रोजगारको खोजीमा पूर्वीनेपालका बस्तीबाट मुग्लान पस्ने प्रथा निकै पुरानो हो। यस्तै मेसोमा पूर्वीनेपालको संखुवासभा जिल्लाको उखुवा गाउँबाट धनमान धुरा (मुखिया) रोजगारको खोजीमा भारतको दार्जीलिङ पसे र त्यहाँको लिगिया चियाकमानमा कुल्लीको काम गर्दागर्दै रहँदाबस्दा त्यहीं घरजमसमेत गर्न पुगे। उनले आफ्नो छोरा एसके वाइबालाई एलोपेथिक डाक्टर पनि बनाए। ती एसके वाइबालाई कमानका गाउलेहरू डाक्टर बाबु भनी सम्बोधन गर्थे।
हुन त त्यो कमानको गरिब बस्तीमा एउटा नेपालीको छोरो डाक्टर बन्नु निकै गर्वको विषय थियो तर ती डाक्टरको जीवनमा भने एकपछि अर्काे विनाशक हुन्डरी आए। बिहे गरेको केही समयपछि नै उनकी प्राणप्यारी जीवनसंगिनीको मृत्यु भयो। यसपछि अमृत योञ्जनसित पुनः बिहे गरे र कान्छी पत्नीका रूपमा तिनलाई भित्याए। उनबाट छोरी हिसन वाइबा र छोरा शिवकुमार जन्मिए, अर्की कान्छी छोरी गर्भमै छँदा तिनै कान्छी पत्नी अमृत योञ्जन पनि बितिन्। छोरा शिवकुमार पनि बिते। यस्तो मानमाथि भुक्तमान सहिरहेका बेली उनीबाट अर्की बच्ची पनि जन्मिन्। जन्मदा त उनी एउटी साधारण बच्ची थिइन् तर विष्णुकुमारी वाइबा नाम गरिएकी ती बच्ची कालान्तरमा नेपाली साहित्य संसारमा पारिजातका नामले अमर अजर बन्न पुगिन्।
डाक्टर बाबु अर्थात् एसके वाइबा आफ्नो जीवनमा यस्तो महाविपत्ती आइलागेपछि बिरक्तिँदै दुई छोरी विष्णु र सुकन्यालाई च्यापेर आफ्नो पितापुर्खाको देश नेपाल फर्किए। यो २०११ सालतिरको कुरा हो। एलोपेथिक डाक्टर एके वाइबालाई लागेको थियो– यो तेज दिमाग भएकी ठूली छोरी अर्थात् विष्णुलाई विज्ञान विषय पढाएर डाक्टर बनाउनुपर्छ। दार्जीलिङ छँदै एसकेले यस्तो सोचेका थिए र विद्यालयमा भर्ना भएर माध्यमिक तहसम्म उनले त्यहीं विज्ञान विषय पढेकी पनि थिइन्। तर आफ्नो किशोरावस्थामै आमा र दाजु गुमाउनुपर्दाको पीडाले उनलाई विदिर्ण बनाइसकेको थियो। सँगसँगै डाक्टर बन्ने चाहनामाथि तुषारापात गरिदियो।
यता काठमाडौं आगमनपछि यहाँ लक्ष्मीप्रसाद देवकोटा, भूपी सेरचन, शंकर लामिछाने, द्वारिका श्रेष्ठ, पोषण पाण्डे, मोहन हिमांशु थापा तथा ध्रुवचन्द्र गौतम आदिको लोकप्रिय लेखन र उता दार्जीलिङमा इन्द्रबहादुर राई, बैरागी काइला तथा ईश्वर बल्लभहरूको आयामेली आन्दोलनले समग्र साहित्य जगत्लाई नै राप र ताप दिइरहेका बेला उनको ध्यान पनि साहित्यतिर मोडिन पुग्यो। यसरी नेपाली साहित्य र संगीतका क्षेत्रमा स्वर्णिम युगको बिहानीमा उनले पद्मकन्या विद्याश्रमबाट माध्यमिक र पद्मकन्या क्याम्पसबाट आईए र बीए गर्दा उनी विष्णुकुमारी वाइबाबाट पारिजात बनिसकेकी थिइन्। किर्केगार्ड, चे ग्वेभारा, लेनिन र माओत्से तुङलाई बुझिसकेकी थिइन्।
शिरीषको फूलको आगमनअगाडि नै पारिजात कविताको माध्यमबाट साहित्य क्षेत्रमा उदाएकी हुन्। आकांक्षा कवितासंग्रह (२०१४) यसको साक्षी हो। झन्डै चार दशक लामो लेखन यात्रामा कवि, कथाकार, उपन्यासकार, आत्मसंस्मरणकार तथा आख्यानेतर गद्य लेखकका रूपमा उनको परिचय बाँडिन पुगेको छ। लेखनमा यस्तो भए पनि मूलतः उपन्यासकार र संस्मरणकारका रूपमा उनको सार्थक परिचय रहन पुगेको छ। यो यात्रामा चिन्तनका दृष्टिले अस्तित्ववाद, विसगंतिवाद, राल्फाली सन्तति र अन्त्यमा यथार्थवादी माक्र्सवादी विचारमा उनी सक्रिय रहिन् र अन्त्यमा आत्मसात गरेको माक्र्सवादी चिन्तनमै उनी अडिग रहँदै मृत्युपर्यन्त संघर्षरत रहिन्। बैंसको मान्छे उपन्याससम्मको उनको विसगंतिवादी यात्रा त्यसपछि प्रगतिवादी बाटो समात्दै अनिँदो पहाडसम्म आइपुग्दा उनमा समाजवादी यथार्थवादले जरा गाडिसकेको थियो।
बीसको दशकदेखि क्रोनिक बाथ भनिने विशेष प्रकारको कुँजिने रोगबाट उनी पीडित हुन पुगिन्। यसअघि रोजगारका रूपमा रहको मदन मेमोरियल स्कुलको जागिरसमेत क्रूरशैलीको यो रोगका कारण उनले थाम्न सकिनन्। त्यसपछि उनको बाँच्ने र कर्मको आधार नै लेखन रह्यो र यसैमा उनी पूर्णकालीन् भइन्। २०४८ सालसम्म आइपुग्दा आकांक्षा, बैंसालु वर्तमानजस्ता कवितासंग्रह ,शिरीषको फूल, बैंसको मान्छे, अन्तर्मुखी, परिभाषित आँखाहरू, उसले रोजेको बाटो, तोरीबारी बाटा र सपनाहरूजस्ता उपन्यास, आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु तथा बधशाला जाँदाआउँदाजस्ता कथासंग्रह, धुपीसल्ला र लालीगुराँसको फेदमा, एउटा चित्रमय सुरुवात तथा अध्ययन र संघर्षजस्ता आत्मसंस्मरण उनले नेपाली समाजलाई पस्किइन्। आफ्नो आधिकांश तथा अशक्त शारीरिक अवस्थाका उपज हुन् यी कृति।
तीसको दशकतिर केही वर्ष तत्कालीन नेकपा (चौथो महाधिवेशन) को सदस्य र सोही पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघमा सम्बद्ध रहे पनि प्रत्यक्ष राजनीति पारिजातको रोजाइमा परेन। बरु मानव अधिकारका क्षेत्रमा उनको सहभागिता रह्यो भने उत्पीडित जातीय संगठनतिर उनले हरियो बत्ती देखाइन्। आफ्नो कुँजो शरीर आफ्नी बहिनी सुकन्या वाइबालाई जिम्मा लगाउँदै पारिजातले आफूलाई लेखनका माध्यमबाट स्वतन्त्रता र मुक्ति आन्दोलनमा समर्पण गरिन्। यस अर्थमा सुकन्या बहिनी मात्र रहिनन्; पारिजातकी आमा पनि बन्न पुगिन्, तर यो स्वीकारोक्ति पारिजातकै हो। आफ्नो कृति शिरीषको फूललाई लिएर उनको आफ्नैै पनि कुनै कालखण्डमा नकारात्मक टिप्पणी रह्यो भने कहिले आफैं मेरो शिरीषको फूलबाहेक अन्य कृति जलाइदिए पनि हुन्छ भन्ने टिप्पणी पनि उनले गरिन्। पञ्चायतको अन्त्यतिर प्रगतिशील लेखक संघ र तत्कालीन नेकपा (माले) सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक मञ्चका बीचको घम्साघम्सीमा उनले साहित्यकार मोदनाथ प्रश्रितलाई साइलकको उपमा दिएर एकाएक चर्चामा आएकी थिइन्।
उनको कृति शिरीषको फूलले मदन पुरस्कार पायो भने मदन पुरस्कार पाउने पहिलो महिला हकदार पनि उनै भइन्। पञ्चायती संविधानका एकजना डाफ्टकर्ता ऋषिकेश शाहसित सहजै सहकार्य गर्न सकिन् उनले तर मोदनाथ प्रश्रित आदिसित सकिनन् यो उनको पृथक् परिचय हुन पुग्यो। आजीवन नेपाल र नेपाली मात्रको उन्नयनमा लागिन्। तर नेपाली नागरिकताको प्रमाणपत्र उनको कहिल्यै बनेन। हुन त हरिभक्त कटुवाल, अरुणा लामा, तुलसी घिमिरे, इन्द्रबहादुर राई तथा शान्ति ठटालहरूसित पनि नेपाली नागरिकताको प्रमाणपत्र रहेन।
अझ घतलाग्दो र मर्मस्पर्शी कुरा त के छ भने लेखनकर्म उनको किशोरावस्थादेखि मृत्युको सम्मुख नपुग्दासम्म रह्यो तर जीवनको अन्तत्यमा रोगले आक्रान्त पार्दा सके विदेश लान पाए जीवन केही लम्बिन्छ कि भनेर उनका शुभेच्छुकले नागरिकता र राहदानी बनाउने क्रममा एकैपटक ती दुवैको आवेदन फाराम भर्दा उनले त्यसमा हस्ताक्षर गर्न सकिनन्। यस बेला उनले हस्ताक्षर गर्ने ठाउँमा ल्याप्चे लगाउनुपर्यो। आजीवन लेखनमै बिताउने एउटा स्रष्टाले कुनै दिन आफ्नो हस्ताक्षर गर्न पनि नसकेर ल्याप्चे लगाउनुपर्दाको क्षण कतिसम्म पीडादायी हुन्छ ? यस्तो पीडादायी क्षणको उनीबाहेक पहिला प्रत्यक्षदर्शी कथाकार तथा पत्रकार हरिगोविन्द लुइँटेल र कवि दुबसु क्षेत्री हुन पुगेका छन्। उनीहरूका मन त्यो क्षणमा कसरी संवेदित भयो होला ?
अध्ययन र संघर्ष उनको मृत्युपर्यन्त प्रकाशित भयो भने उनका समग्र रचनावलीको प्रकाशन निर्माण प्रकाशन नाम्ची सिक्किमको सत्प्रयासमा भयो। कवि गीतकार, राजनीतिज्ञ तथा भारत अधीनस्थ सिक्किम सरकारका तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङ किरणको पारिजात र नेपाली साहित्यप्रतिको सम्मान र समर्पणलाई सलाम गर्नैपर्छ। जीवनको उत्तराद्र्धमा रोगले आक्रान्त पार्दा पनि उनले सरकारसित हारगुहार गर्न रुचाइनन् र सगर्व घोषणा गरिन्– मृत्युपर्यन्त मेरो शवलाई प्रज्ञाप्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि नराखियोस् भनेर। अस्वस्थ र कमजोर शरीर र प्रजातन्त्रको पुनस्र्थापनापछि कामको धपेडीले बिरामी परी वीर अस्पतालमा रहँदा प्रगतिशील लेखक संघबाट प्राप्त सानो सहयोग रकम भने उनले सहर्ष स्विकारेकी थिइन्।
पञ्चायतकालमा केही प्रगतिशील युवाहरूले नियमित रूपमा सञ्चालन गर्ने गरेको साहित्यिक अभियान साहित्य सन्ध्यामा पारिजातको नियमित रूपमा सहभागिता रहन्थ्यो। हरेक महिनाको पहिलो शनिबार आयोजना हुने सो कार्यक्रममा तत्कालै त्यहाँ उपस्थित श्रोताबाट मूल्यांकन फाराम भराई उत्कृष्ट ठहरिएका कवितालाई त्यहीं तत्कालै श्र्रोेता पुरस्कार दिइने परिपाटी थियो। सो सन्ध्याको नियमित एउटा कार्यक्रममा पंक्तिकारले पनि उत्कृष्ट श्रोता पुरस्कार प्राप्त गरी उनै पारिजातका हातबाट ग्रहण गर्ने अवसर पाएको थियो।
यसअघि झापामा पञ्चायती शासकहरूले एउटा किशोर लक्ष्मी पाण्डेको हत्या गरेका थिए र उनैप्रति समर्पित कविता थियो त्यो। प्रजातन्त्रको प्राप्तिपछि यसै संस्थाको एउटा कार्यक्रममा जब प्रदीप नेपाल उर्फ सञ्जय थापाले साहित्य सन्ध्याको पर्दाअगाडि यी केही भाइहरू थिए भने पर्दापछाडिबाट हामी सञ्चालन गथ्र्यौं भनी पारिजातकै उपस्थितिमा सार्वजनिकरूपमा भनेपछि पारिजातको उपस्थिति त्यहाँ त्यसपछि देखिएन।
विसं २०१२ सालदेखि २०४५ सालसम्म आइपुग्दा उनले जीवनका ३३ वर्ष लेखनमा लगाएको पाइन्छ। विसंगतिवादबाट समाजवादी यथार्थवादतर्फको उनको यात्राको उत्कर्ष अनिँदो पहाडसँगै उपन्यासमा देखिन पुग्छ। इन्द्रेणी सांस्कृतिक समाजको मानार्थ अध्यक्ष रहेकी पारिजात राष्ट्रिय मुक्ति आन्दोलनहरूमा सशरीर होमिन सदा लालायित रहिन्। विसं २०४६ साल चैत ३ गते लेखक–कलाकारहरूले मानव अधिकारको हनन तथा भइरहेको आन्दोलनमाथिको दमनविरुद्ध गरेको कालोपट्टी पर्वको सिलसिलामा स्थानीय त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा भएको विरोध प्रदर्शनमा सहभागिता मात्र जनाइनन्; त्यो विरोध प्रदर्शनको नेतृत्वसमेत गरिन्। उनीसँगै थिए– आमूल परिर्तनका पक्षधर बयोवृद्ध क्रान्तिकारी कवि युद्धप्रसाद मिश्र। शारीरिकरूपले अपांग र वयोवृद्ध स्रष्टामाथि तत्कालीन निरंकुश सत्ताले लाठी प्रहार गर्दै गिरफ्तारी गरेको केही समयपछि सो व्यवस्था आर्यघाटमा पुगेको थियो।
जब प्रजातन्त्रको पुनर्बहाली भयो; सो विरोध प्रदर्शनलाई धारेहात लाउनेहरू एक नम्बरी प्रजातन्त्रवादी बने। सरकारी प्रतिष्ठानमा झुम्मिन पुगे। तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा आसीन भएपछि परिवर्तनका पक्षधर लेखक–कलाकारले गठन गरेको अभियान प्राज्ञिक संघर्ष समितिको नेतृत्व पनि उनै पारिजातले गर्न पुगिन्। संघर्षबाट कहिल्यै पीठ नफर्काउने पारिजात यसपछि भने आफ्नै कमजोर शारीरिक अवस्थासित भने हार्दै गइन्। यस अर्थमा पारिजात अपांग होइनन्; सबलांग हुन्। एउटी सबलांग स्रष्टा पारिजात अर्थात् विष्णुुमारी वाइबा संघर्षै–संघर्षबीच २०५० वैशाख ५ गते अनन्तमा बिलाइन्। सबलांग पारिजात एउटा अपराजिता स्रष्टा जो महिला साहित्यकार, वामपन्थी साहित्यकार र जनजाति साहित्यकार मात्र नभएर समग्र नेपाली साहित्यकै उज्ज्वल नक्षत्र हुन्।
www.annapurnapost.com बाट साभार
No comments:
Post a Comment