले मेरो यो हाल भएको हो ।’

अनि ढलिन् पारिजात

पारिजातलाई एकतिर मायाले दुखाएको थियो, अर्कोतर्फ शरीरले । कहिले हात दुख्यो भन्थिन्, कहिले गोडा । कहिले कोखा, कहिले छाती त कहिले घाँटी । १३ वर्षकै उमेरदेखि उनलाई रिमाटिडेटाइड अर्थराइटिस डिमरमेन्ट रोगले आक्रमण गरेको गरेको थियो ।

पारिजातले मदन पुरस्कारको चाँदीको फ्रेम बेचेर मदिरा खाइन् या औषधी, सुकन्यालाई पत्तो छैन । तर, दिदीले उनलाई भन्थिन्, ‘बेचेर औषधी किनेँ ।’

एकदिन पारिजातले सुकन्यालाई सोधेकी थिइन्, ‘नदुखेको दिन कस्तो हुन्छ होला सुकन ?’

पछि थाहा भयो पारिजातको रोग निको पार्ने बैज्ञानिक संसारले उत्पादन गरेको छैन । सुकन्या भन्छिन्, ‘पेनकिलर र ओरल खाँदा खाँदा दिदीको छातीमा इन्फेक्सन भएको थियो ।’

र, पनि पारिजातले लेख्न छोडेकी थिइनन् । सिंहदरवार छेउकै डेरामा जन्माइकी हुन्, ‘सिरिसको फूल’ ।

सिरिसको फूलले पारिजातको लोकपि्रयतालाई चुल्याउँदै थियो । तर, भरपुर स्वाद चाख्न नपाउँदै पारिजात ढलिन् हिँड्नै नसक्ने गरी । गतिलोसँग चल्नै नसक्ने गरी । चल्थ्यो त मात्र दाहिने हातका तीन औँला । जतिबेला पारिजात भर्खर २८ वर्षकी थिइन् ।

दुःख दिन त सक्ने हो जिन्दगीले । भगवान त छन् कि छैनन्, थाहा छैन । पारिजात ढलिन् । परिवारको जिम्मेवारी सुकन्याको टाउकोमा घोप्टियो ।

काठमाडौंमा बाबाले क्लिनिक त खोलेका थिए तर, विच्छिप्तताले उनीबाट जाँगर खोसेको थियो । अब पारिजातले न बेलुकीको खाना पकाउँथिन्, न स्कुल पढाउँथिन् । मात्र लेख्थिन्, त्यो पनि निराशाका कथा ।

सुकन्या भन्दै जान्छिन्, ‘दिदीको कहिले नाकबाट रगत बगेको बगै गर्थ्यो । कहिले असह्य दुख्यो भन्थिन् । तर, दुखाइका कारण छट्पटिन पनि उनको शरीरले साथ दिँदैनथ्यो । सुकन्या भन्छिन्, ‘त्यस्तो बेला मैले नै ढाडमा बोकेर क्लिनिक पुर्‍याउँथेँ । डाक्टरकहाँ पुर्‍याउँथेँ । फुर्सद के हो, मलाई थाहा थिएन ।’

सुकन्या बिहानै उठेर पारिजातको अनुहार र हातखुट्टा् सफा गरिदिन्थिन् । पारिजात ट्वाइलेट गर्न सक्दिनथिन् । सुकन्याले लुगा फेरिदिन्थिन् । खाना तयार पार्थिन् । अनि पारिजातका लागि सिरानमा कचौरामा खाजा राखेर अफिस पुग्थिन् । बेलुकी आएर पारिजातको दिसापिसावले लत्पतिएका लुगा फेरिदिन्थिन् । खाना पकाउँथिन्, बाबा, दिदीलाई खुवाउँथिन् । अनि एक गमला भाँडा माझेर सुत्थिन् ।

एक दिन ओरलको विकल्पबरे सुनिन् सुकन्या । त्यो थियो सपोजिटोरी । जुन तलबाट दिएपछि पेनकिलर खानु नपर्ने । असर पनि कम गर्ने । ‘तँलाई तीन महिनालाई पुग्ने डोज लिएर आउँछु’, पारिजातलाई भन्दै ढोकावाहिर निस्किइन्, तीन सय रुपैयाँ बोकेर ।

तर, त्यो औषधी यति महंगो रहेछ कि सुकन्या जम्मा तीनवटा बोकेर फर्किइन् ।

दुःखहरु खातका खात थिए । तर, पारिजातसँग एकछिन बसेपछि सुकन्या फ्रेस बन्थिन् । बेलुकी भएपछि खुब हँसाउँथिन्, पारिजात । एक दिन ठट्टै ठट्टामा पारिजातले फ्याट्ट भनिन्, ‘म मरेपछि के गर्छेस्, सुकन ?’

सुकनले एकछिन पनि नसोची जवाफ फर्काइन्, ‘तँ मरिस् भने त म पनि आत्महत्या गरेर मर्छु ।’

पारिजातको भित्री शक्ति बोल्यो, ‘हेर् तैले आत्महत्या गरिस् भने त तेरो काम पनि मैले नै सम्हाल्छु ।’

यदि साहसलाई तौलिने मेसिन हुन्थ्यो भने, सबैभन्दा पहिला पारिजातको साहसलाई तौलिन्थिन् होला सुकन्या ।

निरश पारिजात, मदिराको साथ

पारिजात चुरोटको अम्मली त थिइन् नै, छिनछिनमा उनको हातमा चुरोट हुनैपर्थ्यो । उनको जीवनमा मदिरा पनि अभिन्न अंग बन्न आइपुग्यो ।

पारिजात दिउँसो दुई बजेबाट लेख्न शुरु गर्थिन् । अनि बेलुकी भएपछि मदिरा पिउँन थाल्थिन् । सितनको व्यवस्था गर्ने जिम्मा सुकनको थियो । ‘हामीसँगै बसेर पिउँथ्यौँ । उसका राणा साथीहरु आइरहनुहुन्थ्यो । राल्फा अन्दोलनका र भूपि दाइहरु त दैनिकजसो नै आउँथे’, मदिराको कथा सुनाउन थाल्छिन् सकुन्या, ‘उसलाई बेलुकी निदाउन अति गाह्रो हुन्थ्यो । पीडा भुलाउन पनि उनले मदिरा पिउन शुरु गरेकी थिई ।’

पिउन शुरु गरेपछि पारिजातले कति पिउँदैछिन्, उनलाई नै थाहा हुँदैनथ्यो । एउटा हातमा चुरोट अर्को हातमा मदिराको गिलास । थाहा थिएन, त्यो मदिराले पारिजातको पीडा भुलाउँथ्यो कि बल्झाउँथ्यो ।

एक दिन सुकन्याले सम्झाइन्, ‘यति साह्रो रक्सी नपिउ न !’

पारिजातले भनेकी थिइन्, ‘मैले रहरले पिएको हो र ! के मलाई खुशी हुने अधिकार छैन ?’

पारिजातका एकपछि अर्को कृतिहरु आउँदै थिए । मदन पुरस्कार नै हात पारिन् । साथीहरु आउँथे र बोकेर विभिन्न कार्यक्रममा पुर्‍याउँथे । तर, पारिजात आफ्नै जीवनदेखि भने निराश थिइन् ।

सुकन्या पारिजातको निराश जिन्दगीको पाटो उघार्छिन्, ‘दिदीले बाँच्नका लागि ठूलो संघर्ष गरेको हो । एकपटक विष नै पिउन आँटेकी थिई रे । चरेश तान्न थालेकी थिई ।’

त्यहीबीचमा हो पारिजातले मदन पुरस्कारको चाँदीको फ्रेम बेचेर खाएको । त्यो फ्रेम बेचेर पारिजातले मदिरा खाइन् या औषधी, सुकन्यालाई पनि पत्तो छैन । तर, सुकन्यालाई भन्थिन्, ‘बेचेर औषधी किनेँ ।’

यसलाई फगत घमण्डको रुपमा बुझ्छिन्, सुकन्या । उनको बुझाइ छ, ‘त्यतिबेला म फोर्ट फाउण्डेशनमा जागिर खान्थेँ । दिदी पनि कमाउँथी, फ्रेम बेचेर खानुपर्ने अवस्था थिएन ।’ त्यतिबेलासम्म त पारिजातको स्याहारका लागि एक महिला पनि राखेकी थिइन् सुकन्याले ।

तर, पारिजातले आफ्नो दुःख भने सकेसम्म लुकाउँथिन् । पानी बिजुलीको बिल आफैं तिरिदिन्थिन् । दशैँमा नयाँ कपडा किन्न सुकन्यालाई पैसा दिन्थिन् । तर, उनको दुःख कविता र संस्मरणबाट व्यक्त हुन्थे ।

एउटा कविता:

मर्न मन लाग्छ मायालु
रातसँगै दिनसँगै

डढ्न मन लाग्छ मायालु
घामसँगै आगोसँगै
जल्न लाग्छ मायालु
रापसँगै खरानी सँगै

पारिजातको त्यो पत्र

सिंहदरबारबाट दुई ठाउँ डेरा सरेपछि उनीहरु लगन पुगे । सुकन्याले निर्मल लामासँग लगनगाँठो कसिन् । त्यसपछि पारिजातको संगत निर्मल लामा र मोहनविक्रम सिंहसँग पनि भयो । त्यसैले पनि हो कि पारिजातले ८० को दशकमा भन्न थालेकी थिइन्, ‘मैले कत्ति लेख्नु छ कति ।’

उनले ‘आस्थाका बन्दी’ हरु संस्था खोलिन् । र, संसारभरको जेल डुल्न थालिन् । जेलमा भएका बालबालिकाहरुका लागि काम गर्न थालिन् । मानव अधिकार संघको उपाध्यक्ष नै बनिन् । घरमा उनका साहित्यिक साथीहरुको भीड लाग्थ्यो ।

यही माहौलमा पारिजात कसैसँग प्रेममा परिन् कि परिनन् होला ? शरीर नचले पनि उनको मस्तिष्क र मन चलि नै रहेको थियो ।

‘बिरामी भएपछि पनि दिदीको त्यो भयो । तर, कोसँग मलाई शेयर भने गरिन’, सुकन्याले किताव बन्द गरिन्, ‘अहिलेलाई यत्ति भनौँ ।’

त्यहीबेला सुकन्या अर्कै ठाउँमा डेरा सर्दै थिइन् । तर, पारिजातको जिद्दी थियो, ‘म एक्लै यहाँ बस्छु ।’ १५ दिनसम्म बसिन् पनि । उनलाई सहयोग गर्नका लागि इन्दिरा दली पारिजातसँगै बसेकी थिइन् । तर, पछि सुकन्याले आफूसँगै ल्याईछाडिन् ।

****

पारिजात अत्याधिक बिरामी परेकी थिइन् । उनलाई लागेको रोग जोर्नीको थियो । उनको घुँडा नै बांगिइसकेको थियो ।





सुकन्याहरुकै पहलमा दिल्लीमा औषधी गर्ने व्यवस्था भयो । त्यसपछि उनी एउटी महिलालाई लिएर दिल्ली गइन् । रेल स्टेशनमा आफैं कुल्लीहरुलाई बोलाएर हस्पिटल पुर्‍याउन भनिन् । यसले देखाउँछ कि पारिजातको बाँच्ने इच्छाशक्ति कति थियो ।

दिल्लीबाट बहिनीलाई निरन्तर चिठी लेखिरहन्थिन्, पारिजात । दिल्लीमा उपचार गर्दा पारिजातलाई असाध्यै आर्थिक संकट पनि पर्‍यो । एकपटक निकै गाह्रो पर्दा पारिजातले सुकन्यालाई एउटा चिठी लेखेकी थिइन्, ‘बाँच्नलाई जहाँ बाँचौँ, मर्नलाई तेरै घरको संघार चाहिन्छ सुकन ।’

पारिजातका ती पत्रहरु सुकन्यासँग अहिले पनि सुरक्षित छन् । केही दिनअघि मात्रै पढेर पारिजातको नाममा केही थोपा आँशु बगाइन् सुकन्याले ।

नागरिकता बनेन, १५ मिनेटमै पासपोर्ट

नेपाली नागरिकता लिने पारिजातको ठूलो धोको थियो । थुप्रै प्रमाणहरु पनि जुटाउन खोजिन् । अहँ, नेपाली नागरिकता लिने पारिजातको धोको अधुरै बन्यो ।


आजित भएपछि पारिजातले भनेकी थिइन्, ‘लिँदैन जा । यहीँ काम गर्छु, यहीँ मर्छु । कसले नेपाली भन्दैन ?’ त्यसपछि उनले नेपाली नागरिकताको चक्करलाई बिट मारिन् ।

०४९ चैत २९ तिर हो । बिहानको त्यस्तै आठ बजेको हुँदो हो । पारिजातले खोक्न थालिन् । अन्त्यहीन खोकी ।

पारिजातलाई डाक्टरले पहिल्यै भनेको थियो, ‘तपाईको खोकी निको हुँदैन, जबसम्म चुरोट छाड्नुहुँदैन ।’ तर, पारिजातलाई आफ्नो जीवनभन्दा चुरोट प्यारो लाग्यो क्यार ।

साह्रै भएपछि सुकन्याले रायनलाई बोलाइन् र हस्पिटल पुर्‍याइन् । त्यतिबेला पारिजातको अवस्था कस्तो थियो भने राम्रोसम्म सुत्न समेत नसक्ने । एकातिर पारिजात दुखाइको पीडामा थिइन्, अर्कोतर्फ चुरोट माग्थिन् । डाक्टरको सल्लाह अनुसार एक पटकमा एकदुई पफ मात्र लिन्थिन् परिजात ।

सबैको चाह थियो पारिजात घर फर्किउन् । तर, उनलाई आइर्सीयू उकाल्नुपर्ने भयो ।

त्यहीबीचमा उनलाई उपचारका लागि हङकङ पुर्‍याउने छलफल भयो । तर, पारिजातको अवस्था थप जटिल बन्दै थियो । पारिजातको स्वास्थ्य स्थिर बन्न निकै कठिन भयो ।

फेरि विदेश लैजानका लागि पासपोर्ट बनाउनुपर्ने । त्यसका लागि पारिजातसँग नागरिकता छैन । परेन फसाद !

तर, आधा घण्टामै पासपोर्ट तयार भएर हस्पिटलमा आइपुग्यो । नागरिकताविनै ।

त्यो पासपोर्टमा पारिजातले भने हस्ताक्षर गर्न सकिनन् । किनकि पारिजात लेख्न सक्ने अवस्थामा नै थिइनन् । त्यतिबेला सुकन्याले पारिजातको हात विस्तारै तानिन् र ल्याप्चे लगाइदिइन् ।

पारिजातको स्वास्थ्य अवस्था स्थिर हुँदै भएन । त्यसैले, उनले ल्याप्चे लगाएको पासपोर्ट प्रयोगमै आएन । पारिजातलाई नेपालको नागरिकता प्रयोग गर्न त लेखेकै थिएन । बल्लतल्ल बनेको पासपोर्ट पनि प्रयोग गर्न लेखेको रहेनछ । तर, नेपाली साहित्यलाई अमूल्य सम्पत्ति दिएर गइन्, पारिजात ।

****

सुकन्यालाई देख्दा लाग्थ्यो, उनी दिदीको सम्झनामा थप डुब्न चाहन्छिन् ।

त्यहीबेला हामीले अपुष्ट प्रश्न फ्याक्यौं, ‘हजुर नभएको भए विष्णुकमारी वाइवा पारिजात हुँदैनथिइन् भन्नेहरु पनि छन् नि ?’

सुकन्या कत्ति पनि जस आफूले लिन चाहँदिनन् । उनीबाट माया बग्छ, ‘पारिजात नभएको भए सुकन्या पनि हुन्नथी । म त भन्छु- दिदीले मलाई उसँगै अमर पारी ।’

सुकन्या अहिले पनि आफूलाई निकै निःसहाय ठान्छिन् । समुन्द्रको कुभिन्डोजस्तो मान्छिन् । उनले बार्तालाई टुंगाइन्, ‘अहिले पनि म स-साना कुराले तिल्मिलाउँछु । आफूलाई बलियो ठान्दिनँ । दिदी भएको भए यो हाल हुन्थेन ।’

अहिले घरबाहिर उनले नै स्थापना गरेको स्कुल छ । केटाकेटीहरु खेलिरहेका छन् । बाहिर निस्किएका सुकन्याका छोरा घर आइपुगेका छैनन् । उनलाई खोकी लागेको छ ।

उनी खोक्दै पारिजातको एल्बम खोज्न हिँडिन् ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर







www.onlinekhabar.com बाट साभार

No comments:

Post a Comment