Sunday, December 24, 2023

'साहित्यमा शान्तदास' कार्यक्रमको आयोजना

'साहित्यमा शान्तदास'

पुस १३, २०८०





पारिजात स्मृति केन्द्रको आयोजनामा यही २०८० साल पुस १३ गते साहित्यमा शान्तदास' कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा साहित्यकार शान्तदास मानन्धरका व्यक्तित्वका विविध पाटाहरूमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना विचारहरू राखेका थिए । विचार राख्ने क्रममा मार्क्सवादी चिन्तक निनु चापागाईले शान्तदास मानन्धरको बालसाहित्यकार रूपमा बढी चर्चा भए पनि साहित्यका अन्य विधामा पनि महत्वपूर्ण योगदान रहेको बताए ।

त्यसैगरी अर्का वक्ता मार्क्सवादी चिन्तक रामराज रेग्मीले 'प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान' विषयक आफ्नो विचारपत्र प्रस्तुत गर्दै सत्ताधारीहरूले चिन्न नसके पनि शान्तदास जनताको हृदयमा बस्न सफल भएको बताए ।

कार्यक्रमका अर्का वक्ता नेपाल भाषाका प्रसिद्ध साहित्यकार मल्ल के सुन्दरले वि. सं. २०२२ सालदेखि सामाजिक जागरणको अभियानमा शान्तदास  जहिले पनि र जस्तोसुकै परिस्थितिमा  उत्तिकै सक्रियताका साथ अघि बढेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले चीनका प्रसिद्ध साहित्यकार लुसुन र शान्तदास मानन्धरका  केही स्वभावहरू मिल्दोजुल्दो रहेको आफूलाई लागेको बताए ।

साहित्यकार डा. यादेवी ढकालले शान्तदास मानन्धरले बालसाहित्यमा पुर्‍याउनुभएको योगदानको विशेष चर्चा गरिन् ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा आयोजित  उक्त कार्यक्रममा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन स्मृति केन्द्रका सदस्य सीता शर्माले  गरेकी थिइन् ।

000

 

www.dayitwabodh.com बाट साभार 























कार्यक्रममा प्रस्तुत विचारपत्र 

प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान


- रामराज रेग्मी

शान्तदासजीले जीवनको पछिल्लो अवधिमा उच्च श्रेणीको बाल साहित्यकारको पहिचान बनाउन सफलता प्राप्त गरेका छन् । उनको निधनका अवसरमा र त्यसपछि प्रायजसोले यही कार्यलाई लिएर उनको उच्च प्रशंसा गरेका छन् । उनले जीवनभर बालखुराक मात्र पस्किए भनिएको छ । तर उनको पहिचान अन्य क्षेत्रका साहित्यिक र राजनीतिक कार्यहरूबाट पनि स्थापित भएको छ । उनलाई अलि फराकिलो क्षितिजमा नियाल्नु पर्दछ भन्ने लाग्दछ । शान्तदासका जगतलाई बुझ्ने र जीवनलाई फेर्ने माध्यम तीनवटा थिए – राजनीति शिक्षा र साहित्य । जीवनका भिन्नभिन्न कालखण्डमा उनले यी तीनमध्ये कहिले एउटालाई, कहिले अर्कोलाई प्राथमिकता दिए (सङ्ग्रौला, २०८० :  कोशेली) । 

अनुवादक र लेखकका रूपमा शान्तदास

झण्डै डेढ दशकको शिक्षण कार्यबाट अवकास लिएपछि शान्तदास बसन्तपुरस्थित नेपाल चीन मैत्री सङ्घमा पुस्तकालय सन्चालक र अनुवादकका रूपमा कार्यरत रहे । त्यस संस्थामा बेइजिङ रेभ्यू, चाइनिज लिटरेचर, सचित्र चीनजस्ता माक्र्सवादी समाचार पत्रपत्रिकाहरू र साहित्यिक सङ्कलनहरू आउँथे । त्यहाँ नेपाल चीन मैत्री सङ्घले नेपालीमा अनुवाद गरेका र विदेशी भाषा प्रकाशन गृह बेइजिङबाट अङ्ग्रेजीमा प्रकाशित भएका पुस्तकहरू उपलब्ध थिए । दुवै थरी पुस्तकहरू र पत्रपत्रिकाहरू माग गर्ने व्यक्ति वा संस्थालाई निशुल्क वितरण गरिन्थ्यो (सङ्ग्रौला, २०८० :  कोशेली) । संस्थाले माओको जन्मदिन, लु शुुनको जन्मजयन्ति र चिनिया महत्वपूर्ण पर्वका अवसरमा सम्बन्धित विषयवस्तुबारे गोष्ठी र प्रवचनहरूको आयोजना गर्दथ्यो । त्यस संस्थामा शान्तदास र गोविन्द भट्टले अङ्ग्रेजी भाषामा प्रकाशित चिनिया पुस्तकहरू र साहित्यहरू नेपालीमा अनुवाद गर्दथे । विशेषगरी गोविन्द भट्टले दर्शन र राजनीति सम्बन्धी पुस्तक र शान्तदासले साहित्य सम्बन्धी पुस्तकहरू अनुवाद गर्दथे । 

नेपालको राजनीतिक आन्दोलन फूट र कलहले तितरवितर भएको तत्कालीन अवस्थामा नेपाल चीन मैत्री सङ्घ राजधानीका वामपन्थी युवा विद्यार्थीका लागि प्रेरणाको स्रोत थियो । त्यहाँ प्राप्त पुस्तकहरू र पत्रपत्रिकाले माक्र्सवाद, लेनिनवाद र माओवादको प्रचारप्रसारमा अग्रणी भूमिका निभाएका थिए । विशेषगरी गोविन्द भट्टले अनुवाद गरेका माओका दार्शनिक निवन्धहरू र शान्तदासले लु शुुनबारे गरेको अनुवादले धेरै बुद्धिजीवी र साहित्यकारहरूमा आशा जगाएको थियो । नेपाल चीन मैत्री सङ्घका कामबाहेक गोविन्द भट्ट र शान्तदास दुवै जनाले आफ्ना निवासमा युवा विद्यार्थीहरूलाई माक्र्सवादीे ज्ञान प्रदान गर्दथे । तिनीहरूले सधैँ जनतालाई सर्वोपरी राखी माक्र्सवादलाई अझ त्यसमा पनि नेपालको सन्दर्भमा माओका सिद्धान्तलाई दह्रो गरी पक्डिन जोड दिन्थे । त्यतिखेर चीनमा छेडिएको सांस्कृतिक क्रान्तिको प्रभाव, नेपाली भूमिनजिक भारतको नक्सालवाडीमा सञ्चालित सशस्त्र सङ्घर्षको रापताप र नेपाल चीन मैत्री सङ्घका यी दुई विद्वान् श्रष्टाहरूको भूमिकाले कतिपय विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू बुर्जुवा डिग्री बहिस्कार गरी जनताकाबीच काम गर्नका लागि गाउँ पसे पनि । यहाँ यथार्थ वास्तविकतालाई नै उल्लेख गरिएको छ, कुनै बढाइचढाइ गरिएको छैन । 

शान्तदासको निजी सवालमा सिङ्गो २०२० को दशक र २०३० को दशकको माझामाझीसम्म उनले बाहिरफेर प्रगतिवादी साहित्यको क्षेत्रमा अनुवादक र लेखककै भूमिका निभाए । नेपाल चीन मैत्री सङ्घबाट बाहिरिएपछि उनले आफ्नै घरमा प्रेस राखी व्यवसाय सञ्चालन गर्नुका साथै कृतिहरूका प्रकाशन र अनुवादलाई निरन्तरता दिए । उनले १ दर्जनभन्दा बढी कृतिहरूको अनुवाद गरेका छन् जस्मध्ये ४ वटा त लुशुनकै कृति छन् । लुश्युनलाई नेपालीहरूमाझ स्थापित गराउने व्यक्ति शान्तदासनै हुन् भन्दा फरक परोइन । उनी लु शुनको लेखन शैलीबाट यति प्रभावित थिए कि उनका कतिपय मौलिक निवन्धात्मक रचनाहरू लु शुुनकै शैलीमा व्यङ्गात्मक र प्रतिकात्मक हुन्थे । कतिपयले उनलाई ‘झोँछे गल्लीको लु शुन’ पनि भन्दथे (अन्नपूर्ण पोष्ट :  फुर्सद) । उनको चिनिया उपन्यास ‘ओयाङ हाइको गीत’ को अनुवादले नेपालको तत्कालीन वाम राजनीतिमा यौटा छुट्टै तरङ्ग उत्पन्न गरेको थियो । उनका मौलिक रचनाका विषयवस्तु पनि उत्पीडित जनताले भोगेका पीडा  र सामाजिक विकृति हुन्थे र उनको कलम तिनको उन्मूलनको पक्षमा सोझिन्थ्यो । उनका निवन्धहरू प्रेरणादायी हुनुका साथै व्यवहारिक थिए । ‘मरुभूमिमा एक राज्य’ उनको पहिलो कृति हो जस्ले हाम्रो समाजको वास्तविक चरित्र, यसको निदान र रूपान्तरणबारे माक्र्सवादी दृष्टिकोण प्रस्तुत गर्दछ । उनले जीवनमा चालेका प्रत्येक कदममा त्यस कृतिको छाप देखिन्छ ।

राजनीतिक व्यक्तित्वका रूपमा शान्तदास

कतिपय प्रगतिवादी साहित्यकारहरू, राजनीतिक नेताहरू र क्रान्तिकारी बुद्धिजीवीहरूले शान्तदासबारे स्पष्ट जानकारी हासिल गर्न नसकेको सवाल उनको राजनीतिक संलग्नता र साङ्गठनिक पाटो हो । २०१७ सालको राजनीतिक कू हुनभन्दा पूर्व उनी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता थिए र २०१५ को निर्वाचनमा प्रचारप्रसारमा भाग लिन पुगेका थिए । जुनबेला शान्तदास नेपाल चीन मैत्री सङ्घमा कार्यरत थिए, त्यतिखेर उनीलगायतका केही व्यक्तिहरू भूमिगत रूपमा नेपाल कम्युनिष्ट पार्टीको वागमती प्रान्तीय कमिटीमा कार्यरत थिए । पार्टीमाथि प्रतिबन्ध लागेको २०२० को दशकको अवधिमा नेपाल कम्युनिष्ट पार्टी फूट र विभाजनको पीडाबाट गुज्रिएको थियो । यस्तैमा शान्तदाससमेत रहेको बागमती प्रान्तीय कमिटीले भारतको वनारसमा कार्यालय सञ्चालन गरी कार्यरत पुष्पलाल देशमा आई भूमिगत रूपमा आधार इलाका निर्माण गरी क्रान्तिको नेतृत्व गर्नुुपर्दछ भन्ने मान्यता अँगाली उनीसँग संवाद गर्न पुगेको थियोे । तर पुष्पलालले नेपालभित्र आई काम गर्न अस्वीकार गरेपछि प्रान्तीय कमिटी नेपाल कम्युनिष्ट पार्टीको मूलधारबाट अलग्गिएर अन्य पृथक समुहहरूझैँ स्वतन्त्र तवरले कार्यरत रहन थाल्यो ।

निर्मल लामा पनि त्यसै कमिटीमा कार्यरत थिए र उनको गिरफ्तारीपछि देशभित्रबाट भूमिगत तवरले पार्टी सन्चालन गर्ने दायित्व बहन गर्नका लागि प्रान्तीय कमिटीमा केही फेरबदल गरी श्यामप्रसादको नेतृत्वमा अलग पार्टीको निर्माण गरियो । अन्तराष्ट्रिय रूपमा कम्युनिष्ट शक्तिमाथि दमन भएको र नेपालमा पनि दरवारियाहरू पार्टीमा घुसेको स्थितिलाई आंकलन गरी पार्टीलाई अति नै गोप्य ढङ्गले चलाउनु पर्दछ भन्ने नीति लिएर श्यामप्रसाद नेतृत्वको पार्टी सङ्गठनले त्यहीअनुरूपको कार्यशैली ग्रहण गर्‍यो (आचार्य, २०७८ :  २९९) । त्यस पार्टीको नाम ‘नेपालका कम्युनिष्टहरूको सङ्गठन (माओवादी)’ राखियो । पछि पार्टीभित्रै माओवाद र माओविचारधारामा बहस भएपछि विवादमा नमुछिन माओवादी पदावलीलाई हटाएर मालेमावादी राखियो । 

नेपालका कम्युनिष्टहरूको सङ्गठन (मालेमावादी)का सतहमा रही काम गर्ने नेताहरूमा शान्तदास, कुलमानसिंह भण्डारी, महेशमान श्रेष्ठ, गोविन्द भट्ट, शेषमणि आचार्य आदि थिए । सतहमा रहेर काम गर्नेहरूले सम्पर्क व्यक्तिका रूपमा क्रान्ति र परिवर्तनका पक्षधरहरूसँग भेटघाट र छलफल गरेपछि काइँला बा’, ‘दिल’ आदि छद्म नाम गरेका नेता श्यामप्रसादसँग भेटघाट गराउने गर्दथे । यही प्रक्रियाबाट विभिन्न समयमा अष्टलक्ष्मी साक्य, सुलोचना मानन्धर, सोनाम साथी, गणेश पण्डित, शारदारमण नेपाल आदि क्रान्तिकारीहरू श्यामप्रसादजीको पहूँचमा पुगेको र प्रशिक्षित भएको बुझिन्छ (मानन्धर, २०७८ :  ३३३)  (नेपाल, २०८० :  ४) । 

सतहमा काम गर्ने शान्तदासजीजस्ता नेताहरूले भेटघाट र छलफलको प्रारम्भिक अवस्थामा दिने सामग्रीहरू बैध तर कार्यकर्तालाई सतर्कताका साथ काम गर्न र तीखार्न सहयोग पुग्ने खालका हुन्थे । खगेन्द्र सङ्ग्रौलाजीले आफूलाई शान्तदासले हस्तलिखित गहन कुराहरू खासै नभएका आफ्नो गुटका राजनीतिक लिखतहरू पढेर सुनाउँथे (सङ्ग्रौला, २०८० :  कोशेली) भनी जुन भनेका छन्, ती त्यस्तै बैध सामग्री हुनुपर्दछ । दस्तावेजहरू र अवैध सामग्रीहरू त पार्टीको सदस्यता लिनेहरूले मात्र पाउँथे जसका लागि निकै कठीन परीक्षणकाल पार गर्नुपर्दथ्यो । 

यस पार्टीको प्रभाव क्षेत्र राजधानीका जिल्लाहरू, मकवानपुर, धादिङ र गण्डकी प्रदेशका तनहूँ, लमजुङ र कास्की भएको जानकारी छ । विश्वविद्यालयको डिग्री बहिस्कार गरी गाउँ पस्ने नारा यही पार्टी नेतृत्वको केन्द्रबाट आएको थियो जस्को प्रभावमा यसका कार्यकर्ता र बाहिरका क्रान्तिकारी युवा विद्यार्थीहरू पनि परेका थिए (मानन्धर, २०८० : ३३६) । 

२०३० को दशकतिरबाट नेकपा (माले) र नेकपा (चौम) जस्ता ठूला भूमिगत दलहरू उदय भएको र तिनीहरूले अद्र्धभूमिगत कार्यशैली अपनाएकाले नेपालका कम्युनिष्टहरूको सङ्गठनका कतिपय कार्यकर्ताहरू त्यतातिर ढल्कँदा पार्टी सीमित रूपमा २०४० को दशकसम्म कार्यरत रह्यो । अति नै भूमिगत कार्यशैली अपनाएको र बीचको तहमा रहेर तलका समुहहरूलाई परिचालन गर्नेहरू पलायन हुँदा तलका एकाइहरू र कमिटीहरू अलपत्र परी तितरवितर हुने परिस्थिति पनि बन्यो (मानन्धर, २०८० : ३३७) । २०४० को अन्तिम अवधिमा श्यामप्रसाद सतहमा उत्रिएपछि बाँकि रहेका साथीहरूलाई विभिन्न दलमा सल्लाहले पठाउँदा पार्टी विलीन हुन गयो । त्यसपछि शान्तदास र श्यामप्रसादजीहरू पूर्ण रूपमा साहित्यको क्षेत्रमा क्रियाशील हुने बाटो समात्न पुगे ।

एक तपस्वी बाल साहित्यकारका रूपमा शान्तदास 

पहिला त शान्तदास एक भूमिगत राजनीति कर्मी र एक प्रगतिवादी साहित्यकारका रूपमा कार्यरत थिए । जीविकाका लागि उनले आफ्नो झोँछेको घरको भुइँतलामा प्रेस सञ्चालन गरेका पनि थिए । ग्राहकका प्रेस सम्बन्धी काम गरिदिनुका साथै उनले आफूले लेख्ने कृतिहरू आफ्नै प्रेसमा छपाई वितरण गर्दथे । पछि उनी २०३० को दशकको माझामाझीबाट बालसाहित्यको क्षेत्रमा लागे । उनको सोचाइ थियो – आजका बालबालिका भोलि देश हाँक्ने अग्रिम मोर्चामा पुग्न सक्छन् । तिनीहरूलाई सानैदेखि उचित संस्कार र शिक्षादीक्षामा हुर्काउन सकियो भने समाजको रथलाई तिनीहरूले न्यायपूर्ण समानताको दिशातर्फ लैजाने सामथ्र्य राख्दछन् । 

शान्तदासले आफैँ बालसाहित्यको सृजना गर्दथे र अन्य साहित्यकारहरूलाई यसमा उत्प्रेरित गर्दथे पनि । उनले श्यामप्रसाद, जनकप्रसाद हुमागाई, खगेन्द्र सङ्ग्रोला, शारदारमण नेपाल, रामबाबु सुवेदी, गोपालराज मैनाली, मुकेश चालिसे आदि प्रगतिवादी साहित्यकारहरूलाई वाल साहित्यमा कलम चलाउन प्रेरित गरेका छन् । एउटै व्यक्तिको रचनामाभन्दा विभिन्न व्यक्तिको रचनाबाट साहित्यमा विविधताको स्वाद बालबालिकाले पाउँछन् भनी उनी सोच्दथे । भूतप्रेत बोक्सी पिचास विषयवस्तु भएका अन्धविश्वासयुक्त सामग्री र ईश्वर एवं राजा महाराजाका महिमा गाउने स्तुतीवादी रचनाहरूले कलिला बालबालिकाको दिमागलाई प्रदूषित गर्दछन् भनी उनी भौतिकवादी र प्रकृतिवादी विषयवस्तु भएका सामग्री तयार गर्थे र गर्न लगाउँथे । 

बजार व्यवस्थापन चित्तबुझ्दो नभएकाले शान्तदास आफैँ पुस्तकले भरिएको झोला भिरी विद्यालय चहार्थे र बाबुनानीहरूलाई निकै आकर्षक हाउभाउमा कथा, गीत, कविता आदि सुनाउँथे । बालबालिकाको सङ्गतबाट उनीहरूको रुची के हुन्छ र कसरी ध्यानाकर्षण गर्नुपर्छ भन्ने कुरा उनले बुझेका थिए । बाल मनोविज्ञान बुझ्ने उनी एक प्रकारका बौद्धिक चिकित्सक नै थिए भन्दा फरक परोइन । पानीको कथा, माटोको कथा, हजुरआमाकोले सुनाएको भूकम्पको कथा, किताव घरको लामपुच्छ्रे , म जोकर बन्छु आदि बाल साहित्यका कथाले वाल मस्तिष्कलाई छोएको देखिन्छ । बाल मस्तिष्कमा उनले समाजवादको अमिट छाप पार्ने प्रयत्न गरेका छन् ।

सुरुमा त यस पङ्तिकारले शान्तदासको बालसाहित्य रचना गर्ने कार्यलाई त्यति महŒवको ठानेको थिएन । त्यति धेरै क्षमता भएका कुशल श्रष्टाले बौद्धिक जगत्का लागि स्तरीय बौद्धिक काम नगरेर बाल साहित्यको सामान्य क्षेत्रमा किन हात हालेका होलान् भन्ने लागेको थियो । यस्तै सोचाइ सायद अरूको पनि थियो होला । तर जीवनको लामो काखण्डसम्म उनी त्यही सामान्य भनिएको क्षेत्रमा साधनारत रहे । आज साहित्यिक जगत्ले बाल जगत्को उनकोकामलाई उच्च मूल्याङ्कन गरेको अनुभूति गरेको छु । उनी नेवासास पुरस्कार, कविताराम बालसाहित्य प्रवद्र्धन सम्मान, हृदयचन्द्र स्मृति सम्मान, पारिजात बालसािहत्य सम्मान, देवकोटा लु शुन प्रज्ञा पुरस्कार, जगदम्बा श्री सम्मान र युद्धप्रसाद मिश्र स्मृति पुरस्कारजस्ता थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् । लगनशीलता र इमान्दारिताका साथ स्वच्छ भावनाले गरेको कामको उचित मूल्याङ्कन हुने रहेछ भन्ने लागेको छ । 

 शान्तदासको आदर्श जीवन शैली 

शान्तदास भनाइमा एउटा कुरा र गराइमा अर्को कुरा गर्ने व्यक्ति थिएनन् । उनले जे गर्न सक्थे, त्यही कुराको वचन दिन्थे । उनलाई आफ्नो आस्थामाथि दृढ विश्वास थियो (सङ्ग्रौला, २०८०  कोशेली) । उनको रहनसहन सादा थियो । उनी जहिले जस्लाई पनि फारोतिनो गरी चल्नुपर्छ भन्दथे । उनको लवाइ साधारण थियो । सामान्यतया गर्मीको समयमा कमिज र सुरवाल लगाउँथे । जाडामा भने त्यसमाथि सुइटर वेष्ट कोट वा कोट थप्दथे र घाँटीमा मफलर बेर्दथे । शीर कहिले मुडुलै हुन्थ्यो त कहिले भादगाउँले कालो टोपीमा सजिन्थे । उनी कसैको अनावश्यक आलोचना गरेर बस्दैनथे, न त बोल्दा कसैलाई होच्याएर बोल्थे । उनमा वर्गीय चेतना प्रवल थियो । उनी तल्लो वर्गका मानिसलाई थिचोमिचो गर्न हुँदैन र सम्मान गर्नुपर्छ भन्दथे र तीसँग कुरागर्दा आदरार्थी वाक्य प्रयोग गर्दथे । 

शान्तदास स्वावलम्बी थिए र आफ्ना काम प्राय आफैँ गर्दथे । नेपाल चीन मैत्री सङ्घमा कार्यरत रहँदा त्यहाँ पियनको दरबन्दी थियो र त्यसमा कार्यरत कर्मचारी पनि थिए । तर उनले व्यक्तिहरू वा संस्थाले पुस्तकहरू माग गर्दा पियनलाई नअह्राई आफैँ डोरीले बाँधी बण्डल बनाएर दिने गर्दथे । जीवनको ९ दशक पुग्न लागेका बखत पनि उनी सक्रिय, फूर्तिला र जाँगरिला थिए । पहिला त कुलमानसिंहजस्ता कलाकारलाई बालसाहित्यका सामग्रीहरूको चित्र बनाइदिन आग्रह गर्ने शान्तदास यसमा सधैँधरि अरूको सहयोग उपलब्ध हुन नसक्ने देखेपछि आफैँ चित्र बनाउने कार्यमा जुटे । जीवनको अन्तिम अवधितिर पनि उनी आफैँ कम्प्यूटरमा लेख कथा लेख्ने र चित्र कोर्ने गर्दथे । 

शान्तदासमा सहयोगी भावना थियो । साथीभाइलाई अप्ठेरो परेका बेला आफूले गरेर हुने भए आफैँ मद्दत गर्न तम्सन्थे भने आफूले गरेर नहुने काममा अरूलाई भनेर हुन्छ भने भनेर सहयोग गर्न लगाउँथे । शान्तदासले कुनै महत्वाकांक्षा पालेनन् । आत्मप्रचार र प्रशंसा, पुरस्कार र पगरी एवं हाईहाई र स्याबासीप्रति उनमा कुनै लालसा थिएन । मनमोहन प्रधानमन्त्री भएका बखत उनलाई हृदयघात हुँदा सरकारसँग सम्बन्धित केही साहित्यकार मित्रहरूले सरकारी सहयोगमा उपचार गराउने प्रस्ताव लगेकोमा उनले आफ्नो औकात होउन्जेल राज्यकोषको रकम दुरूपयोग गर्न उचित हुँदैन भनी पन्छाइदिए (अन्नपूर्ण पोष्ट  फुर्सद) । उनका लागि जीवनको आनन्द, पुरस्कार र प्रशंसाको मुहान आफ्नो अभिष्ट अनुरूपको सिर्जना र केवल सिर्जना थियो (सङ्ग्रौला, २०८० : कोशेली) । एकलव्य झैँ कतै दायावाया नहेरी उनी आफ्नो साधनामा लागिरहे । आफूले गरेको काम सफल होस् र त्यसले प्रतिफल दिओस् बस यत्ति चाहना थियो उनमा । उनले अरूलाई दिए तर अरूबाट लिएनन् ।  

अन्त्यमा

दुःखको कुरा, मार्क्सवादको जामा पहिरिएर सत्ता सञ्चालन गर्नेहरूले चिन्ने व्यक्ति शान्तदास भएनन् । उनको निधनले ती सत्ताधारीहरूलाई कत्ति पनि छोएन, तिनका दृष्टिमा तिनी उपेक्षित नै रहे । गोकुल जोशी, युद्धप्रसाद मिश्र, श्यामप्रसादजस्ता प्रगतिवादी श्रष्टाहरूप्रतिको उपेक्षा उनीमाथि पनि दोहोरियो । तर जनताको हृदयमा उनले अमिट छाप छोडेर गएका छन् । 


सन्दर्भ स्रोत 

अन्नपूर्ण पोष्ट, झोँछे गल्लीमा एउटा लु शुन, पुष २ २०७३, annapurnapost.com

आचार्य, शेषमणि, २०७८, मेरो बुझाइमा श्यामप्रसाद, स्मृति बिम्बमा श्यामप्रसाद, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, मकवानपुर

नेपाल, शारदारमण, २०८०, शान्तदास मानन्धर : लक्ष्यभेदी जाँगरका प्रतीक व्यक्तित्व, दायित्वबोध, मंसिर ४

मानन्धर, सुलोचना, २०७८, भूमिगत काइँला बा, स्मृति बिम्बमा श्यामप्रसाद, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, मकवानपुर

सङ्ग्रौला, खगेन्द्र, २०८०, उपेक्षित शान्दास, कान्तिपुर दैनिक, मंसिर ९  


000 


No comments:

Post a Comment