Saturday, December 7, 2024

पारिजातको रचनाको गीतका शब्दहरू हेरफेर गरिएको बारे

 


========================================================

मिति : २०८१/९/२

श्रीमान् महासचिवज्यू
तथा पारिजात स्मृति केन्द्र परिवार

मेरा नाममा मिति २०८१/८/७ गते ईमेल मार्फत प्रेशित पत्र प्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रको लागि आभार व्यक्त गर्दछु ।
झण्डै २२ बर्ष अगाडी सिंगापुर पुलिसमा कार्यरत गीतकार रामप्रसाद राईले उहाँको रचनामा गीति एल्बम निर्माण र प्रकाशन गर्न भनि ६गीत म कहाँ संगीत सिर्जनार्थ पठाउनु भएको मध्ये एक गीत उल्लेखित 'मर्न मन लाग्छ मायालु' पनि रहेको थियो । उहाँ द्वारा रचित सबैगीतहरु बिभिन्न गायक गायिकाको स्वरमा रेकर्ड हुँदै जाँदा उल्लेखित रचना गायिका लासमित राईको स्वरमा रेकर्ड हुन पुग्यो । पछि एल्बम प्रकाशन हुनै लाग्दा उल्लेखित रचना पारिजातको भन्ने खुल्न आयो । त्यसपछि गीतकारजीसंग सम्वाद हुँदा मलाई असाध्यै मनपरेको रचना तर कसको भन्ने थाहा नहुँदा मैले आफ्नै एल्बममा समाबेस गर्न चाहेको स्पष्ट पारे । उल्लेखित रचना पारिजातको भन्ने थाहाभएपछि उनी आफैं पनि खुशी हुँदै एल्बममा पारिजातकै नाम राखेर प्रकाशन गर्न राजी भए । पारिजातको रचना भन्ने कुरा रेकर्ड पछि मात्रमैले र गायिका लासमित राईज्यूले थाहा पाएको हो । रचना जुन रुपमा म कहाँ आईपुग्यो कुनै शब्द हेरफेर वा काँटछाँट नगरि जस्ताकोतस्तै रेकर्ड गरिएको हो । जुन समयमा म एक जिम्मेवार कलाकारको रुपमा नभई भरखर संगीत क्षेत्रमा पाईला चलाउँदै गरेको नयाँसिकारु संगीतकारको रुपमा संघर्ष गरिरहेको थिएँ । तर रचना पारिजातको भन्ने सुनेर मात्रै पनि हामी असाध्यै खुशी र गदगद् भएका थियौं । पछि लासमित राईज्युलाई गीत गाउन हंगकंगको अफर आएछ । उहाँ हंगकंग गएको बेला तेही बस्ने लासमित राईज्युका केहीशुभचिन्तकहरुले उल्लेखित रचनाको गीत माथि सामान्य छायांकन गरेर म्युजिक भिडीयो पनि बनाउनु भएको रहेछ युट्युवमा हाल्न। त्यससम्बन्धि काम मलाई सोधेर गरिएको छैन र कपि राईट पनि मेरोमा छैन । अहिले त लासमित राई पनि स्वर्गिय भईजानु भयो । गीत राम्रोमानेर अझ पारिजातको भनेपछि गायक राजेशपायल राईज्युले पनि सोही साबिक म्युजिक ट्रयाकमा मेल भर्सनमा गाउनु भयो र बिभिन्नस्टेजहरुमा गाउनु भयो । आफुले गाएको ट्रयाकलाई उहाँकै आफ्नै युट्युव च्यानलमा हाल्नु भयो । जसको कपि राईट उहाँ संगै होला त्योबिषयमा पनि म अनभिज्ञ्य छु । नयाँ पुस्ताका प्रायजसो गायक गायिकाहरुको गाउने रोजाईमा रहेको यो उल्लेखित गीतलाई साझागीतको रुपमा गाईने गरिएको वर्तमान अवस्था छ ।
१, जहाँसम्म रचनालाई तोडमोड वा हेरफेर गरेर रेकर्ड गरिएको भन्ने कुरा छ; यस प्रति म अनभिज्ञ रहेको र वास्तविक रचनाको स्वरुपबल्ल थाहा पाएको कुरा निवेदन गर्दछु ।
२, यो गीतलाई सकेसम्म सबै पोर्टल, युट्युव लगायतका च्यानलहरुबाट हटाउन र सार्वजनिक रुपमा प्रश्तुति नगर्न व्यक्तिगत रुपबाटपहल गर्ने छु र म बाट अन्जानबस् भएको भुल प्रति माफी माग्दछु ।
३, यति धेरै समय पछि ढिलो गरी मैले जानकारी पाए पनि पारिजात स्मृति केन्द्रले पारिजातको विचारको सुरक्षाको निम्ति गर्नु भएको योसजगताको म हार्दिक सम्मान गर्दछु ।

धन्यवाद
----------
शान्तिराम राई
संगीतकार





No comments:

Post a Comment