Saturday, November 6, 2021

पारिजात, साइबाबा र सरकार - भरत पोखरेल

 

जब सत्ताको स्वार्थमा धक्का लाग्ने देखिन्छ सत्ताले असक्तहरूलाई पनि आहत गर्ने रहेछ । नेपालको जनआन्दोलन २०४६ मा शारीरिक रूपले असक्त साहित्यकार पारिजात जब पञ्चायत निरंकुशताको विरोधमा सडकमा उभिइन उनलाई पनि सरकारले सहेन । पारिजात जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन । वि. स. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारहरूको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात अघिल्लो पङ्तिमा बसी कालोपट्टी बाँधी विरोध प्रदर्शन सफल पार्न सहभागी भइन । पारिजात लगायत धेरै साहित्यकारहरूलाई सडकबाट लखेटियो । पारिजात जीवनको परिपक्व समयमा नेपालको कम्युनिस्ट आन्दोलनमा आबद्ध भइ प्रगतिशील साहित्य सिर्जनामा समर्पित भइन । आज बैशाख ५ पारिजात स्मृति दिवस ।


भारतका मानवअधिकारकर्मी, दिल्ली विश्वविद्यालयका अंग्रेजीका प्राध्यापक डा. जी. एन. साइबाबा मे ९, २०१४ देखि भारतको केन्द्रीय कारागार नागपुरमा कैदी जीवन विताइरहेका छन् । गादचिरोली सेसन कोर्टले उनलाई मार्च ७, २०१७ मा आजीवन काराबासको सजाय सुनायो । उनी जेलमा सानोकोठा (अण्डा सेल) मा सकस रूपमा जीवन विताइरहेका छन् । साइबाबा शारीरिक रूपले पोलियो ग्रसित व्यक्ति हुन् जसको कम्मरमुनिको भाग ९० प्रतिशत अपाङ्ग छ । उनी ह्वील चेयरको सहायता बेगर हिँडडुल पनि गर्न सक्तैनन् । दिल्ली विश्वविद्यालयमा प्राध्यापन गर्दा उनले उनका विद्यार्थीहरूसँगै भारत सरकारको आदिवासी, दलित दवाउने ग्रीनहन्ट कार्यवाहीको विरोध गरेका थिए । आदिवासी, दलित र क्रान्तिकारीहरूको आन्दोलनलाई समर्थन गरेका थिए ।

विश्वमा कोभिड–१९ को बेला साइबाबा प्रतिरक्षा र रिहाइ समितिले हालै उनको रिहाइको माग गरेको छ । समितिमा भारतका प्रख्यात व्यक्तित्वहरू प्रा. हरगोपाल, प्रा. जगमोहन सिंह, प्रा. मनोरञ्जन मोहन्थी, प्रा. अमित भादुरी, अरुनधाती राय, नन्दीता नारायण आदि रहेका छन् । त्यसैगरी क्यानाडामा शनिबार अप्रिल ११, २०२० मा साइबाबाको रिहाइका लागि भर्चुअल जुम र्याली गरिएको छ । र्यालीलाई क्यानाडाका शिक्षाविद एनी ओहाना र सुसन रुजिकले सम्बोधन गरेका थिए । उनीहरूले यसबारे क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पनि ज्ञापनपत्र दिने बताए । र्याली कोरोनाका कारण एकलाख बढी मानिसको मृत्युको मौन धारणबाट सुरु गरिएको थियो । हाम्रो पनि साइबाबा रिहाइका लागि ऐक्यबद्धता ।


साभार :

No comments:

Post a Comment