Sunday, August 30, 2015

पारिजात सभा - २०७२

चारलाई पारिजात सिर्जना सम्मान


भाद्र १३, २०७२- दुई दशक नाघिसकेको छ साहित्यकार पारिजातले संसार छाडेको। उनका कृति भने झनै अमर बन्दै छन्। सामाजिक, राजनीतिक र आर्थिक अर्थहरू खोतल्दै उनका कृतिहरूमाथिको बहस निरन्तर जारी नै रहनेछ। मदन पुरस्कार विजेता प्रथम यी नारी स्रष्टाको शनिबार सम्झनामा गरियो, उनकै नाममा स्थापित सम्मान तथा पुरस्कारहरू वितरण गरियो। 

पारिजात स्मृति केन्द्रले प्रत्येक वर्षझैं यसपटक पनि चार स्रष्टालाई विभिन्न शीर्षकमा ‘पारिजात स्मृति सम्मान’ प्रदान गरेको हो। साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘पारिजात सिर्जना सम्मान’, शारदारमण नेपाललाई ‘पारिजात बालसाहित्य सम्मान’, मिठाईदेवी विश्वकर्मालाई ‘पारिजात संघर्षशील नारी सम्मान’ र गायक/संगीतकार जीवन शर्मालाई ‘पारिजात कला सम्मान’ प्रदान गरिएको हो। कला पुरस्कारको संस्थापक चाहिँ साहित्यकार स्नेह सायमी र लक्ष्मी माली हुन्। चारैजनालाई गायक रामेशले जनही १० हजार रुपैयाँ र ताम्रपत्र हस्तान्तरण गरे। 

कार्यक्रममा रामेशले पारिजातसँग काम गरेका पुराना क्षणसमेत सम्झिए। सुरुमा निराशा र शून्यताको भावना पोख्ने पारिजातले विस्तारै विचार परिवर्तन गर्दै पञ्चायतविरुद्धका कठोर गीत लेख्न थालेको रामेशले सुनाए। ‘दिदीका गीत गाउँदै हिँड्थ्यौँ हामी,’ उनले भने, ‘उहाँको जीवनी पढेर नसकिने नै छ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अमर गिरी, जनकवि रायनले समेत पारिजातको सम्झना गरे। 

स्मृति केन्द्रकी संरक्षक एवं पारिजातकी बहिनी सुकन्या वाइबाले वैशाखमा मनाइनुपर्ने स्मृति सभा भूकम्पका कारण भदौमा गर्नुपरेको सुनाइन्। उनले म्हेंपीस्थित बन्दै गरेको एक तले पारिजात स्मृति भवन अपूरै र अधूरै रहेको गुनासो समेत गरिन्। पारिजातका कृति जीवन्त राख्ने र खोजी एवं संरक्षण गर्न सके मात्रै उनीप्रतिको सम्झना र सम्मान सार्थक हुने दाबीसमेत उनले गरिन्। यसै क्रममा उनले पारिजातको उपन्यास ‘शिरीषको फूल’ जर्मन भाषामा अनुवाद गरेको पनि खुलाइन्। स्मृति केन्द्रकी अध्यक्ष लक्ष्मी मालीले मुस्किलले एकतले भवन निर्माण भए पनि उचित मर्मत नहुँदा पानी पसेर जलमग्न भएको बताइन्। ‘भवन निर्माण पूरा हुन नसकेर साह्रै दु:ख पाएका छौँ,’ उनले भनिन्, ‘सरकारको आश गर्दा केही भएन अब आफैं गर्ने सुरमा छौँ।’

http://kantipur.ekantipur.com बाट साभार 


















































===========================================

================================================


पारिजात गीत 

रचना :- खगेन्द्र संग्रौला 
संगीत :- रायन 

No comments:

Post a Comment